८ वैशाख २०८१ शनिबार
राजनीति

समुदाय स्तरमा कोरोना परीक्षणपछि विद्यालय खोल्ने : मन्त्री बराल

प्रदेश न. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले समुदाय स्तरमा कोरोना परीक्षण गरेपछि मात्रै विद्यालय सञ्चालनको निधो हुने बताएका छन् । कोभिड- १९ पछि विद्यालय सञ्चालनमा अन्यौलता कायमै भएपछि रिपोर्टर्स क्लब प्रदेश ५ ले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा मन्त्री बरालले तत्तकाल विद्यालय खोेल्ने वातावरण नभएको बताए ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी समालेका उनले समुदाय तहमा कोरोना परीक्षण सुरु गरिएको बताए । समुदायबाट १२ सय जनाको नमूना परीक्षण सुरु गरेको उनले बताए । पहिलो चरणमा तराईका ५ जिल्ला र पहाडको एक जिल्ला गरी ६ जिल्लाबाट २ सयका दरले नमूना संकलन सुरु भएको उनको भनाइ छ । ‘कोरोनाको समुदायमा असर के छ भन्ने विषयमा नमूना लिने कामको सुरु भएको छ’ मन्त्री बरालले भने । नमूनाका रुपमा विभिन्न क्षेत्रबाट लिइएको स्वाबको परीक्षणपछि मात्रै विद्यालय खोल्ने मोडालिटी बनाइएको मन्त्री बरालले बताए ।

मन्त्री बरालले कोभिडसँगै जिउनुपर्ने बाध्यता रहेकाले अब यसलाई स्थानीय तहसँगको समन्वयमा टुंगो लगाउने बताए । प्याब्सनका केन्द्रीय प्राज्ञ सल्लाहकार कृष्ण खनालले निजी क्षेत्र अभिभावकविहीन भएको भन्दै आफूहरुलाई विभेद गरेको गुनासो गरे । एनप्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेलले शिक्षा समन्वय इकाइको जिम्मा स्थानीय तहले धान्न नसकेको बताए ।

शिक्षा पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष कृष्ण मल्लले क्वारेन्टिन निर्माण भएका सामुदायिक विद्यालयमा भौतिक क्षति भएका हुँदा त्यसको व्यवस्थापन नगरी पठनपाठन सुचारु गर्न नहुने बताए । कोरोना महामारीपछि देशैभरका विद्यालयहरु बन्द छन् । कतिपय जिल्लामा भने विद्यालयहरुले पठन पाठन सुचारु गरेको समाचार सार्वजनिक भइरहेका छन् । तर प्रदेश ५ मा भने सरकारले तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था भने नभएको जनाएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App