८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद कायमै रहेको बेला निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गरेको छ । आयोगमा पेस गरिएका कागजात, प्रस्तावित पदाधिकारीहरूको हस्ताक्षर, नागरिकता प्रमाणपत्र प्रतिलिप, घोषणा, विधानलगायत आधारमा बुधबार उक्त पार्टी दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार उक्त पाटीएको चुनाव चिह्न दुई डाँडाबीचबाट उदाएको सूर्य छ । पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति राखिएको छ ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला नेकपा (एमाले) दर्ताका लागि आयोगमा निवेदन दिइएको थियो । त्यस विषयमा नेकपाको बैठकमै अध्यक्ष पुष्पकमल दाहालले आशंका व्यक्त गरेका थिए । नवगठित पार्टीको अध्यक्षमा मोरङ विराटनगर–६ की सन्ध्या तिवारी छिन् । उनको ‘प्रोफाइल’बारे पार्टीका नेता केही बोलेका छैनन् । तिवारी यसअघि नेकपाभित्र पनि प्रधानमन्त्री ओलीनिकट थिइन् ।

उपाध्यक्ष अस्मिता सुनुवार गत दसैंमा प्रधानमन्त्रीसँग टीका थाप्न गएकी थिइन् । उनले प्रधानमन्त्रीसँग बसेर फोटो पनि खिचाएकी थिइन् । यसैगरी अर्की उपाध्यक्ष भगवती खड्काले पनि गत दसैंमा नेकपाका नेता महेश बस्नेतको हातबाट टीका लगाएकी थिइन् । सो फोटो उनले सामाजिक सञ्जालमा पनि राखेकी छन् । खड्का रेसलर पनि हुन् । यसअघि उनी नेकपासँग निकट थिइन् । एमाले दर्ता गर्नुअघि खड्काको साइनो प्रधानमन्त्री तथा नेकपाका नेताहरूसँग रहेको बुझिएको छ ।

यसैगरी प्रदेश ३ का सचिव जयराम राउतको पनि सम्बन्ध यसअघि प्रधानमन्त्रीसँग रहेको देखिन्छ । मदन भण्डारीको जन्मदिन अवसर पारी गत असार १४ गते नेकपा एमाले दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको थियो । तर नेकपाका केही नेताको बुझाइ भने प्रधानमन्त्रीको इसारामा एमाले दर्ता भएको भन्ने छ । यो विषय नेकपाको बैठकमै समेत उठेको थियो ।

राप्रपा ६ महिना हुन लाग्दा पनि आयोग गएन

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकीकरण भइ राष्ट्रिय प्रजातन्त्र पार्टी गठन भएको झन्डै ६ महिना हुन लाग्दा पनि निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ताका लागि निवेदन परेको छैन । गत फागुन २४ गते दुई पार्टी एकीकरणको आधारपत्र तयार गरिएको थियो भने फागुन २८ गते काठमाडौंमा पार्टी एकीकरण घोषणा गरिएको थियो । तर पार्टीका नेताहरूले अहिलेसम्म एकीकृत पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका छैनन् ।

आयोगका प्रवक्ता श्रेष्ठले दुई पार्टी एकीकरण पछि राप्रपा दर्ताका लागि अहिलेसम्म आयोगमा निवेदन नपरेको बताए ।

राप्रपाका नेता श्याम तिमिल्सनाले नवगठित पार्टीको चुनाव चिह्न के राख्ने भन्ने विषयमा सहमति नभएपछि आयोगमा दल दर्ताका लागि निवेदन नदिएको बताए । तत्कालीन राप्रपाका नेताहरूले एकीकृत पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने अडान राखेका छन् भने तत्कालीन राप्रपा (संयुक्त) नेताहरू हलो चुनाव चिह्न हुनुपर्ने अडानमा छन् । चुनाव चिह्नबारे सहमति जुटाउन राप्रपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा विक्रम पाण्डे, तिमिल्सना, ध्रुव प्रधान, बुद्धिमान तामाङ, दीपक बोहरा र राजेन्द्र लिङ्देन छन् । राप्रपाका नेता मोहन श्रेष्ठले केही दिनमै राप्रपा दर्ताका लागि आयोगमा निवेदन दिने तयारी भएको बताए ।

प्रकाशित: ४ भाद्र २०७७ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App