coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली रणनीति शक्ति सञ्चय

फाइल तस्बिर।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लामो समय रोकिँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरु शक्ति सञ्चयमा लागेका छन्। असार १० गते सुरु भएको स्थायी कमिटी बैठक असार १८ देखि लगातार स्थगित भएपछि सोही समयको उपयोग गर्दै ओली निकट नेताहरुले निरन्तर असन्तुष्ट नेताहरुसँग भेटघाट गरी विवाद मत्थर बनाउने प्रयास गरिरहेका छन्।  

ओली निकटका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल, विष्णु रिमाललगायतले दाहाल–नेपाल समूहका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन्। उनीहरु दाहाल–नेपाल समूहका नेताहरुसँग एक्लाएक्लै भेटघाट गरेर दूरी कम गराउन लागिरहेका छन्। दुई दिनअघि वानेश्वरस्थित एक घरमा महासचिव विष्णु पौडेलले नेपाल समूहका नेताहरुसँग छलफल गरेका थिए। ‘महासचिवलगायतका नेताहरुले समन्वय गरिरहनुभएको छ। उहाँहरुले विवाद घटाउने र शीर्ष नेताहरुको दूरी कम गराउने काम गरिरहनुभएको छ’, ओली निकट एक सदस्यले भने। उनका अनुसार पार्टी मिलाएर लैजानुपर्छ भन्ने अवस्थाबाट नै छलफल चलिरहेको छ।  

असार २६ बाट एकैचोटि साउन २ गतेलाई स्थायी कमिटी बैठक राखिएको छ। मुलुकमा बाढीपहिरोको कारण देखाएर नेकपाले पछिल्लो पटक असार २६ गते सात दिनका लागि बैठक स्थगित गरेको थियो। बैठक स्थगित गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल शनिबार बाढीपहिरो अवलोकन गर्न चितवन पुगेर सोमबार दिउँसो काठमाडौ फर्केका छन् । बैठक स्थगित भएपछि दुई अध्यक्षबीच कुराकानी भएको छैन। दाहालले शनिबार चितवन पुगेर आफूले हतार नगरेको, पार्टी एकता कायमै रहने र एकले अर्कालाई उकास्ने तत्वप्रति सचेत रहेको अभिव्यक्ति दिए भने ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पार्टीभित्रको विवाद र सरकारको विषय फरक भएको सन्देश दिए। यी दुवै अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक विवादलाई नेताहरु केही समय स्थगन गर्ने अवस्थामा पुगेको संकेत मिले पनि सरकार र पार्टीबीचमा उत्पन्न दरार कसरी कम गर्ने भन्नेबारेमा ओली निकट नेताहरुले असन्तुष्ट नेताहरुसँग छलफल गरिरहेको छन्।  

ओली पक्षधर नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानसहित बाँकी विकल्पमा दाहाल–नेपाल समूहका नेताहरुसँग छलफल गरिरहेका छन्।

ओली पक्षधर नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानसहित बाँकी विकल्पमा दाहाल–नेपाल समूहका नेताहरुसँग छलफल गरिरहेका छन्। पार्टीको महाधिवेशन चाँडै गर्ने र पार्टी अध्यक्ष हस्तान्तरण गर्ने, मुख्यमन्त्री र केही मन्त्री हेरफेर गर्ने, सरकारी नियुक्तिमा पार्टीको निर्णय कार्यान्वयन गर्ने, पार्टीका सिनियर नेताहरुलाई जिम्मेवारी दिने, सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्नेजस्ता विकल्प राखेर ओली समूहका नेताहरुले असन्तुष्ट पक्षका नेताहरुसँग छलफल गरेका छन्। तर दाहाल–नेपाल समूहका नेताले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाडेर ओलीले सहजीकरण गरे पार्टी व्यक्तिप्रधान होइन, नीति प्रधान हुने सुझाव दिइरहेका छन्। वरिष्ठ नेता झलनाथ खनालले सोमबारमात्रै सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा केपी शर्मा ओलीले पार्टी फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको बताए।

‘अहिले जसरी केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहनुभएको छ, त्यसरी पाँच वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रुट आउट हुन्छ। कम्युनिस्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धि हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ। तर प्रधानमन्त्री ओलीले पार्टी फुटको त्रास देखाएर सत्ता टिकाउन खोज्नुभएको छ,’ उनले भने। तर यो विषयमा अहिले माधव नेपाल समूह मौन छ। ओली–दाहाल संवाद चलिरहेका कारण नेपाल समूह मौन रहेको हो। ‘अहिले दुई अध्यक्षबीच छलफल चलिरहेको छ। उहाँहरुको निष्कर्ष आएपछि मात्रै हामी आफ्नो विषय अघि सार्छौं उहाँहरुले पार्टीलाई आहत हुने काम गर्नुहुन्न होला। पार्टी हितमा आउने सबै निर्णय हामीलाई मान्य हुनेछन्’, नेपाल समूहका एक नेताले भने। उनका अनुसार अहिले पार्टी एकता कायम राख्ने विषयमा सबै नेता एकजुट भएका कारण पनि मौनताको अवस्था आएको बताए।  

पूर्व माओवादीका नेताहरु पार्टी एकता कायम राख्नुपर्ने भन्दै दाहाललाई दबाब दिइरहेका छन्। जनार्दन शर्मा, वर्षमान पुन, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेललगायतका नेताले दाहाललाई भेटेर दबाब दिएका हुन्। नेपाल–ओली समूहका नेताले पनि आफ्नो तर्फबाट शीर्ष नेताहरुलाई पार्टी एकता कायमै राख्न दबाब दिइरहेका छन्। ओलीविरोधी स्वर कमजोर हुने अवस्था आए साउन २ गते स्थायी कमिटी बैठक बस्ने अनुमान गरिएको छ।

प्रकाशित: ३० असार २०७७ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App