२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

असारपछि संसद्मा विधेयक दर्ता हुन छाडे

सरकारले असारदेखि यता संघीय संसद् सचिवालयमा कुनै पनि विधेयक दर्ता गरेको छैन। वैशाख महिनामा कुनै पनि विधेयक दर्ता भएका छैनन् भने जेठ र असारमा संसद्मा सरकारी र गैरसरकारी गरी १७ विधेयक दर्ता भएका छन्। जेठ र असारमा प्रतिनिधिसभामा ८ विधेयक दर्ता भएका छन् भने राष्ट्रियसभामा ९ वटा विधेयक दर्ता भएका हुन्।

‘संसद्मा विचाराधिन विधेयकको संख्या धेरै नै भएकाले हो वा अधिवेशन नभएर हो साउन, भदौ र असोजको मध्यसम्ममा कुनै पनि विधेयक दर्ता भएका छैनन्,’ संसद सचिवालयका एक अधिकारीले बताए। ‘विधेयक ल्याउने काम सरकारको हो सरकारले विधेयक नल्याउनुको कारण धेरै हुन सक्छन्,’ उनले भने। संसद्मा अहिले ५६ भन्दा बढी विधेयक विचाराधीन छन्।

‘संसद् अधिवेशन असार १८ गते अन्त्य भएपछि संसद्मा तीनवटा विधेयक मात्र आएका छन्। अधिवेशन अन्त्य भएको हप्तादिन पछि नै संसद्मा तीन विधेयक आएका हुन् त्यसपछि अहिलेसम्म कुनै विधेयक आएका छैनन्,’ संसद् सचिवालयले जनाएको छ। संसद् अधिवेशनअघि नै संसद्मा दर्ता भएका विधेयक पनि धेरैजसो संसद्मा प्रस्तुत हुन पाएका छैनन्।

प्रतिनिधिसभामा दर्ता भएका विधेयकमध्ये ४ विधेयक गैरसरकारी छन्। नेपालको संविधान संशोधन गर्न सरकारले विधेयक ल्याएपछि विभिन्न दलले संसद्मा दर्ता गरेका ४ वटा संविधान संशोधनसम्बन्धी गैरसरकारी विधेयक अघि बढेका छैनन्। सरकारले ल्याएको विधेयक पारित भई संविधानको अनुसूची ३ मा रहेको नेपालको निशानछापको नेपालको नक्सा परिवर्तन गरिसकिएको छ। तर दलहरुले विभिन्न विषय राखेर संविधान संशोधन विधेयक दर्ता गरेका थिए। उनीहरुले राखेका विषय दुईतिहाइले पारित हुने सम्भावना नभएपछि कुनै पनि विधेयक अघि बढेका छैनन्।

गत जेठमा संसद्मा आएको सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा प्रस्तुत मात्र भएको छ। गत असारमा प्रतिनिधि सभामा आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७२ लाई संशोधन गर्न बनेको विधेयक, कर्जा सूचनासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा प्रस्तुत भएका छैनन्। ‘राष्ट्रिय सभामा असारमा दर्ता भएका खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक अधिवेशन अन्त्यपछि असारको अन्त्य तिर आएका र अधिवेशन अन्त्य कै दिन दर्ता भएको विद्युत् विधेयक संसदमा प्रस्तुत हुने कुरै भएन,’ संसद् सचिवालयका ती अधिकारी बताउँछन्।

असार १० गते दर्ता भएको अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक संसद्मा प्रस्तुत भएका छैन। गत जेठमा दर्ता भएका प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, प्रत्यायन (एक्रिडेटेसन) विधेयक, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक समितिमा छलफलका लागि पठाइएको छ भने जेठमा नै दर्ता भएको सामाजिक सुरक्षा(पहिलो संशोधन) सम्बन्धी गैरसरकारी विधेयक अघि बढेको छैन।

प्रकाशित: २० आश्विन २०७७ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App