१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘रअ’ प्रमुखसँग भेट गर्नेहरू खबरदार ! नरावणेलाई उपाधि नदेऊ : नेकपा माले

फाइल तस्बिर : सीपी मैनाली

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) ले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।  

पार्टीका महासचिव सीपी मैनालीले शुक्रबार विज्ञप्ति जारी गर्दै  द्विपक्षीय उच्चस्तरीय राजनीतिक तहमा गरिनुपर्ने वार्ता सरकार ‘लुरुक्क’ परेर भारतीय जासुसी एजेन्सीको प्रमुखसँग गर्नु कूटनीतिक मर्यादाविपरीत अपमानपूर्ण, अनिष्टसूचक र अशोभनीय भएको टिप्पणी गरेका हुन्।  

‘नेकपा (माले) यसलाई दृढताका साथ विरोध गर्दै देशको स्वतन्त्र र सार्वभौम हैसियतको मर्यादालाई कायम राख्न देशका सत्ताधारीहरूलाई गम्भीर खबरदारी गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।  

साथै नेकपा मालेले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डताबारे कैयौं गम्भीर असहमति राख्ने भारत सरकारका स्थल सेनाध्यक्षलाई मानार्थ उपाधि दिने निर्णय पनि रद्द गर्न माग गरेको छ।  

विज्ञप्तिमा भनिएको छ, ‘आपसमा मैत्री–सम्बन्ध कायम रहिरहेको र त्यो स्वाभाविक एवं आवश्यक भए पनि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डताबारे कैयौं गम्भीर असहमति राख्ने भारत सरकारको स्थल सेनाध्यक्ष र नेपाली राष्ट्रिय सेनाको प्रधान सेनापतिलाई एकअर्को मुलुकको मानार्थ सेनाध्यक्षको पदले विभूषित गर्ने प्रचलन स्वतन्त्रताको भावनाविपरीत र अशोभनीय भएकोले त्यसालई खारेज गर्ने कार्यतर्फ यो सरकारले तत्काल कदम चालोस् भनी नेकपा (माले) जोडदार माग गर्दछ।’  

यस्तै नेकपा मालेले बडादसैंको उपलक्ष्यमा सम्पूर्ण नेपाली नागरिकप्रति शुभकामना व्यक्त गर्दै कोरोनाबाट बच्न आग्रह पनि गरेको छ।  

नेकपा मालेले शुक्रबार जारी गरेकाे विज्ञप्तिकाे पूर्णपाठ

प्रेस वक्तव्य

(चाडपर्वको शुभकामना तथा स्वतन्त्र मुलुकको मर्यादा कायम राख्न सरकारलाई खबरदारी)

१. विभिन्न जातिको सहजीवनबाट निर्मित नेपालीजनता चाडपर्वका धनी छन्। तिनको मौसम आइसकेको छ ः हामी २०७७ सालको बडादसैंको संघारभित्र पसिसकेका छौं; तिहार, म्हःपूजा, नेपाल सम्वत्–११४१, छठ तथा उधौली पर्वहरू लहरै आइरहेका छन्। तिनका उपलक्ष्यमा, स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबैनीमा सुस्वास्थ्य, दीर्घायु, सद्भाव, प्रगति, समृद्धि, देशभक्ति र एकता छाइरहोस् भन्ने हार्दिक शुभकामना ज्ञापन गर्दछौं।  

अहिले विश्न नै कोभिड–१९ को महामारीबाट आक्रान्त बनेको अवस्थामा चाडपर्व मनाउँदा स्वास्थ सजगता र सावधानी अपनाउन, आफ्नो लगायत अरूको पनि संक्रमण जोखिमलाई न्यूनीकरणमा मद्दत पु¥याउन र कोभिड–१९ को संक्रमण भइहाले धैर्य र साहसका साथ परिवाजनसँग मिली र आवश्यकतानुसार समाज तथा सरकारको समेत सहयोग लिई उपचारका उपयुक्त कदम चाल्न अपिलसमेत गर्न चाहान्छौं।  

२. भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख ५ गते कार्तिक अपराह्न भारतीय सैनिक विमानबाट कसको निमन्त्रणामा र केके अजेन्डामा वार्ता गर्न नेपाल आएका हुन् र कोकोसँग के वार्ता गरी ६ गते बिहानै भारत फिर्ता भएका हुन् भन्ने र यस घटनाको राजनीतिक अर्थ र उद्देश्यबारे काठमाडौंमा सरगर्मीपूर्ण चर्चा भइरहेको छ। यससँग भारत सरकारले २०७६ सालको कार्तिक १६ गते गरेको सुदूरपश्चिम नेपालको ब्यास क्षेत्रमाथिको कब्जा, नेपाललाई चीनको इशारामा काम गरिरहेको आरोप लगाउने भारतीय स्थल–सेनाध्यक्ष मणिमुकुन्द नरावणेले यही कार्तिक १८ गते गर्ने भनिएको नेपालको औपचारिक भ्रमण र हालै भएको नेपालको मन्त्रिपरिषदको हेरफेरसँग पनि जोडेर चर्चा भइरहेछ।  

मुख्य कुरा, द्विपक्षीय उच्चस्तरीय राजनीतिक तहमा गरिनुपर्ने वार्तालाई भारत सरकारले आफ्नो जासुसी एजेन्सीको प्रमुखबीचको वार्ताको रूप दिन चाहनु र नेपालको सरकारले पनि त्यसलाई लुरुक्क मान्नु कूटनीतिक प्रचलन र मर्यादा विपरीत, अपमानपूर्ण, अनिष्टसूचक र अशोभनीय कार्य हो। नेकपा (माले) यसलाई दृढताका साथ विरोध गर्दै देशको स्वतन्त्र र सार्वभौम हैसियतको मर्यादालाई कायम राख्न देशका सत्ताधारीहरूलाई गम्भीर खबरदारी गर्दछ।  

३. आपसमा मैत्री–सम्बन्ध कायम रहिरहेको र त्यो स्वाभाविक एवं आवश्यक भए पनि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डताबारे कैयौं गम्भीर असहमति राख्ने भारत सरकारको स्थल सेनाध्यक्ष र नेपाली राष्ट्रिय सेनाको प्रधान सेनापतिलाई एकअर्को मुलुकको मानार्थ सेनाध्यक्षको पदले विभूषित गर्ने प्रचलन स्वतन्त्रताको भावनाविपरीत र अशोभनीय भएकाले त्यसालई खारेज गर्ने कार्यतर्फ यो सरकारले तत्काल कदम चालोस् भनी नेकपा (माले) जोडदार माग गर्दछ। धन्यवाद!

२०७७ कार्तिक ७, काठमाडौं।  सीपी मैनाली, महासचिव      

प्रकाशित: ७ कार्तिक २०७७ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App