१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सभापति पद कसैले छाडेर होइन, जितेर लिन चाहन्छु

कोरोना भाइरस संक्रमणबाट मुलुक आक्रान्त छ । प्रत्येक दिन संक्रमित बढ्दै गएका छन् भने मृत्युदर पनि बढ्दै छ । यहीबेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटेको छ । तर संक्रमण बढ्दै जाँदा फागुन ७ देखि निर्धारण गरिएको कांग्रेस महाधिवेशन हुने कि नहुने भन्ने प्रश्न उब्जिएको छ । कोरोना भाइरस संक्रमण, महाधिवेशनसहितका विषयमा सभापतिका आकांक्षी कांग्रेस नेता शेखर कोइरालासँग नागरिककर्मी बालकृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश ।  

कोरोना भाइरस नियन्त्रण गर्न निषेधाज्ञा छ, अहिले दिनहरू कसरी बितिरहेका छन् ?

योगा, ध्यान, व्यायामका अतिरिक्त साथीहरूसँग पातलो भेटघाट, फोन सम्पर्क, जुम मिटिङहरू । यसरी नै चलिरहेको छ अहिलेको दैनिकी ।

पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र हुँदै गएको छ । एक चिकित्सकका नजरमा हामी कता जाँदैछौं अहिले ?  

संक्रमण जुन गतिले बढिरहेको छ, त्यसले नेपाल भयावह स्थितिमा पुगेको जस्तो देखिँदैछ । संक्रमणको संख्या र मृत्युदर हेर्दा थोरै देखिन्छ । त्यसको कारण परीक्षण कम हुनु हो । कन्ट्याक्ट टे«सिङ पनि राम्रोसँग भएको छैन । त्यसले गर्दा मात्र अहिले ठिकैजस्तो देखिएको हो । दोस्रो चरणको लकडाउन (निषेधाज्ञा) ले संक्रमणलाई ब्रेकडाउन गरे पनि सचेतना नअपनाउने, मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने र साबुनपानीले हात नधुने हो भने संक्रमण अझै बढ्ने देखिन्छ । यो सुरुवात हो, कात्तिक÷मंसिरसम्म फैलिन्छ । तर पनि सरकारले जे तयारी गर्नुपर्ने हो, त्यो गरिरहेको छैन । कमजोरीहरू भइराखेका छन् ।  

सीमित स्रोतसाधनबीच सरकारले काम त गरिरहेको छ, होइन र ?  

कामै गरेन त भन्दिनँ तर उसले नेपालमा कोरोना आउँदैन, आयो भने पनि नेपालीमा प्रतिरोधात्मक क्षमता बढी छ भनेर प्रधानमन्त्री, मन्त्री तहबाटै कुरा आएको थियो । त्यसले जनतालाई लाग्यो, हामीलाई कोरोना हुँदैन । त्यो गलत थियो । अर्को कुरा, सुरुमा परीक्षणै भएन । त्यसले गर्दा थाहा नै भएन, देखिएन पनि । संक्रमणबाट मुलुकलाई जोगाउन चुस्तदुरुस्त रूपमा तयारी गर्ने होइन, स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता गर्नेतर्फ उहाँहरू (प्रधानमन्त्री, मन्त्रीहरू) को ध्यान गयो । उहाँहरूले पार्टीको आन्तरिक विवादमा बढी समय खर्च गर्नुभयो । कोरोना भाइरसबाट मुलुक र जनतालाई जोगाउने कुरा प्राथमिकतामै परेन । सरकार कोरोनाबाट जनतालाई जोगाउनेभन्दा आफ्नै बचाउमा लाग्यो । त्यसैमा समय खर्च ग¥यो । ठीक समयमा लकडाउन सुरु भए पनि त्यसपछिका दिनमा सरकारले क्वारेन्टिन, आइसोलेसन, अस्पताल, भेन्टिलेटर, अक्सिजन, स्वास्थ्य सामग्री व्यवस्थासहितको तयारी गर्नुपर्ने हो, त्यो तयारी हुँदै भएन । तीन तहका सरकारबीच होइन, संघका मन्त्रीबीचको कुरा पनि छाड्नुस्, स्वास्थ्य मन्त्रालयभित्रै पनि समन्वयको अभाव देखियो । त्यसले गर्दा हामी जोखिममा फस्दै गइराखेका छौं । हाम्रो कुराको सुनुवाइ भएन ।

के भन्नुभएको तपाईंहरूले ? सरकारले काम त गरेकै छ, होइन र ?

गरेको होला तर हामीले अनुभूति गर्न पाएका छैनौं अहिलेसम्म । क्वारेन्टिनलाई व्यवस्थित गर्न, तीन तहको आइसोलेसन बनाउन भन्यौं । जो घरमा आइसोलेसनमा बस्न सक्छन् उनीहरूलाई घरमै राख्ने, जसको त्यो सुविधा छैन उसलाई साधारण आइसोलेसन बनाएर राख्ने व्यवस्था मिलाउनुपर्छ भन्यौं । अक्सिजन आवश्यक हुनेलाई पर्याप्त मात्रामा दिन सक्ने व्यवस्था मिलाऔं र भेन्टिलेटरसहितको लेभल थ्री कोभिड हस्पिटल व्यवस्था गर्न भन्यौं । तर त्यस्तो भएन । सबैको ध्यान भेन्टिलेटरतर्फ मात्रै गयो । त्यो अन्तिम कुरा हो । सयजनालाई कोरोना हुँदा पाँचजनालाई मात्र भेन्टिलेटर आवश्यक हुन सक्छ । अक्सिजनसहितको आइसोलोसनको व्यवस्था गर्नुपर्ने हो तर हाम्रो ध्यान त्यता गएन ।

प्रधानमन्त्रीदेखि मन्त्रीहरूले भनिरहनुभएको छ, सरकारले काम गरिरहेको छ तर विरोधका लागि विरोध मात्र भयो । किन विरोध मात्र गर्नुभएको त ?  

हामीले पत्याउने कसलाई ? मुलुकको चौथो अंगले दिनदिनै लेखिरहेको छ । विभिन्न सञ्चारमाध्यमबाट आएको समाचारलाई विश्लेषण गरेर भनिरहेका छौं । काठमाडौंबाट लर्कोे लागेर जिल्लाजिल्ला हिँडेका विषयमा समाचार बन्दा प्रधानमन्त्रीले भन्नुभयो– ‘मिडिया कसरी त्यहाँ पुग्यो ? प्रमुख जिल्ला अधिकारी, प्रहरी पुगेकै छैन ।’ त्यसले बताउँछ– सरकारले के गर्न खोजेको छ, के भयो भनेर ।  

सरकारले गर्न खोजेको के रहेछ त ?  

जे नगर्नुपर्ने त्यही भइरहेको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भयो, गुणस्तरीय सामग्री ल्याइएन । दु्रत परीक्षण काम छैन, त्यसलाई रोक्नुप¥यो भन्यौं । तर सरकारमा भएकाले त्यसको बचाउ गरिराखे । अन्तिममा द्रुत परीक्षण बन्दै गर्नुप¥यो । आर्थिक अनियमिताका विषयमा कति कुरा गर्ने ? धेरैपटक भनिसक्यौं तर प्रधानमन्त्री, उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री नै त्यसको बचाउमा लानुभएको छ । अब त्यो विषय छरपस्ट भइसकेको छ । रक्षामन्त्री र प्रधानसेनापतिकै बीचमा ठाकठुक भएको कुरा सुन्नमा आएको छ । त्यसले गर्दा सरकारबाट जनताले जे अपेक्षा गरेका थिए, त्यो अहिले भएन ।

त्यसो भए सरकारले काम गरेन होइन त ?  

गरेको भए अहिलेको अवस्था यस्तो हुने थिएन । अहिलेसम्म सरकारका तर्फबाट जेजे बिग्रियो बिग्रियो, म त्यता जान चाहन्नँ । तर अहिले पनि सीमा क्षेत्रबाट दैनिक ३ हजार मान्छे नेपाल आइराखेका छन्, उनीहरूको पिसिआर परीक्षण गर्नुप¥यो । त्यसको रिपोर्ट नआउँदासम्म उनीहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्नुप¥यो । जसमा संक्रमण देखिन्छ, उनीहरूलाई लेबल वानको आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनुप¥यो । जसलाई लक्षण छ, उनीहरूलाई लेबल टुमा राख्नुप¥यो, जहाँ अक्सिजन उपलब्ध हुन्छ । लक्षण पनि कडा छ र अवस्था पनि गम्भीर छ भने अस्पतालमै राखेर उपचार गर्नुप¥यो । जहाँ भेन्टिलेटरको पनि सुविधा हुनुपर्छ ।  

दोस्रो– वडा तहदेखि नै कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्यो । त्यो अत्यन्त आवश्यक छ । त्यसका लागि सरकारले तत्काल रकम उपलब्ध गराउनुप¥यो । अहिले पनि रकम उपलब्ध नगराउने हो भने सरकारले कहिले रकम उपलब्ध गराउँछ ? तेस्रो विदेशमा रोजगारी गुमाएर स्वदेश आएका र स्वदेशमै रोजगारी गुमाएकाहरूका विषयमा पनि ध्यान दिनुप¥यो । होइन भने नेपालको अर्थतन्त्र विकराल अवस्थामा पुग्छ ।

अर्को कुरा– भूकम्पका बेलामा जस्तै मुलुकलाई जोगाउन अहिले पनि सबै पार्टीलाई साथै लिएर सरकार अघि बढ्नुपर्छ । कोरोनाका विषयमा छलफल गर्न चार दिनका लागि भए पनि संसद् बैठक बोलाउनुप¥यो । सबै जिल्लामा एउटाएउटा टिम बनाएर सांसदहरूलाई त्यहाँको अवस्था के छ भनेर यकिन रिपोर्ट ल्याउनेगरी खटाउनुपर्छ । त्यस्तै सातै प्रदेशमा चिकित्सकहरूको टोली पठाउनुप¥यो । त्यसलाई लेबल वान, टु र थ्रीको आइसोलेसन कस्तो हुनुपर्ने हो, अहिले कस्तो छ भनेर हेर्न पठाइदिए हुन्छ । अहिले एकले अर्कालाई गाली गरेर फाइदा छैन । मान्छे मरिरहेका छन्, त्यसबाट बचाउन एउटा संकल्प चाहिएको छ । त्यो लिएर जिल्लाजिल्ला जानुप¥यो । त्यसले दिएको रिपोर्ट अनिवार्य कार्यान्वयन हुनुप¥यो । त्यसो गरे मात्र रोगबाट जनतालाई जोगाउन सकिन्छ । कांग्रेसले सरकारलाई गाली गर्ने र सरकारले पनि काम गरिराखेको छु भन्ने होइन । यो महामारीबाट नेपाली जनतालाई कसरी बचाउने भनेर सबै लाग्ने बेला हो ।

तीन तहको सरकार छ, अर्को टिम किन पठाउनुप¥यो ? कांग्रेसको सहभागिता चाहिएको हो ?

कांग्रेसको सहभागिताको कुरा होइन यो । तपाईंले भन्नुभएजस्तै स्थानीय सरकारले काम गरिरहेका छन् । उनीहरूको अधिकार खोस्न जाने होइन । त्यहाँ केके कमजोरी छ ? केके अपुग छ भनेर हेर्ने र समितिले दिएको रिपोर्टअनुसार केन्द्र सरकारले आवश्यक तयारी र सुविधा उपलब्ध गराउन टोली पठाउने हो । पठाउनुपर्छ ।  

अहिले पनि सांसदसहित तीनै तहका सरकार र जनप्रतिनिधिले केन्द्र सरकारलाई त्यसको जानकारी गराइ राखेकै होलान् नि ?

त्यस्तो भएको भए सरकारको उच्च पदमा रहेका चिकित्सकहरू जो अहिलेको संक्रमणबाट जनतालाई जोगाउन सक्रिय हुनुपर्नेछ उनीहरू अर्थ मन्त्रालयमा पैसा निकासाका लागि जीहजुरी गर्नुपर्ने थिएन होला । दुईतीन महिनाका लागि आवश्यक पर्ने पैसा अर्थ मन्त्रालयले पठाइदिए हुँदैन ? पैसा निकासा भइरहेको छैन, कन्ट्रोल मेकानिजम छ । अहिलेको समस्या त्यो हो । मुलुकमा महामारी फैलिरहेको छ । तर स्वास्थ्य मन्त्रालयमा विशेषज्ञ सचिव महिनौंदेखि खाली छ । आफ्नो मान्छे छैन भनेर त्यो पदन रिक्त राख्ने कि जो सिनियर छ, उसलाई नियुक्ति गर्ने ? खट्न पनि सक्छ र जसले गर्न पनि सक्छ, त्यसलाई बनाउने हो । नबनाउनु प्रधानमन्त्रीको गल्ती होइन ? कन्ट्रोल मेकानिजम अहिले काठमाडौंको हालत बिग्रिएको हो । संघीय सरकारले काठमाडौं उपत्यकाको जिम्मा आफैं लिग्यो । स्थानीय तहका जनप्रतिनिधिहरू पनि सुतिदिए । स्थानीय तहलाई नै लगाउनुपथ्र्याे । संघीय सरकारले जिम्मा लिने कुरा गलत हो । त्यसैको परिणाम हो– काठमाडौं उपत्यकामा संक्रमण फैलनु ।

प्रतिपक्षीको भूमिकाचाहिँ खोइ त ? तपाईंहरूको जिम्मेवारी होइन, सरकारलाई ठीक ठाउँमा ल्याउने ?  

हो । कांग्रेसले गल्ती गर्यो‍ । कांग्रेस चुपचाप बस्दा यो सबै कुरा भइराखेको हो । सरकार गलत काम गर्दै जाने हामी नबोल्ने । पार्टी सभापतिले प्रधानमन्त्रीलाई भेट्न दिनहुँजस्तो गइराख्नुभएको छ । यो कुरा गर्नुभएको होला । तर पार्टीमा यस विषयमा छलफल भएकै छैन । खै उहाँले प्रधानमन्त्रीसँग के कुरा गर्नुहुन्छ, हामीलाई थाहा छैन । तर हामीले आफ्नो ठाउँबाट आवाज उठाइरहेका छौं । अचम्मको कुरा, विशेषज्ञ सचिवको पद खाली छ, किन नराखेको भनेर कसैले प्रश्न उठाउँदैनन्, योभन्दा दुर्भाग्य केही हुन्छ ?  

तपाईंको बुझाइमा सचिव किन नियुक्त नगरिएको होला ?  

नेपाली समाज कांग्रेस र कम्युनिस्ट भनेर विभाजित भएको छ । त्यसैको परिणाम हो । योग्य र गर्न सक्नेलाई होइन, आफ्नालाई खोज्दा महामारी नै नियन्त्रणमा नआउने त होइन भन्ने चिन्ता लाग्न थालेको छ । महामारीमा योत्यो होइन, सबैको सहयोग आवश्यक छ ।

कांग्रेसले भागबन्डा खोज्छ, कसरी काम गर्न सक्छ त सरकारले ?  

यसमा भागबन्डाको कुरै छैन । वरिष्ठ र राम्रो काम गरेकालाई जिम्मा दिने हो । तर जसलाई उहाँहरूले ल्याउन खोजिरहनुभएको छ, ती काम गर्न सकेन भनेर निर्देशकबाट हटाइएका व्यक्ति हुन् । फेरि तिनैलाई बनाउन खोज्दा कुरा बिग्रिरहेको छ । डिजी चलाउन नसकेको, भ्रष्टाचार गरेको भनेर स्वास्थ्य मन्त्रालय तानिएका व्यक्तिलाई सचिव बनाए के हुन्छ हालत ? राम्रो मान्छेलाई जिम्मेवारी दिनुपर्यो‍, उसले काम गर्छ ।

किन बोल्दैन त कांग्रेस ?

व्यक्तिव्यक्ति त हामी बोल्दैछौं । सभापति र प्रवक्ता बोलिरहनुभएको छ भन्ने मिडियामा आइराखेको छ । तर जे कुरा राख्नुपर्ने हो, त्यो राखिरहनुभएको छैन । सरकारले सुन्ने र दबाब पुग्नेगरी प्रस्तुत हुनुभएको छैन । सभापतिले कडा रूपमा भन्नुपर्ने कुरा हो । एक÷दुई दिनमा प्रधानमन्त्रीसँग सभापतिले भेटिरहेको सुन्छु तर के कुरा हुन्छ, हेरौं ।

तपाईंहरूसँग छलफल हुँदैन ?  

मसँग भएको छैन । के कुरा गरेर आउनुहुन्छ, थाहा छैन । सुनेपछि न भन्ने हो । सुतेको मान्छेलाई पो उठाउन सकिन्छ, जो अन्ठाएको हुन्छ, उसलाई कसरी उठाउन सकिन्छ ? सभापतिलाई यो कुरा थाहा छैन होला र ? नेतृत्वको ध्यान नपुग्दा पार्टीबाट जति सरकारमाथि दबाब हुनुपर्ने हो, त्यो परेको छैन । प्रतिपक्षीको भूमिका शून्य त म भन्दिनँ तर सरकारले सुन्ने र बुझ्नेगरी गर्न सकेका छैनौं ।

पार्टीको महाधिवेशन अलि धेरै लागेको हो कि ?  

महाधिवेशन मुखमै छ । फागुन ७ देखि गर्ने भनिएको महाधिवेशन कोरोनाको कारण सर्छ कि भन्ने पनि आशंका छ । तर पार्टी भइसकेपछि संगठनको जिम्मेवारी प्राइमरी भए पनि यो महामारी सबैका लागि हो । अहिले संगठन र महामारीबाट देश र जनतालाई जोगाउन सँगै भूमिका निर्वाह गर्नुपर्ने छ । तर महाधिवेशन लागेकै छ । यसको मतलब कोरोनालाई चटक्कै छाड्न मिल्दैन, छाडेको छ भने त्यो गल्ती हो ।

फागुनमै हुन्छ महाधिवेशन ? तपाईं विश्वस्त हुनुहुन्छ ?

महाधिवेशन सर्दैछ भन्ने सुनेको छु तर अहिलेसम्म केन्द्रीय समितिले निर्णय गरेको छैन । संक्रमणबाट जोगाउँदै, जोगिँदै कतिपय जिल्लामा सदस्यता वितरणसहितको काम अघि बढेका छन्, बढाउनुपर्छ । कोरोनाको बहाना देखाएर महाधिवेशन सार्नुचाहिँ दुर्भाग्य हुन्छ ।  

कसरी गर्ने त यस्तो अवस्थामा ?  

नेतृत्वको इच्छाशक्ति भयो भने फागुनमै महाधिवेशन गर्न सकिन्छ । २०१४ सालसम्म कांग्रेसको महाधिवेशन जिल्लाबाटै हुन्थ्यो । अहिले त प्रविधिको यति धेरै विकास भएको छ, त्यसलाई उपयोग गरेर महाधिवेशन गर्नुपर्छ । कांग्रेसको महाधिवेशनलाई मुलुकभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले पनि हेरिरहेकाले जति ढिला ग¥यो, पार्टीलाई उति घाटा हुन्छ । फागुन ७ आउन समय छ, त्यसको तयारीमा जुट्नुपर्यो‍ ।

सभापति शेरबहादुर देउवाको गृहजिल्लादेखि तपाईंको गृहजिल्लामा सदस्यता वितरण सुरु भएको छैन अनि कसरी होला त ?  

ठीक हो, भएको छैन । नेतृत्वको इच्छाशक्ति नभएका कारण यस्तो भएको हो । सभापतिको गृहजिल्लाको सभापति क्रियाशील सदस्यता लिन काठमाडौं आउनुभएको छ । तर उहाँलाई सदस्यता फाराम नदिएर अर्को व्यक्तिलाई पठाएको सुन्दैछु । अर्को पार्टीबाट कांग्रेस प्रवेश गर्नुभएको नेतालाई आमन्त्रित केन्द्रीय सदस्य बनाएर ११ सय ७ जनालाई क्रियाशील सदस्यता पनि दिनुभएको छ । त्योभन्दा कमजोर मानसिकता पार्टी सभापतिको के हुन्छ ? विभिन्न राजनीतिक दलमा रहेका साथीहरूलाई कांग्रेसमा ल्याउनु गलत होइन तर केन्द्रले नै सदस्यता दिने सोच उहाँहरूले बनाउनुभएको छ, त्यो गलत भएको छ । जिल्ला, क्षेत्र र वडालाई थाहै नदिई केन्द्रले सदस्यता बाँडिदियो भने कांग्रेसलाई माया गर्ने मान्छे आउँछन्न् कि कस्ता मान्छे आउँछन् ? अहिले रसुवादेखि डडेलधुरासम्म केन्द्रले सदस्यता वितरण गरिरहेको छ । त्यो गलत भयो । यसले पार्टी महाधिवेशन समयमा गर्न नेतृत्वको इच्छाशक्ति छैन भन्ने देखिन्छ ।  

नेतृत्व भन्नुभयो, कांग्रेसमा कोको पर्छन् ?  

पदाधिकारीहरू । उहाँहरू नै छलफल गर्नुहुन्छ, आफैं निर्णय गर्नुहुन्छ । फागुन ७ गते महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारीकै हो । केन्द्रीय समितिले त्यसलाई अनुमोदन गरेको मात्र हो । कांग्रेसमा आन्तरिक लोकतन्त्र छैन । मनपरीतन्त्रले चलिरहेको छ । विधि र विधानअनुसार चलेको छैन । विश्वले लोकतन्त्रवादी पार्टी भनेर कांग्रेसलाई हेरिरहेको छ तर हाम्रो नेतृत्वले कांग्रेसलाई मनपरीतन्त्रमा लैजान खोजिरहेको छ । त्यसविरुद्ध पार्टीमा आवाज उठाइरहेको छु ।

अबको महाधिवेशनमा तपाईंको भूमिका के र स्थान कहाँ हुन्छ ? सभापतिको लागि तयारी गर्नुभएको हो ?  

हो, सभापतिमै उठ्ने तयारी गरिराखेको छु । साथीभाइ र नेताहरूसँग घनीभूत छलफल गरिहेको छु । अरूले पनि नेतृत्वका लागि आकांक्षा देखाउनुभएको छ । नेतृत्वका लागि आकांक्षा राख्नु र प्रतिस्पर्धा गर्नु उहाँहरूको पनि अधिकार हो । कसैले कसैलाई छाड्ने होइन, पार्टीको सभापतिको पद जितेर लिने हो । म जितेर सभापति पद लिन चाहन्छु । त्यसका लागि मभन्दा धेरै सिनियर नेताहरू हुनुहुन्छ । उहाँहरूसँग पनि छलफल गरिरहेको छु । सबै तहका नेताहरूको मनोभाव बुझिरहेको छु ।

उहाँहरू आफैं नेतृत्वका लागि आकांक्षी हुनुहुन्छ ?

त्यो स्वाभाविक हो । सबैलाई मेरो राम्रो छ, मै जित्छु भन्ने लाग्छ । छलफल गरेर एउटा निष्कर्षमा पुग्ने हो । अहिले पार्टीमा मनपरीतन्त्र चलिरहेको छ, त्यसविरुद्ध हामी एकजुट हुनुपर्छ, हुन्छौं ।

हामी भनेको कोको एकजुट हुँदै हुनुहुन्छ ?  

अहिले नाम छाडिदिनुहोस् कोको भनेर तर हामी मनपरीतन्त्रविरुद्ध एक ठाउँमा उभिन्छौं । तिमी जित्दैनौ भनेर कसैले पुष्टि ग¥यो भने म छाड्न तयार छु । अरूका हकमा पनि त्यही हो । म पुष्टि गर्न सक्छु । नेता–कार्यकर्ताले के चाहेका छन् पनि बुझिरहेको छु ।  

कस्तो नेतृत्व चाहेका रहेछन् ?  

कांग्रेस सामूहिक नेतृत्वमा हिँडोस् । पार्टीमा मनपरीतन्त्र होइन, विधि र विधानलाई टेकेर अघि बढोस् । अनुभव र आशा जगाउन सक्ने व्यक्तिले नेतृत्व लेओस् । युवाहरूको ऊर्जालाई पनि एक ठाउँमा उभ्याउन सक्ने, हिमाल, पहाड, तराई र मधेस बुझेको साथै युवा र महिलालाई सँगै लिएर हिँड्न सक्ने व्यक्ति खोजेका छन् । त्यसका लागि म नै उपयुक्त व्यक्ति हुँ भन्ने ठानेको छु ।

सभापति बन्नुभयो भने के गर्नु हुन्छ ? केही योजना छ ?  

महाधिवेशनपछि गुटरहित कांग्रेस बनाउँछु । दूरदराजमा बस्ने इमानदार र निष्ठावान् कार्यकर्ता साथीहरूको योगदानका आधारमा मूल्यांकन तथा सम्मान गरिनेछ । पार्टीमा काम गर्ने कुनै साथीलाई अन्याय हुन दिनेछैन । प्रजातन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलन र सशस्त्र द्वन्द्वको समयमा मारिएका र घाइते भएका तथा विस्थापित द्वन्द्वपीडित साथीहरूको परिवार र उनीहरूको अवस्थाबारे केही जानकारी पार्टीमा छैन । महाधिवेशनपछि उनीहरूको अभिलेख राखिनेछ र ती परिवारलाई पार्टीले विषेश राहत प्याकेज ल्याउनेछ । पार्टीमा प्रजातन्त्र सेनानीहरूको अभिलेख राखेर उहाँहरूलाई सम्मानको व्यवस्था गरिनेछ । अग्रजको सम्मान गर्दै युवाहरूलाई पार्टीमा अवसर दिइनेछ । स्थानीय तहमा ६०, प्रदेशमा ५० र केन्द्रमा ४० प्रतिशत युवालाई नेतृत्वको अवसर दिइनेछ । यही आधारमा टिकट वितरणको व्यवस्था मिलाइनेछ । कांग्रेसलाई जुझारु र कम्युनिस्टसँग लड्न सक्ने पार्टी बनाउनेछु ।

नेतृत्वमा पुग्नुअघि सबैले गुट अन्त्य गर्ने कुरा गर्नुहुन्छ तर व्यवहारमा देखिँदैन, कसरी पत्याउने ?

विचार र कार्यक्रमका आधारमा गुटहरू हुनु स्वाभाविक हो । तर गुट अन्त्य गर्न सक्छु र गर्छु । त्यसका लागि सबैतिरबाट दबाब निर्माण हुँदै गएको छ । गुट अन्त्य सम्भव छ । काम नगरेपछि गुट बन्ने हो । पार्टीभित्रका राम्रा मान्छेलाई समेटर अघि बढ्छु । गुटको अन्त्य हुन्छ । गुटबन्दी र भागबन्डा अब चल्दैन । वैचारिक बहस र छलफल हुनुप¥यो । अहिले हाम्रो लडाइँ त्यसकै लागि हो । नेतृत्वका कारण अहिले बहस, छलफल केही भएको छैन । पार्टीमा मुद्दाहरूमा छलफल नै हुँदैन । विचार शून्य छ ।  

अनि रातिसम्म बैठक बस्नुहुन्छ, त्यहाँ के हुन्छ ?  

झगडा गर्छौं, कसलाई के बनाउने कसलाई के नबनाउने भनेर ।

एमसिसीका विषयमा छलफल भएको छ ?

सभापतिजीले भन्दिनुभो पास गर्ने भनेर, पार्टीमा छलफलै भएन । म पनि पासै गर्नुपर्छ भन्ने पक्षमा हो तर छलफल गरेर निर्णयमा पुगेपछि अपनत्व हुन्छ ।  

कांग्रेस हिन्दु धर्मलाई अजेन्डा बनाएर अगाडि जान खोजेको हो ?  

संविधानले धर्मबारे स्पष्ट व्याख्या गरेको छ । पहिलो– धर्म निरपेक्षताको परिभाषा गर्दै सनातनदेखि चलिआएको धर्मसंस्कृतिको रक्षा गर्ने भनेको छ । दोस्रो– गाई हाम्रो राष्ट्रिय जनावर भनेर किटान गरेको छ । तेस्रो– प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन पाइँदैन । त्यसो गरेको पाइए दण्डित गरिनेछ भनेर भनिएको छ । अब हामी संविधानमा उल्लेख भएका कुरालाई टेकेर अगाडि बढ्ने हो । यसमा दायाँबायाँ गर्नुहुँदैन ।

अन्तिममा चिकित्सक भएको हिसाबले कोरोनाको संक्रमणबाट देशलाई जोगाउन अब सरकारले के गर्नुपर्छ ?

सिमानामा परीक्षणको व्यवस्था मिलाउनुपर्यो‍ । रिपोर्ट नआउँदासम्म क्वारेन्टिन वा घरमै राख्नुपयो । तत्कालीन र दीर्घकालीन नीति निर्माण गर्नुपर्यो‍, जसले कारण रोग र भोक दुवैबाट जनतालाई जोगाउन सकोस् । प्रधानमन्त्रीले नै सिसिएमसीको नेतृत्व गरेर कामलाई प्रभावकारी बनाउनुपर्छ । राष्ट्रिय परामर्श समूह, सल्लाहकार समूह बनाउनुपर्यो‍ । क्वारेन्टिन र आइसोलेसनको व्यवस्था मिलाउनुप¥यो । तीन तहको आइसोलेसन चाहियो । अस्पतालको व्यवस्थापन गर्नुप¥यो । सबै अस्पतालमा कोरोनाको उपचार गर्ने सरकारी नीतिले संक्रमण बढ्छ । निश्चित अस्पतालहरू तोक्नुपर्छ । कन्ट्याक्ट टे«सिङलाई बढाउनुप¥यो । स्वास्थ्य क्षेत्रलाई चाहिने पैसा समयमै विनियोजन गरिदिनुप¥यो । आवश्यक स्वास्थ्य सामग्रीको समयमै व्यवस्था गर्नुपर्छ । निजी क्षेत्रसहित सबैलाई साथमा लिएर अघि बढ्नुपर्छ । अर्को एसएमएस अर्थात् ६ फिटको सामाजिक दूरी, मास्क र साबुनपानीले २० सेकेन्ड हातधुने कुरा सबैभन्दा महत्वपूर्ण हो अहिले । घरघरमा कटनको मास्क पुर्याउनुपर्यो त्यसलाई अनिवार्य प्रयोग गर्न लगाउनुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाएर रोजगारीको अवस्था पनि खडा गर्नुपर्छ ।

 

प्रकाशित: १६ भाद्र २०७७ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App