१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री इलाम आउने कार्यक्रम स्थगित

फाइल तस्बिर/नागरिक

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी सीमाक्षेत्रको निरीक्षण गर्दै इलाम आइपुग्ने कार्यक्रम स्थगित भएको छ। पार्टी बैठक र व्यस्तताका कारण प्रधानमन्त्रीको सीमा अवलोकन कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले नागरिकन्युजलाई जानकारी दिए।  

प्रधानमन्त्री ओली आउँदो मंसिर ५ गते ताप्लेजुङको घुन्सा हुँदै इलामसँग जोडिएको भारतीय सीमाक्षेत्र आउने कार्यक्रम थियो। प्रधानमन्त्रीले नेपाल–भारत सीमाको जौबारीमा दिउँसो साढे १ देखि २ बजेसम्म रहेर सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो। ‘तर, ताप्लेजुङदेखि इलामसम्म सीमाक्षेत्र निरीक्षणको कार्यक्रम नै अहिलेलाई स्थगित भएको छ,’ भण्डारीले भने, ‘पार्टीको बैठक र अरू कामको व्यस्तताले त्यो कार्यक्रम रद्द गर्नुपरेको हो।’  

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएपछि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जौबारीको बिओपी उद्घाटन गर्ने बताए। पूर्वी नेपालको भारतीय भू–भाग सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरमा अहिले धमाधम बिओपी स्थापना गरिँदैछ। पशुपतिनगर, कालपोखरी, छब्बिसे, समालबुङ र सलकपुरमा बिओपी स्थापना भइसकेको छ। जौबारीमा ५ गते उद्घाटन हुँदैछ। मानेभञ्ज्याङमा चाहिँ बिओपी राख्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।  

स्थापना गरिएका बिओपीमा इन्स्पेक्टरको कमान्डमा सुरक्षाकर्मीको टोली रहने भएपनि अहिले अधिकतरमा सब–इन्स्पेक्टरको कमान्ड रहेको पशुपतिनगर बिओपीका इन्स्पेक्टर नवीन खतिवडाले बताए। ‘मागअनुसार इन्स्पेक्टर अपुग भएर दरबन्दी पूरा भएको छैन,’ उनले भने, ‘आउँदो साउनपछि सबै बिओपीमा इन्स्पेक्टर आउन सक्छन्।’ सन्दकपुर, मेघमा, गोर्खे र माथिल्लो पाटापुरमा पनि बिओपी राख्न प्रस्ताव गरिएको उनले जनाए।  

कोभिड–१९ नियन्त्रणका लागि जौबारी, मेघमा, मानेभञ्ज्याङ, छब्बिसे, हिले, खोलागोदाम, समालबुङ, सलकपुर र लाङ्केटमा यसअघि नै सशस्त्रको टोली राखिएको थियो। यो क्षेत्रमा भारतले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट राखेको छ।  

प्रकाशित: २ मंसिर २०७७ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App