२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दुई अध्यक्षको भेटघाट तिक्ततापूर्ण

नेकपा विवाद निरुपणमा दोस्रो पुस्ताका नेता सक्रिय हुने

फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको सम्बन्ध झन् तिक्ततातर्फ उन्मुख भएको छ। पाँच दिनपछि भेटघाट भएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच विहीबारको भेटघाट सुखद रहेन।  

दुवै अध्यक्षले एकले अर्कालाई आरोप मात्रै लगाउने भएपछि दुई अध्यक्षको भेट सुखद नभएको हो। सरकारले न्यायपरिषद् सदस्यमा सिफारिस गर्ने विषयमा बिहीबार बिहान कोटेश्वरस्थित पेरिस डाँडामा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेकपा निकट कानुन व्यवसायीहरुसँगको छलफलपछि ओलीलाई भेट्न पुगेका दाहालले प्रधानमन्त्रीसँग करिब एक घण्टा छलफल गरेका थिए। सो छलफलमा पार्टी सचिवालय बैठक बोलाएर त्यही बैठकबाट सबै विषयहरु निरुपण गर्ने भन्दै दाहालले चाँडै बैठक बोलाउन आग्रह गरेका थिए। तर ओलीले बैठक भन्दा पनि दुई जना सहमतिमा आएपछि सबै कुरा मिल्ने भएकाले सहमति गरौ भनेर दाहाललाई फकाउने कोसिस गरेका थिए।

दाहाल निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष  दाहालले प्रधानमन्त्रीबाट कसले राजीनामा मागेको भन्दै केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए। उनले कर्मचारीसँग आफ्नो राजीनामा मागियो भन्दै रोइलो गर्नुको अर्थ नभएकाले कसैले पनि राजीनामा नमागेको स्पष्ट पारेका थिए। छलफलका क्रममा दुवै अध्यक्षले गुट भेला गरेको आरोप लगाएका थिए। भेला चलाउन सक्रिय भएको भन्दै आरोप लगाएको स्रोतले जनाएको छ।

अध्यक्ष ओलीले शीर्ष नेताहरु आफू विरुद्धको षड्यन्त्रमा लागेको आरोप लगाएका थिए। ‘ओली र दाहालले एकअर्कालाई गुट भेला गरेको आरोप प्रत्यारोप गरेर छुट्टिएको बुझिन्छ’, नेकपाका एक नेताले भने।

उनीहरुबीच आरोप प्रत्यरोपमै छलफल सकिएको थियो। अर्को छलफल कहिले गर्ने वा सचिवालय बैठक कहिले बोलाउने भन्ने निर्णय नभई दाहाल उठेर हिडेका थिए।

दाहालसँग भेटघाट हुनअघि ओलीले मन्त्रिपरिषद् बैठकमा कोटेश्वरतिर षड्यन्त्र हुँदैछ त्यस्ता सबै षड्यन्त्रहरुको सामना गरिनेछ भनेका थिए। बैठकमा ओलीले त्यसो भनेपछि मन्त्रीहरु चुपचाप बसेका थिए। कसैले पनि सो विषयमा कुरा उठाएका थिएनन। ‘प्रधानमन्त्री ओलीले केही समय सबै प्रकारका समस्यासँग जुधेर जाने भन्नु भयो कोटेश्वरतिर भेटघाट छलफल भैरहेका छन् ती सबै समस्या सामाना गरेर जाने हो’, प्रधानमन्त्रीलाई उदृत गर्दै एक मन्त्रीले बताए।

मध्यमार्गी बाटो अपनाउने कोसिस

नेकपाभित्रको आन्तरिक विवादलाई पार्टी कमिटीमा राखेर निरुपण गर्नुपर्ने आवाज मुखर बन्दै गएको छ। प्रधानमन्त्री केपी ओलीसँग कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल धेरै पटक सचिवालय बैठक बोलाउन आग्रह गरे पनि उनले त्यसलाई टार्दै आएपछि पार्टीका अन्य नेताहरुले पार्टी कमिटीमै छलफल गरेर विवाद निरुपण गर्नुपर्ने बताउन थालेका छन्। पार्टीभित्रको समस्या पार्टीभित्रै समाधान गर्नुपर्ने भन्दै शीर्ष नेताहरुलाई एकल भेटघाट रोकेर अब कमिटीमै छलफल गर्नुपर्ने बताउन थालिएको छ।

शीर्ष नेताहरुले सचिवालय बैठक समेत बोलाउन नसक्ने अवस्था आएको भन्दै केही दोस्रो पुस्ताका नेताहरुले शीर्ष नेताहरुको आलोचना समेत गर्न थालेका छन्। पाँच दिनपछि दुई अध्यक्षबीचको भेटघाट पनि सम्बन्ध सुधार गर्ने भन्दा बिग्रने तर्फ उन्मुख भएको र त्यसले झन् नकारात्मक सन्देश प्रवाह गर्न थालेपछि दोस्रो तहका नेताहरुले समाधान गर्न सक्रियता बढाउन थालेका छन्। गुट वा समूहले विवाद निरुपण गर्न सक्दैन यसले झन् समस्या खडा गर्ने र संवादलाई पनि टाढा पुर्याउने भएकाले मध्यमार्गी बाटो अपनाउने कोसिस भैरहेको छ। पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाल लगायतका नेताहरु यस्तो बाटोका खोजीमा लागेका छन्। ‘पार्टीमा विवाद छ भने अब कमिटीमा छलफल गर्नुपर्छ कमिटीमा छलफल नगरी विवाद भएको कुरा कसरी थाहा पाउन सकिन्छ र ? साथै संस्थागत जीवनमा सबैथोक हो जे समस्या छन् त्यो संस्थागत रुपमै राख्दा राम्रो हुन्छ’, स्थायी कमिटी सदस्य भूसालले भने।

पार्टीभित्रको आन्तरिक जीवनलाई कमजोर बनाएर व्यक्ति नै संस्था हुन सक्दैनन् भन्ने कतिपय नेताहरुको धारणा छ। पार्टी स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेललगायत पार्टीको आन्तरिक जीवनलाई कमजोर बनाउन नहुने पक्षमा रहेका छन्। उनीहरुमध्ये केहीले एक दुई दिन दिनमै पार्टी भित्र उत्पन्न परिस्थितिबारे छलफल गर्ने गरी नेताहरुसँग सम्पर्क बढाइरहेको स्रोतले जनाएको छ।

 

 

प्रकाशित: २० कार्तिक २०७७ १४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App