स्विस बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ५५ लाख अमेरिकी डलर राखेको भनेर सार्वजनिक खबर झुटो भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिँदै केही नेपाली अनलाइनले ‘भ्रामक’ समाचार दिएर प्रधानमन्त्रीको चरित्र हत्या गर्न खोजेको उनको भनाइ छ ।
बुधबार बिहान फेसबुकमार्फत प्रेस नोट सार्वजनिक गर्दै प्रेस सल्लाहकार थापाले त्यस्ता गलत समाचार दिने पत्रकार/सञ्चारमाध्यमलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।
थापाले जारी गरेकाे प्रेस नाेटकाे पूर्णपाठ :
प्रेस नोट
‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिरहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूटो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
स्विस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै बेहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्छु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलार्य आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूको रवैया खेदजनक छ ।
राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतीद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनुभएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रस्टै छ ।
आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न मागसमेत गर्छु ।
सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७
प्रकाशित: ३१ असार २०७७ ०८:०१ बुधबार