१० आश्विन २०७७ शनिबार
राजनीति

गन्तव्य हराएको विद्यार्थी आन्दोलन

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्चको पारदर्शिता खोज्दै केही स्वतन्त्र युवाहरूले काठमाडाैंमा सरकारलाई सजग गराउन शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्।

चिकित्सा शिक्षा सुधार तथा आम जनताको स्वास्थको सवालमा सरकारलाई झकझकाउँदै डा. गोविन्द केसीले पनि शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका छन्।

कञ्चनपुरको निर्मला पन्त बलात्कार तथा हत्याकाण्डको छानवीनमा सरकार निरीहजस्तै भएको समय ‘सरकार भेटियो न्याय भेटिएन’ भन्दै केही स्वतन्त्र युवाहरूले शान्तिपूर्ण आन्दोलन गरेका थिए।

रुकुम पश्चिममा अन्तरजातीय विवाहकै कारण मारिएका नवराज विकसहित छ जनाको हत्यापछि विद्यार्थी संगठनहरूले औपचारिक रूपमा कुनै बहस र आन्दोलन गर्न सकेका छैनन्। यस्तो  जघन्य सामाजिक अपराधको घटनामा पनि बिद्यार्थी नेताहरू अनविज्ञ हुनु र स्वतन्त्र युवाहरूले यो आन्दोलनको नेतृत्व गर्नु विद्यार्थी आन्दोलनको लागि लज्जाको विषय हो।

‘इनफ इज इनफ’ का अभियन्ताहरूले जनसवालका विषयमा अनशन, भोकहड्ताल जस्ता शान्तिपूर्ण आन्दोलन गरिरहेकै बखत नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले गत साउन २७ गते उपकुलपतिले आफूखुसी नियुक्ति गरेको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र सवारी साधनमा तोडफोड गरेका छन्।  

प्रतिपक्षदलको भातृ संगठन तोडफोडमा लागेपछि सत्ताधारी दलका विद्यार्थी नेताहरू भने त्यसको बचाउमा लाग्ने गरेको पाइन्छ।

‘शैक्षिक क्षेत्र बाहुबल प्रयोग गर्ने थलो होइन, यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो।’ भनेर वी.पी.कोइरालाले भनेका छन् तर आज शिक्षित विद्यार्थीहरू न त शैक्षिक सुधारका मुद्दामा केन्द्रित छन? न त जनसवालका मुद्दामा केन्द्रित छन्?

विद्यार्थीहरूले पाउँदै आएको सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट, मनोरञ्जनलगायतका क्षेत्रमा पाइने छुटहरू विद्यार्थी आन्दोलनकै उपलब्धि हो।  

तर, आज विद्यार्थीले उठाउनुपर्ने माग किन स्वतन्त्र युवाहरूले उठाइरहेका छन् ? के विद्यार्थी आन्दोलन दिशाविहीन भएको हो त?

कुनै समय सत्ताको निरंकुशता, महँगी, बेथिति, लगायत जनताको सवालमा आफ्नो पहिचान, संगठन र शक्ति स्थापित गर्न विद्यार्थी संगठनहरू सफल भएका थिए। तर, अहिले विद्यार्थी आन्दोलन दिशाविहीन बनेको छ। विद्यार्थी नेताहरू उद्देश्यविहीन भएका छन्। उद्देश्यबाट विचलित भएका छन्।

गत जनैपूर्णिमाको दिन नेकपा निकट विद्यार्थी संगठनका संयोजक ऐन महरले जनै जातीय विभेदको प्रतिक हो र यसको शुभकामना भन्दा नि समीक्षा गर्नुपर्ने भन्दै सामाजिक संजालमा स्टाटस लेखे। साथै उनले संस्कृतिका नामका यो विकृति अनि परम्पराका नामका विभेद भएको लेखे।

उनले विकृतिविरुद्ध लड्दैनौ भने हामी कसरी प्रगतिशील? कसरी माक्र्सवादी र कसरी परिवर्तनकारी भनेर प्रश्न पनि गरे।

हामी न्याय र समानताका ठूल्ठूला कुरा गर्ने अनि परिवर्तनचाहिँ अरूबाट मात्रै अपेक्षा गर्ने? के यही हो हामीले बुझेको,पढेको र आत्मसात् गरेको माक्र्सवाद भन्दै उनले जनै र रक्षाबन्धनको परम्परा तोड्नुपर्ने धारण राखे।

के विद्यार्थी नेताको अहिलेको माग यस्तै हो त? शैक्षिक माग सकिएकै हुन त?

कुनै समय देशमा हुने हरेक खालका आन्दोलनमा विद्यार्थीको उल्लेख्य अपस्थिति हुने गरेको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालमा विद्यार्थी सडकमा आइपुग्थे। जनजीविकाको हरेक सवालमा विद्यार्थी अग्रमोर्चामा उभिन्थे।

इन्धन, खाद्यान्नको मूल्यवृद्धिमा होस या भष्ट्राचारको सवालमा सबैभन्दा पहिले विद्यार्थी नेताहरू सडकमा निस्कन्थे।

चीनको वुहानबाट  फैलिएको कोभिड–१९ को महामारीले अहिले नेपालको शैक्षिक संस्थाहरूमा गतिविधि शून्य छ भने  लाखौं विद्यार्थीहरू शिक्षा प्राप्तिबाट वन्चित छन्।  

स्कुल तथा विद्यालय संचालन, शैक्षिक गुणस्तरको बारेमा कुनै दलका विद्यार्थी संगठन तथा नेताले सरकारलाई दबाब दिएका छैनन् भने विद्यार्थी नेताहरू माउ पार्टीको कार्यक्रममा नै व्यस्त देखिन्छन्। शैक्षिक क्षेत्रको समस्याको सवालमा अहिलेका विद्यार्थी संगठनले कुनै मार्गचित्र दिन सकेका छैनन्।

विद्यार्थी आन्दोलनले विद्यार्थीको हितका लागि गर्ने काम गरेको छैन बाँकी सबै काम गरिरहेको छ।

कुनै समय सत्ताको निरंकुशता, महँगी, बेथिति, लगायत जनताको सवालमा आफ्नो पहिचान, संगठन र शक्ति स्थापित गर्न विद्यार्थी संगठनहरू सफल भएका थिए। तर, अहिले विद्यार्थी आन्दोलन दिशाविहीन बनेको छ। विद्यार्थी नेताहरू उद्देश्यविहीन भएका छन्। उद्देश्यबाट विचलित भएका छन्।

अनेरास्ववियुका पूर्व अध्यक्ष राजेन्द्र राई आयु विद्यार्थी आन्दोलनमा लेख्छन्– ‘पहिलेभन्दा अहिले समाजमा संवेदनशीलता कमजोर भएर गएको छ। यस्तो अवस्थामा कुनै पनि खालका आन्दोलन उठाउन वा अघि बढाउन कठिन हुन्छ।’

मुलुकको शिक्षा क्षेत्रमा भइरहेको तीव्र र व्यापक निजीकरण, अभिभावकले आफ्ना छोराछोरीलाई राजनीतिबाट टाढा राख्न चाहनु, विद्यार्थी संगठनहरूले सहकार्य गर्न नसक्नु, विद्यार्थी नेताहरूमा वैचारिक चेतको कमी हुनु, अध्ययनमा भन्दा पार्टीगत गुठमा समय दिनु, जस्ता कारणले अन्दोलनको मोर्चामा विद्यार्थी संगठनपछि परेको राईले पुस्तकमा उल्लेख गरेका छन्।

नेपालको शिक्षा नीति कस्तो हुने भन्ने कुरामा सरकारको भन्दा दाताहरूको बोलबाला बढेको बताउँदै नेवि संघका पूर्व विद्यार्थी नेता तथा राजनीतिक विश्लेषक शंकर तिवारीले भने– ‘माउ पार्टी सत्ताको अंग बनेकाले विद्यार्थी आन्दोलन दिग्भ्रमित छ।  बहुसंख्यक विद्यार्थी नेताहरू बौद्धिक बहस र विमर्शमा भन्दा नेतृत्वको ताबेदारी गर्ने, ठेक्कापट्टा गर्नुका साथै नेता बन्नको लागि विद्यार्थी आन्दोलनलाई भ-याङ बनाउने खेलमा छन्। विद्यार्थीको समस्या पहिल्याउने कोसिस पनि उनीहरूले गरेको पाइँदैन।’

विद्यार्थी आन्दोलनलाई बिलकुल नयाँ शिराबाट सोच्नुपर्ने बेला आएको बताउँदै तिवारीले भने–‘जसरी कोरा राजनीति कुरामा राजनीतिक दलहरू प्रष्ट थिए तर विकास र समृद्धिका कुरामा उनीहरू अलमलिएका छन्।  त्यसैगरी विद्यार्थी संगठन पनि विद्यार्थीका मुद्दामा अलमलिएको अवस्था छ। विद्यार्थी आन्दोलनले विद्यार्थीको हितका लागि गर्ने काम गरेको छैन बाँकी सबै काम गरिरहेको छ।’

विद्यार्थी संगठनहरूले समयसापेक्ष आफ्ना प्राथमिकता र मुद्दा बदल्नुपर्ने आवश्यकता देखा परेको बताउँदै नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले भने–‘राजनीतिक परिवर्तनका आन्दोलनहरूमा अग्रपंक्तिमा लडेको विद्यार्थी शक्तिले समुदायगत हित र स्वार्थमा आफूलाई केन्द्रित गर्दै फरक शैली र संस्कारसहित आन्दोलित हुन जरुरी छ। शैक्षिक अधिकार र विद्यार्थीका सरोकारका मुद्दाहरूलाई प्राथमिकता दिई शैक्षिक, सामाजिक आन्दोलन गर्न सके मात्र विद्यार्थी संघ, संगठनहरुको सान्दर्भिकता जीवन्त रहन सक्दछ।’

विद्यार्थी आन्दोलनले संचालन गरेको कालापानी मार्च, लिपुलेक मार्च, सुस्ता बचाऊ अभियान आदि आन्दोलनका ऐतिहासिक कडीहरू हुन्। जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो। आज यातायातका साधनहरूमा विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा जुन ४५ प्रतिशत छुट उपलब्ध छ , त्यो त्यही विद्यार्थी आन्दोलनको नै उपज हो। यद्यपि  वर्तमानमा  विद्यार्थी आन्दोलन बहसको कठघरामा उभिएको छ।

‘राजनैतिक दलसंग सम्बद्ध भए पनि समुदायगत मुद्दाहरूमा आफ्नो विचार, कार्यक्रम र दृष्टिकोण लिएर अगाडि बढ्न सके मात्र विद्यार्थी आन्दोलनले बेग्लै पहिचान र अस्तित्व कायम रहन सक्ने उनको धारणा छ।

पार्टीका सिपाही र सत्ताको तावेदारी गर्ने नभई सत्तालाई खवरदारी गर्ने र  पार्टीहरूलाई समेत सचेत गर्ने ढंगबाट संगठनहरू प्रस्तुत हुनुपर्ने बताउँदै पाण्डेले भने– ‘पार्टीहरूभन्दा अग्रगामी र जुझारु भई शैक्षिक क्षेत्रका बेथिति र अनियमितताविरुद्ध सशक्त आवाज बुलन्द गर्दै आफ्नो दायित्व निर्वाह गर्नु नै विद्यार्थी संगठनको लक्ष्य हुनुपर्दछ।’

यतिबेला कतिपय मानिसले विद्यार्थी आन्दोलनको औचित्य  समाप्त भयो भनेर प्रश्न उठाउने गरेको बताउँदै अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेत भन्छन्– ‘तर साँचो कुरा के हो भने  विद्यार्थी आन्दोलनका माग फेरिएका छन्, मुद्दा  फेरिएका छन्, भूमिका फेरिएको छ  र तरीका फेरिएको छ।’ 

 

हिजो पंचायतकालमा दलहरू प्रतिबन्धित भएको बेला जनताको आवाज बोल्ने मोर्चाको अग्रभागमा विद्यार्थी नै थिए।  त्यसपछि नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व पनि विद्यार्थी आन्दोलनले गर्यो। तर अब राजनीतिक नेतृत्व दलहरूले नै गर्ने बताउँदै बस्नेतले भने– ‘अब विद्यार्थी आन्दोलन शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ। यदि बदलिएको परिस्थितिअनुसार विद्यार्थी आन्दोलनले आफूलाई अपडेट गरेन भने विद्यार्थी आन्दोलन संकटमा पर्न सक्छ। नेपालको शैक्षिक जगत र विद्यार्थीका बग्रेल्ती समस्या समाधान नभएसम्म विद्यार्थी आन्दोलनको औचित्य सकिंदैन।’  

‘हिजो पार्टी,  नेता र सत्तालाई दबाब र खबरदारी गर्ने विद्यार्थी नेता आज सत्ताको दलालीमा लिप्त छ।  सत्ताको चरित्र बदलियो, त्यो चरित्र बोक्ने विद्यार्थी आन्दोलन र नेताले गति बदलिएन।  शिक्षा र स्वास्थ्य हिजोभन्दा आज झन्–झन् महँगो र गरीब जनताबाट टाढा बन्दै गएको यस्तो बेलामा विद्यार्थी नेतृत्व सत्ता रक्षाको केन्द्रित हुनु दुखद् छ।’

‘शिक्षालयहरू र विद्यार्थीहरू रहुञ्जेल विद्यार्थी आन्दोलनको सान्दर्भिकता किमार्थ समाप्त हुँदैन। हिजो राजनीतिक परिवर्तन , सामाजिक जागरण र लोकतान्त्रिक आन्दोलनका  हरेक मोडहरूमा विद्यार्थी आन्दोलन अग्रभागमा उपस्थित थियो। राष्ट्रियताको पहरेदारको रूपमा दबाब, जागरण र खबरदारीको  ध्वजा हमेसा विद्यार्थी आन्दोलनले नै उठाउँदै आएको हो। विद्यार्थी आन्दोलनले संचालन गरेको कालापानी मार्च, लिपुलेक मार्च, सुस्ता बचाऊ अभियान आदि आन्दोलनका ऐतिहासिक कडीहरू हुन्। जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो। आज यातायातका साधनहरूमा विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा जुन ४५ प्रतिशत छुट उपलब्ध छ , त्यो त्यही विद्यार्थी आन्दोलनको नै उपज हो। यद्यपि  वर्तमानमा  विद्यार्थी आन्दोलन बहसको कठघरामा उभिएको छ।’– बस्नेतले भने।  

नेपालको संविधानले नै समाजवादउन्मुख राज्यव्यवस्थाको बाटो तय गरेको छ। त्यसैले कम्तीमा पनि शिक्षा  र स्वास्थ पूर्णरूपले राज्यले जिम्मा लिनुपर्छ। त्यसका निम्ति शिक्षा क्षेत्रमा व्याप्त निजीकरण, व्यापारीकरण र माफियाकरणका विरुद्ध विद्यार्थी आन्दोलनले सम्झौताहीन सङ्घर्ष गर्नुपर्छ। सीमा अतिक्रमण अहिले पनि जर्जर समस्या बनेको छ। आम नेपाली जनतालाई जगाउंदै राष्ट्रिय अस्मिता र स्वाधीनता रक्षाका निम्ति विद्यार्थी आन्दोलन सदैव तयार हुनुपर्दछ।  सार्वजनिक शिक्षाको सबलीकरण अबको प्रमुख मुद्दा बन्नुपर्ने बस्नेतको धारण छ। उनले भने– ‘अबको विद्यार्थी आन्दोलनले शिक्षालाई श्रमसंग, श्रमलाई सीपसंग, सीपलाई रोजगारी र उत्पादनसंग र उत्पादन र रोजगारीलाई विकास र समृद्धिसंग र त्यसलाई समाजवादसंग जोड्ने अभियानको नेतृत्व गर्नुपर्दछ।’

नेपाल विद्यार्थी आन्दोलन हिजो राजनीतिक परिवर्तनको अगुवाजस्तै थियो। सामाजिक विकृति, विसंगतिविरुद्ध बुलन्द आवाजको नेतृत्व यसले गरेको बताउँदै अनेरास्ववियुका नेता सुदेश पराजुलीले भने– ‘तर केही समय यता विद्यार्थी नेता र समग्र विद्यार्थी आन्दोलनप्रति चौतर्फी प्रश्न र बहस सिर्जना भएको छ। तत्कालीन अनेरास्ववियुले गणतन्त्रको सस्थागत निर्णय गर्यो तत्कालीन संठनका केन्द्रीय अध्यक्ष राजेन्द्र राईको अति नै महत्वपूर्ण योगदान छ। साथै नेविसंघ नेताहरू गुरुराज घिमिरे, गगन थापा, अखिल छैटौं नेता कृष्ण अधिकारी, प्रकाश पोखरेल लगायतका विद्यार्थी नेताले खेलेको भूमिका सलामयोग्य छ। तत्कालीन अखिल क्रान्तिकारीका नेताहरूले गणतन्त्रका लागि चालेको भूमिका पनि सधै सम्मानयोग्य छन्।’

तर विद्यार्थी आन्दोलन वर्तमान समयमा किन आलोचनाको केन्द्र बन्दैछ। यसको गम्भीर समीक्षा गर्ने नै पर्ने भएको छ। आजको विद्यार्थी नेता र आन्दोलन समुदायको गम्भीर प्रश्नमा जिम्मेवार नबनेको बताउँदै पराजुलीले भने– ‘मूलतः विद्यार्थी नेताहरूको  भूमिकाले पनि त्यो झन् प्रस्ट पारेको छ। विद्यार्थी संगठनको नेतृत्वको गलत क्रियाकलापले शैक्षिक आन्दोलन धरापमा पर्दै गएको छ। अहिलेका विद्यार्थी नेताहरूको आन्दोलनप्रतिको उदासीन प्रवृत्ति शैक्षिक मुद्दाको पहिचान गर्न नसक्ने कमजोर नेतृत्वका कारण पनि विद्यार्थी आन्दोलनले सही बाटो लिन सकिरहेको छैन।’

राजनीतिक व्यवस्था परिवर्तनका लागि, जनजीविकाका सन्दर्भमा, राष्ट्रियताका सन्दर्भमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको थियो तर अहिलेको विद्यार्थी नेताले टुलुटुलु हेर्नुबाहेक अन्य काम गर्न सकेको उनको धारण रहेको छ।  

अहिले विद्यार्थी नेताको दिनानुदिनको काम पार्टी नेता र सत्ताको गुलाममा नै सीमित देखिन्छ। आफ्नो समूहको नेताले गलत गरे पनि सही भनेर व्याख्या गर्दै बचाउ गर्नुबाहेको विद्यार्थी नेताहरूले अन्य काम गरेको देखिंदैन। अहिले विद्यार्थी नेताहरू गुटबन्दीको गतिलो सिकार हुँदै आएको तीतो यथार्थता छर्लङ्ङ छ। पार्टीको गुट विभाजनजस्तै विद्यार्थीहरू विभक्त भएको बताउँदै उनले भने– ‘हिजो पार्टी,  नेता र सत्तालाई दबाब र खबरदारी गर्ने विद्यार्थी नेता आज सत्ताको दलालीमा लिप्त छ।  सत्ताको चरित्र बदलियो, त्यो चरित्र बोक्ने विद्यार्थी आन्दोलन र नेताले गति बदलिएन।  शिक्षा र स्वास्थ्य हिजोभन्दा आज झन्–झन् महँगो र गरीब जनताबाट टाढा बन्दै गएको यस्तो बेलामा विद्यार्थी नेतृत्व सत्ता रक्षाको केन्द्रित हुनु दुखद् छ।’

विद्यार्थी आन्दोलनको सार्थकता अझै छ। जनताको हरेक मागको नेतृत्व यसले गर्नुपर्दछ। आफू निकट दल सत्तामा भए पनि उसको गलत कदममा प्रश्न उठाउन सक्नु र जनताको समस्यालाई सम्बोधन गर्न सरकारलाई बाध्य पार्नु नै विद्यार्थी आन्दोलन  भएको पराजुलीले बताए।

प्रकाशित: ३१ श्रावण २०७७ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App