२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

महासचिव पौडेल र रावल छुट्टाछुट्टै छलफलमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटघाट भएको छ। महासचिव पौडेलले रावलसँग प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेटघाट गरेका हुन्। उनीहरुले पार्टीमा देखिएको पछिल्लो विवादलाई मत्थर पार्ने विषयमा छलफल गरेका हुन्। 

वरिष्ठ नेता माधवकुमार नेपाल निकटका प्रभावशाली नेता रावलले पार्टीको स्थायी कमिटी बैठकको माग गर्दै आएका थिए। त्यही क्रममा महासचिव पौडेलले रावलसँग एक्लै कुराकानी गरेका हुन्। नेकपाभित्र शीर्ष नेताहरुबीच विवाद भएपछि दोस्रो तेस्रो तहका नेताहरुले आपसी छलफल अघि बढाएका छन्। प्रधानमन्त्री केपी ओलीप्रति असन्तुष्टि जनाइरहेका रावललाई महासचिव विहानै भेट गर्ने प्रस्ताव गरेका थिए। तर आज दिउँसो १ बजेपछि मात्रै भेटघाट भएको हो।  

भीम रावल निकट स्रोतले उनीहरुबीच भेटाघाट भएको पुष्टि गरेको छ। स्रोतले भन्यो ‘उहाँहरुबीच भेटघाट भैरहेको छ के विषयमा कुराकानी भयो भन्ने बारेमा जानकारी छैन’। पछिल्ला केही दिनमा पार्टीभित्रको विवादमा स्थायी कमिटी सदस्य रावलले पार्टी एकताको पक्षमा वकालत गर्दै आएका छन्। कर्णालीमा भएको पार्टी विवादपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालवीच विवाद शुरु भएको थियो। गत शनिवार दुई अध्यक्षबीच भएकोे छलफलमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णयले आफूलाई सरकार सञ्चालन र दाहाललाई पार्टी सञ्चालनको जिम्मेवारी दिएको उल्लेख गर्दै सधै विवाद गर्ने भए अलग अलग बसौ भन्ने प्रस्ताव गरेका थिए। ‘सरकार सञ्चालन गर्न मलाई कस्ता मानिस आवश्यक पर्छ त्यो मैले जान्ने कुरा भयो। तपाईं जता पनि भागवण्डा खोज्नु हुन्छ यस्तै हो भने अब अलग अलग नै बसौं,’ ओलीले भनेका थिए।  

स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूखुसी गरेको भन्दै नेकपा शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका थिए। कात्तिक ३ देखि दुई अध्यक्षबीच भेटघाट नभएको र संवाद पनि नभएको अवस्थामा शनिबार दुई अध्यक्षबीच भेटघाट हुँदा प्रधानमन्त्री ओलीले भागवण्डा खोजेको भन्दै पार्टीबाट अलग हुँदा नै राम्रो हुने धम्की दिएका थिए। त्यसपछि रावलले स्थायी कमिटीको बैठक माग गरेका थिए।

प्रकाशित: १८ कार्तिक २०७७ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App