प्रतिनिधि सभा निर्वाचनका लागि शुक्रबारसम्म ३७ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। फागुन २१ मा हुने निर्वाचनमा भाग लिन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम हालसम्म ३७ दलले दल दर्ता गराएका हुन्।
आयोगमा दल दर्ता गराएका सबै ३७ दलले प्रत्यक्ष(पहिलो हुने) तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा सहभागी हुने जनाएका छन्। हालसम्म निर्वाचन प्रयोजनका लागि दल दर्तामा आउने दलहरू पुराना स्थापितदेखि नयाँसम्म छन्।
हालसम्म पुष्पकमल दाहाल दल प्रमुख रहेको नेपाली कम्युनिस्ट पार्टी, उपेन्द्र यादव प्रमुख रहेको जनता समाजवादी पार्टी(जसपा) नेपाल, नारायणमान बिजुक्छे प्रमुख रहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा), डोलप्रसाद अर्याल प्रमुख रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), प्रभु साह दल प्रमुख रहेको आम जनता पार्टी(आजपा), चित्रबहादुर केसी प्रमुख रहेको राष्ट्रिय जनमोर्चा, एकनाथ ढकाल प्रमुख रहेको नेपाल परिवार दलजस्ता पुराना स्थापित दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्।
यस्तै हरिनारायण प्रमुख रहेको राष्ट्रिय जनता पार्टी, कुमार लिङ्देन प्रमुख रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि निर्वाचन प्रयोजनका दल दर्ता गराएका छन्।
यस्तै जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ता गराएका नयाँ दल पनि निर्वाचन प्रयोजनका लागि दर्ता गरिरहेका छन्। हालसम्म सन्ध्या खनाल प्रमुख रहेको देश विकास पार्टी, दुर्गा सोब प्रमुख रहेको गतिशील लोकतान्त्रिक पार्टी, द्रोण अधिकारी प्रमुख रहेको देशभक्त समाज, गीता क्षेत्री प्रमुख रहेको नेपाल लोकतान्त्रिक पार्टी, बुद्धलाल मेचे प्रमुख रहेको मंगोल नेशनल अर्गनाइजेसन, विश्वेन्द्र पासवान प्रमुख रहेको बहुजन शक्ति पार्टी पनि निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका छन्।
यस्तै अनिलकुमार झा प्रमुख रहेको नेपाल सद्भावना पार्टी, मेघबहादुर कामी प्रमुख रहेको नेपाल मानवतावादी पार्टी, हुकुमबहादुर लामा प्रमुख रहेको नेपाल जनता संरक्षण पार्टी, चन्द्रलाल मैनाली प्रमुख रहेको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), त्रिभुवननाथ पाठक प्रमुख रहेको नेपाल जनता पार्टी, विजयप्रकाश निषाद प्रमुख रहेको राष्ट्रिय समता पार्टी नेपाल, दत्त मर्दन कामी प्रमुख रहेको संयुक्त नागरिक पार्टी, खड्कप्रसाद पालुङवा प्रमुख रहेको नेपाल जनमुक्ति पार्टी, चन्द्रदेव जोशी प्रमुख रहेको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), जितेन्द्र घिमिरे प्रमुख रहेको राष्ट्रिय यथार्थवादी पार्टी नेपाल पनि निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन्।
यस्तै किशोर कुमार विश्वास प्रमुख रहेको समावेशी समाजवादी पार्टी नेपाल, निरबहादुर श्रेष्ठ प्रमुख रहेको जन प्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया प्रमुख रहेको विकासशील जनता पार्टी, शुक्रबहादुर गुरुङ प्रमुख रहेको राष्ट्रिय नागरिक पार्टी, अशोककुमार राई प्रमुख रहेको जनता समाजवादी पार्टी, नाम अपूर्ण प्रमुख रहेको राष्ट्रिय परिवर्तन पार्टी, माधवज गुरुङ प्रमुख रहेको नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), विनय यादव प्रमुख रहेको राष्ट्रिय एकता दल, रुक्मिणी चौधरी प्रमुख रहेको सङ्घीय नेपाल पार्टीसहित नयाँ पुराना गरी ३४ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका हुन्।
निर्वाचन आयोगले सम्पूर्ण दलहरूलाई निर्वाचन आचारसंहिताको पालना गरी प्रतिस्पर्धामा उत्रन आग्रह गरेको छ।
शुक्रबारसम्म ३० भन्दा बढी नयाँ राजनीतिक दल दर्ताको लाइनमा छन्। नेपाली कांग्रेस र नेकपा एमालेलगायतका केही ठुला दल भने अझै निर्वाचन आयोगमा दर्ता भइसकेका छैनन्। प्रतिनिधिसभा निर्वाचनमा अग्रसर नभएको एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि भने निवेदन दिइसकेको छ।
एमालेसहित राष्ट्रिय सभा निर्वाचनका लागि अन्य ५ दलले निवेदन दिएका छन्। जसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल पार्टी, नारायणमान बिजुक्छेको नेपाल मजदुर किसान पार्टी, पुष्पकमल दाहालको नेपाली कम्युनिस्ट पार्टी, विश्वेद्र पासवानको बहुजन शक्ति पार्टी, चित्र बहादुर केसीको राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेका छन्। कांग्रेस अझै दर्तामा आउन बाँकी छ।
नयाँ दर्ता हुने राजनीतिक दल १० पुगे
यस्तै जेनजी आन्दोलनपछि दर्ता हुन पुगेका १० राजनीतिक दलले प्रमाणपत्र प्राप्त गरिसकेका छन्। शुक्रबारसम्ममा श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, नेपाल कम्यनिष्ट पार्टी (माओवादी), राष्ट्र निर्माण दल नेपाल, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, पिपुल फस्ट पार्टी र उज्यालो नेपाल पार्टीसहित १० नयाँ राजनीतिक दलले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्। उनीहरू पनि निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रियामा आएर आगामी निर्वाचनमा भाग लिने बाटो खुलेको छ।
आयोगको कानुन तथा राजनीतिक महाशाखाका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेभित्र निवेदन लिने र मंसिर १८ सम्म छानबिन गरी मंसिर २० सम्ममा दल दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दलहरूको नामावली प्रकाशन गर्ने बताएको छ ।
प्रकाशित: ५ मंसिर २०८२ १९:१५ शुक्रबार





