२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोरोना परीक्षण र उपचार निःशुल्क गराऊ : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणको परीक्षण तथा उपचार निःशुल्क गराउन माग गरेको छ।  

सरकारले हालै अबदेखि कोरोना संक्रमित नागरिकले परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने भनेर गरेको निर्णय अत्यन्तै गैरजिम्मेवार भएको ठहर गर्दै कांग्रेसले यसलाई निःशुल्क बनाउन माग गरेको हो।  

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘सर्वोच्च अदालतले केहीअघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको कुरा सुन्छ भन्ने प्रश्न उब्जिएको छ।’

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसन तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभर औषधिको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको कांग्रेसले जनाएको छ।  

उपचारको दायित्वबाट पन्छिएपश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रम पनि अन्त्य भएको कांग्रेसले विज्ञप्ति उल्लेख गरेको छ।  

सांसद विकास कोष, दसैं भत्तालगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य भएको उल्लेख गर्दै कांग्रेसले कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई बचाउन सरकारलाई अपिल गरेको छ।  

प्रकाशित: ३ कार्तिक २०७७ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App