११ औँ राष्ट्रिय महाधिवेशन’को तयारीमा रहेको एमाले भित्र महाधिवेशन प्रतिनिधि चयनको काम धमाधम छ । उदयपुरमा पनि महाधिवेशन प्रतिनिधि छनौट कामलाई तीब्र पारिएको छ । उदयपुरबाट खुल्ला र समावेशी गरी १५ जना प्रतिनिधि सर्वसम्मत चयन गर्न नसक्दा प्रतिस्पर्धा हुने भएको छ ।
पार्टीले २ सङ्घीय निर्वाचनक्षेत्र रहेको उदयपुरमा दुवै क्षेत्रबाट खुल्ला ४–४ जना, महिला २–२ र युवा १–१ जनाका दरले १४ तथा समावेशी दलित १ जना चयन गर्न विभिन्न ५१ जनाको उममेदवारी दर्ता गराईसकेको छ । जसका लागि ५१ जनाले उम्मेदवारी दिएकोमा अघिल्लो दिनसम्म फिर्ता लिने अवधिको उपयोग गर्दा केहीले फिर्ता लिएका छन् ।
अब बाँकी रहेकाबीच स्वस्थ चुनावी प्रतिस्पर्धा अपनाएर प्रतिनिधि चयन गरिने पार्टी अध्यक्ष भागवत राउतले बताए । उनका अनुसार निर्वाचन क्षेत्र १ बाट ४ जना खुल्लाको कोटामा ९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै महिला २ जनाको ठाउँमा ६ र युवा १ को ठाउँमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा १ नं. बाट १७ जनाको उम्मेदवारी कायम रहेको छ ।
त्यसैगरि २ नं. क्षेत्रमा खुल्ला ४ का लागि ८ जना, २ महिलाका लागि ४ र १ युवाका लागि ३ जनाले प्रतिस्पर्धा गर्दैछन् । सो क्षेत्रबाट १५ जनाबीच प्रतिस्पर्धा हुन लागेको छ । त्यसैगरि जिल्लाबाट चयन हुने १ मात्र उत्पीडित प्रतिनिधिका लागि ४ जनाले स्पर्धा गर्न लागेको अध्यक्ष राउतले बताएका छन् ।
उम्मेदवार धेरै भएपछि प्रतिस्पर्धा गराएर छनौट गर्ने तयारी भईरहेको एमालेले जनाएको छ ।
प्रतिनिधि छनौट कार्यक्रमा पार्टीका संगठित सदस्यहरुले मताधिकार पाउँछन् । जस अनुसार उदयपुर क्षेत्र नम्बर १ मा ३ हजार २ सय ४७ जना र क्षेत्र नम्बर २ मा २ हजार ४ सय १३ जनाले प्रतिनिधि छनौटमा भोट दिन पाउनेछन् । त्यस्तै १ जना दलित प्रतिनिधि चयन गर्न जिल्लाभरका ३ सय ८५ जनाको मताधिकार छ ।
पार्टी विधान अनुसार जिल्लाबाट प्रतिनिधित्व गरेका केन्द्रीय सदस्यहरु भने स्वत: महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ । जस अनुसार उदयपुरका २ जना केन्द्रीय सदस्यसमेत १७ जना महाधिवेशन प्रतिनिधि हुनेछन् ।
प्रकाशित: १२ मंसिर २०८२ १६:०० शुक्रबार





