३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

कार्यदल बनाएर विवाद सुल्झाउने तयारीमा कांग्रेस

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले उठाएका १६बुँदे मागमा शुक्रबार पनि सहमति जुट्न सकेन। पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको अनौपचारिक छलफलमा असन्तुष्ट पक्षले महाधिवेशनको मिति घोषणापछि गठित विभाग विघटनको माग दोहो-याएको छ। तर सभापति शेरबहादुर देउवाले विभाग गठन भइसकेकाले त्यसबाहेक अन्य विषयमा छलफल गर्न आफू तयार रहेको बताउँदै आएका छन्। दुवै पक्ष आआफ्नो अडानमा कायम रहेकाले विवाद समाधानका लागि कार्यदल गठन गरेर अघि बढ्न सकारात्मक देखिएका छन्।

२७ केन्द्रीय सदस्यले उठाएको विषयमा धारणा राख्नेक्रम जारी रहेको जानकारी दिँदै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘अहिलेसम्म आआफ्नो कुरा राख्ने क्रम चलिरहेकाले बैठक सारिएको हो।’ पार्टीमा रहेको विधि विहीनता, अपारदर्शी र मनपरीतन्त्रको अन्त्य गरेर सहमति विधिअनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको दोहा¥याउँदै केसीले संस्थापन पक्षका केही नेताहरूले अझै पनि आफूहरूले गरेको काम र निर्णय ठिक नभएको दाबी गर्दै आएको बताए। ‘केही साथीहरू पार्टीभित्र विश्वासको संकट देखियो त्यसलाई संम्बोधन गरेर जानुपर्छ भन्नेमा हुनुहुन्छ,’ उनले भने, ‘तर, अहिलेसम्म कुनै टुंगोमा पुगिसकिएको छैन।’

असन्तुष्ट पक्षले बुझाएको १६बुँदे माग सम्बोधनका विषयमा कार्यदल बनाएर जान खोजिएको हो ? भन्ने प्रश्नमा केसीले भने, ‘सुरुमै कार्यदल बनाउनुपथ्र्यो। त्यसमा विमति रहेका विषयलाई छलफल गरेर जानु ठीक हुन्थ्यो। तर अहिले आआफ्नो कुरा राख्ने काम मात्र भएको छ।’

असन्तुष्ट पक्षले आफूहरूले उठाएका माग सम्बोधन नभई अन्य विषयमा प्रवेश नगर्ने अडान राख्दै आए पनि शुक्रबारका लागि तय भएको केन्द्रीय समिति बैठक पनि प्रभावित हुने र १४औं महाधिवेशन थप अन्योलमा पर्ने भएपछि कार्यदल बनाएर अघि बढ्न लागिएको हो। ‘नेता पौडेलसहित २७ केन्द्रीय सदस्यले अघि सारेका विषयलाई कार्यदल बनाएर थप छलफल गरी समाधानको उपाय खोजिने सम्भावना छ,’ सहभागी एक नेताले भने, ‘दुवै पक्ष आआफ्नो अडानबाट पछि हटेर समझदारीमा पुग्ने प्रयास भइरहेको छ। शनिबार सबैले धारणा राखेपछि एउटा निष्कर्षमा पुग्न सकिन्छ।’

प्रकाशित: २२ कार्तिक २०७७ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App