१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभापतिको स्वाभाविक उम्मेदवार हुँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरू विस्तार, १४औं महाधिवेशनको तयारी र नेतृत्व चयन, सरकारको पछिल्लो गतिविधिसहितका विषयमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग नागरिकमर्की बालकृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

तपाईहरूको विरोधकाबीच सभापतिले विभाग विस्तार गर्नुभयो अब के गर्नु हुन्छ त ?
महाधिवेशन भएको दुई महिनाभित्र गर्नुपर्ने काम वैधानिक कार्यकाल सकिएपछिको समयमा गर्नुभयो । विधानले दुई महिनाभित्र सबै निकाय÷विभाग गठन गरिसक्नु पर्ने व्यवस्था गरेको छ । पार्टीको वैधानिक कार्यकाल चार वर्षको हो । पार्टी सभापतिलाई विधानले काम, कर्तव्य अधिकार तोकेको छ । त्यसअनुसार काम गर्नुपर्छ । विधानले निर्देशन गरेको कुनै पनि काम उहाँले गर्नु भएन । गर्न सरोकार पनि राख्नु भएन । तर, विधिवत कार्यकाल सकिएपछि १४औं महाधिवेशनलाई आफ्नो पक्षमा पार्नेका लागि विभागहरू विस्तार र गठन गरिरहनु भएको छ । लोकतान्त्रिक पार्टीभित्र लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको नेताले असुहाउँदो काम गर्नुभयो । हामीले यो ठिक भएन भनिरहेका छौँ ।

विभाग गठन गर्दैमा महाधिवेशन त कसरी प्रभावित हुन्छ र ?
तलाई पद दिएको छु अब मलाई सहयोग गर भन्न अहिले आएर विभाग गठन गर्नुभएको हो । पार्टीको महाधिवेशनलाई स्वच्छ, निस्पक्ष बनाउने जिम्मेवारी लिनुपर्नेमा महाधिवेशन तिथि मिति घोषणा भएर प्रक्रिया सुरु भएपछि विभाग गठनले उहाँ हतास मनस्थितिका साथ अघि बढ्नु भएको देखिन्छ । विधान, नियमलाई मिचेर भए पनि पार्टीलाई जसरी पनि कब्जामा राख्छु भन्ने हेतुले गरेको देखिन्छ । स्वच्छ, निस्पक्ष महाधिवेशन गराउनभन्दा पनि जसरी पनि पार्टी कब्जा गर्ने नीति लिनु भएको छ । जुन लोकतान्त्रिक पार्टीलाई नसुहाउने काम हो । कांग्रेसलाई चिन्ने भनेको लोकतान्त्रिक मूल्य, मान्यता र आचरण हो । त्यसलाई नै पालना नगरेपछि यसको औचित्यमाथि नै प्रश्न उठाएको छ । त्यसको हामी सशक्तरूपमा बिरोध गर्नेछौँ ।

विभाग गठन गर्न त तपाईंहरूले दिनुभएन, सहमतिका लागि कुर्दा ढिलो भयो भन्नुभयो सभापतिले ?
आफ्नो कम्जोरीहरू ढाकछोप गर्ने र धाँदली गरेर पार्टीलाई आफ्नो कब्जामा लिने दुसप्रयास सभापतिले गरिराख्नुभएको छ । लोकतान्त्रिक पार्टीभित्र यस्तो कार्य सुहाउँदैन । विधानभित्र रहेर कुरा गर्नुप¥यो ।

अब के गर्नु हुन्छ त ?
यसको बिरोध गर्छौँ । पार्टीको १४औं महाधिवेशन असफल भएको नेतालाई पुनः दोहोरीन नदिन हामी सबै लाग्नुपर्छ । पार्टीलाई देश र समाजको सहिअर्थमा प्रतिनिधित्व गराउने र चुनौतीहरूको सामना गर्नसक्ने सक्षम पार्टीमा रूपान्तरण गर्नसक्ने बनाउनुपर्छ ।

१४औं महाधिवेशनमा म सभापतिको स्वाभाविक उम्मेदवार हुँ । पार्टीमा प्रतिबन्धित अवस्थादेखि नै सक्रिय हुँदै जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति भइसके । सरकारमा पनि मन्त्री, उपप्रधानमन्त्री, संसदीय दलको उपनेता भइसके, अब  दलको नेता र पार्टी सभापति हुने कुरा अस्वाभाविक होइन । 

संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराउनुभयो कसरी पार्टी सभापतिलाई असफल भन्न मिल्छ र ?
शेरबहादुर(शेरबहादुर देउवा)जी सबै कांग्रेसको सभापति बन्नसक्नु भएन । उहाँको नेतृत्वमा निर्वाचन त भयो तर पार्टीलाई सबैभन्दा धेरै ‘सेडब्याक’ भयो । लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गर्ने राजनीतिक दलले निर्वाचनको परिणाम राम्रो आउँदा वा नराम्रो आउँदा त्यसको जस र अवजस नेतृत्वलाई जान्छ । त्यसले निर्वाचनमा पार्टी पराजित भएपछि पनि मैले भनेको लोकतान्त्रिक अभ्यास अनुसार उहाँले राजीनामा गर्नुपर्ने हो । त्यो आचरण उहाँले देखाउन सक्नुभएन । पार्टीका कुनै निकायलाई सक्रिय बनाउन सक्नुभएन । चार वर्षभित्र महाधिवेशन हुन सकेन । पार्टीभित्र बहुमत छ भन्दैमा लोकतान्त्रिक विधि र प्रक्रिया मिच्दै जाने कुरा त ठिक भएन ।

त्यसो भए अब कांग्रेसको सभापति को हो त ?
शेरबहादुरजीबाट पार्टी नेतृत्वमा असफल हुनुभयो । उहाँबाट अब पार्टी चल्दैन भन्ने जोजति छौँ हामी सबै एक ठाउँमा आइरहेका छौं । हामी छलफलमा छौं । सबैको गृहकार्यबाट १४औं महाधिवेशन एक दमै प्रभावशाली टिम खडा गर्नेछौं, सभापतिदेखि सदस्यसम्मको । उहाँले जतिसुकै विधि र नियम मिचेर पार्टीको संगठन कब्जा गर्न लागे पनि हामी असफल बनाउन लाग्नेछौं ।

तपाईंले हामी भन्न खोज्नु भएका सबै नेताहरू सभापतिको आकांक्षी हुनुहुन्छ कसरी सम्भव होला एक जना मात्र उम्मेदवार ?
आकांक्षा राख्नु अस्वाभाविक होइन । तर, हामी समय आएपछि प्रभावकारी टिक घोषणा गर्नेछौं । त्यो गृहकार्य भइरहेको छ । जनताको विश्वास र भरोसामा योग्य पार्टी बनाउने छौं । जसरी कांग्रेसले जनताको अधिकार स्थापना गर्ने सक्रिय भयो त्यसलाई सुरक्षित गर्न सक्ने पार्टी बनाउने छौं । जनताको जीवन र जीविकोपार्जनलाई सहज बनाउनका लागि आर्थिक विकासको काम गर्ने पार्टी बनाउने छौं । त्यसैले टिम पनि राम्रो हुनुप¥यो भने आशजगाउन सक्ने, तल्लो हतका नेता तथा कार्यकर्ताको दुःख बुझेको खारिएको हुनुपर्छ ।

तपाईंको भूमिका के हो त आगामी महाधिवेशनमा ?
१४औं महाधिवेशनमा म सभापतिको स्वभाविक उम्मेदवार हुँ । पार्टीमा प्रतिबन्धित अवस्थादेखि नै सक्रिय हुँदै जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति भइसके । सरकारमा पनि मन्त्री, उपप्रधानमन्त्री, संसदीय दलको उपनेता भइसके, अब दलको नेता र पार्टी सभापति हुने कुरा अस्वाभाविक होइन । दलको नेतामा शेरबहादुरजीसँगै प्रतिष्पर्धा गरेको हुँ । मेरो स्वाभाविक दाबी रहन्छ । मैले डबल वा त्रिबल ‘प्रोमोशन’ भनिरहेको छैन । काठमाडौं उपत्यसकाबाट अहिलेसम्म प्रमुख पार्टीको नेतृत्वमा कोही पुगेको छैन । म सभापति हुँदा एउटा सन्देश पनि प्रभावित हुन्छ, तर मै मात्र हुनुपर्छ भन्ने होइन । हामी गृहकार्यमा छौं समय आएपछि उपयुक्त टिम घोषणा गर्छाैं ।

तपाईंलाई काठमाडौंमै सिमित भएको आरोप लाग्छ नि ?
काठमाडौंमै केन्द्रित भएको भए पार्टीको महामन्त्रीमा निर्वाचित हुन्थे होला त ? सबै जिल्ला पुगेको छु पार्टीका मात्र होइन नेपालको भूगोल, माटो र जातजातिसँग म परिचित छु । मेरोविरुद्ध दुसप्रचार गर्नेले त्यस्ता कुरा गरेका हुन् । प्रकाशमान नेवारलाई मात्रै हेर्छ भनिदिन्छन् कतिले, तर राजेन्द्र केसी, सवुज बानियाँ नेवार हुन त।

१४औं महाधिवेशनमा पार्टी उपसभापति विमलेन्द्र निधि, तपाईंसहितका नेताहरू जिम्मेवारी बाडफाडसहित छुट्टै समूह बनाउने कसरतमा हो ?
राजनीतिमा असम्भव केही छैन । महाधिवेशनमा उम्मेदवारी दर्ता गर्ने बेलासम्म विभिन्न समिकरण बन्नसक्छ । घटनाक्रमले एउटा परिस्थिति निर्माण गर्दछ । राजनीतिमा एक साता भनेको धेरै समय हो । अहिले त धेरै साता बाँकी छ । मलाई सुशील कोइरालाको महामन्त्री बन्छ भनेर कसैले सोचेको थियो ? तर, घटनाक्रमले उहाँ (सुशील) सभापति म महामन्त्री भयौं । परिस्थिति त्यस्तै बन्यो भने समिकरण मान्छेले सोच्दै नसोचेको पनि बन्नसक्छ । त्यो पनि सम्भावना छ । मुख्य कुरा पार्टीलाई संस्थागत ढंगबाट अघि बढाउने कुरा हो ।

पहिलो पुस्ताका नेतालाई पार्टी नेतृत्वबाट विदा गर्नुपर्छ भन्ने आवाजमा तपाईं पनि लाग्नुहुन्छ हो ?
मैले आम निर्वाचनको परिणामपछि नै सभापति शेरबहादुर देउवाबाट अब पार्टी चल्दैन भन्दै आएको छु । तर, उहाँहरूले लोकतान्त्रिक व्यवस्थाको स्थापनामा पु¥याउनु भएको योगदानको सम्मान गर्नुपर्छ । उहाँहरूलाई आदर र सम्मान गर्नुपर्छ, तर समय र मागअनुसार पार्टीलाई नेतृत्व दिन नसकेपछि नेतृत्व सम्हालेर बस्छु भन्नु त्यो पनि ठिक भएन । आगामी दिनको चुनौतिको सामना गर्न अब नेतृत्वले पनि आफै सोच्ने बेला आएको छ ।

कोरोनाको जोखिम बढ्दै गएका बेला फागुनमा कांग्रेसको महाधिवेशन सम्भव छ ?
पार्टीको विधानले चार वर्षमा महाधिवेशनको परिकल्पना गरेको छ । त्यसलाई गुजारेर हामीले अतिरिक्त सुविधा प्रयोग गरिरहेका छौं । थपिएको एक वर्ष पनि फागुनमा सकिन्छ त्यसमा त महाधिवेशन गर्नुप¥यो नि ? थपिएको समयमा पनि भएन भने अब कहिले गर्ने त ? त्यसका लागि प्रयास गर्नुपर्यो । चार वर्षमा गर्नुपर्ने कुनै काम नहुँदा पार्टी संकटमा परेको छ अहिले ।

तपाईंहरूलाई पार्टी महाधिवेशनकै चिन्ता छ, सत्तारुढ नेकपामा आफ्नै झगडा छ, जनताको पक्षमा कुरा गर्ने त कोही छैन होइन ?
प्रमुख प्रतिपक्षीको हैसीयतमा कांग्रेसले जनताको पक्षमा आवाज उठाइरहेको छ, तर अहिलेको सरकार सबै क्षेत्रमा पूर्ण असफल बन्यो । जनताले राजनीतिक स्थिरता र समृद्धिको आकांक्षासहित मतदान गरे तर झन्डै दुई तिहाइ मत पाएको नेकपा सरकारले अहिलेको संकटमा सामान्य ‘म्यानेज’सम्म गर्न सकेको छैन । एक जना संक्रमित हुँदा लकडाउन गर्ने तर ७० भन्दा बढिको मृत्यु हुँदा खुकुलो गरेको छ । यति लामो लकडाउनको समयमा रोकथाम र उपचारका लागि पूर्वाधार बनाउनुपर्ने हो त्यसमा कुनै चासो दिइएन । क्वारेन्टिन, आइसोलेसन वार्ड वा अन्य केही काम गरेन । राजधानीमा अहिलेसम्म क्वारेन्टिनसमेत छैन । उल्टै स्वास्थ्य सामग्री खरिदमा ठूलो मात्रामा आर्थिक ‘घोटला’ गरेको विषय सार्वजनीक भएको छ । यस्तो अवस्थामा पनि भ्रष्टाचार, कुर्सीका लागि झगडा गरेर जनताको म्यान्डेटलाई लत्याउने काम गरेको छ । परराष्ट्र सम्बन्ध पनि बिग्रीएको छ । सरकार सबै क्षेत्रमा असफल भएको छ ।

भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर नक्सा जारी गर्नेलगायतको काम गरेको सरकारलाई कसरी असफल भन्न मिल्छ ?
अध्यावधिक नक्सा सबै राजनीतिक दलको साथ र समर्थनमा जारी भएको हो । सरकारले मात्रै गरेको होइन । तर, नक्साजारीपछि भूमि फिर्ता लिनका लागि सरकारले जसरी वार्ता र सम्वाद गर्नुपर्ने हो, त्यो गरेको छैन । उल्टै प्रधानमन्त्रीले अत्यन्त विवादास्पद, न्यूनतम सिस्टाचारलाई पनि भूलेर आफ्नो धारणा राख्नु दुखद र आपत्तीजनक छ । शान्ति सुरक्षा, अर्थतन्त्र सम्हाल्न सकेको छैन । सरकार हरेक फन्टमा असफल भएको छ । अझ कोरोना भाइरसको यो संकटमा सरकार हात ठाडो पारेर बसेको जस्तो अवस्था हुनु दुखद कुरा हो । सरकारको कुनै गतिविधि छैन । यो पूर्णरूपमा असफल भयो ।

प्रकाशित: २८ श्रावण २०७७ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App