२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

पूर्व प्रम थापाको उपचारका लागि भारतबाट चिकित्सकको टोली

दीपक दाहाल, काठमाडौँ, जेठ २८- पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य उपचारका लागि भारतबाट डा. रवि कास्कीवालको नेतृत्वमा छ सदस्यीय चिकित्सक टोली आज बिहान काठमाडौँ आएको छ। मुटुरोग विशेषज्ञ डा कास्कीवालको नेतृत्वमा नसा रोग विशेषज्ञसमेत आएको जनशक्ति पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए।

शनिबार बिहान पौने दस बजे नक्सालस्थित पार्टी कार्यालयमा एक कार्यक्रमलाई सम्बोधन गरिरहँदा एक्कासि ढलेका थापालाई तत्कालै त्रिपुरेश्वरस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार अचानक मुटु चल्न बन्द हुने समस्या (कार्डियाक एरेस्ट) देखिएका थापाको अवस्था गम्भीर छ।

८४ वर्षे थापाको उपचार सघन कक्ष (आइसियु) मा कृत्रिम श्वासप्रश्वास मेसिन (भेन्टिलेटर) र पेसमेकरको सहायताले उपचार भइरहेको छ। उनको होस खुलेको छैन। महत्वपूर्ण अंगहरू मुटु र फोक्सो उपकरणको सहायताले चलाइएको छ।

सोफामा बसेर बोलिरहेका थापा अचानक ढलेपछि १० मिनेटभित्रै अस्पताल पुर्‍याइएको थियो। पार्टीका सहअध्यक्ष प्रकाशचन्द लोहनीका अनुसार समसामयिक राजनीतिबारे भनाइ राखिरहँदा उनको ओठ एक्कासि काँप्न थालेको थियो। 'ओठ काँप्न थाल्यो र सोफामा ढलिहाल्नुभयो, हामीले उठाएर केही मिनेटमै अस्पताल पुर्‍यायौं,' लोहनीले भने, 'शनिबार भएकाले बाटो खाली थियो र समयमै उपचार सुरु हुन पायो।'

लामो समयदेखि मुटुको समस्या भए पनि थापा सक्रिय दैनिकीमै थिए। शुक्रबारमात्र उनले २७ दलको सभालाई खुलामन्चमा सम्बोधन गरेका थिए।

अस्पताल पुर्‍याउँदा थापाको शरीर केही तातो भए पनि श्वासप्रश्वास, नाडी र रक्तचाप थिएन। अस्पताल पुर्‍याउँदा जीवनदायी कुनै संकेत नहुँदा पनि अहिलेको अवस्थासम्म आउनुलाई पनि चिकित्सकले 'मेडिकल मिराकल' भनेका छन्। उपचारमा संलग्न डा. भारत रावतले थापालाई गम्भीर अवस्थामा भए पनि समयमै अस्पताल ल्याइएको बताए। उनका अनुसार यस्तो अवस्थामा प्रत्येक १ मिनेटमा बाँच्ने सम्भावना १० प्रतिशत कम हुँदै जान्छ।

चिकित्सकका अनुसार अहिले पनि मुटुको चाल फर्किएको छैन। अचेत अवस्थामा समय/समयमा लागेको खोकीको सुस्त प्रतिक्रियाले अहिले ब्रेनले काम गरिरहेको संकेत गरिरहेको छ। थोरै मात्रामा पिसाब भइरहेको चिकित्सकहरूले बताएका छन्। त्यही संकेतका आधारमा चिकित्सकले सुधारको आशा मारिसकेका छैनन्। 'उहाँको अवस्था निकै गम्भीर छ, अस्पताल ल्याउँदाको तुलनामा जीवनदायी महŒवपूर्ण संकेतहरूमा नगन्य सुधार देखिएको छ,' उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ भारत रावतले भने, 'तर, २४ घण्टासम्म सुधार हुनसक्छ भन्न सकिन्न।'

यद्यपि चिकित्सकहरू अबको २४ घण्टासम्म अहिलेकै औषधिपचार जारी राखिने बताएका छन्। कार्डियाक एरेस्ट हृदयघातभन्दा खतरनाक समस्या हो। यो समस्या हँुदा मुटुको सहज चाल रोकिएर थर्किने हुन्छ।

थापाको उपचारमा डा. रावत, डा. जेपी जैसवाल, डा. श्यामबहादुर पाण्डेलगायतको टोली संलग्न छ।

शनिबार रातिसम्म नाडीको गति भेन्टिलेटर र पेसमेकर जोडिएको अवस्थामा ८० बिट प्रतिमिनेट छ। रक्तचाप १००/६०, श्वास-प्रश्वासको गति १५ प्रतिमिनेट र अक्सिजनको मात्रा ९९ प्रतिशत छ। त्यो राम्रो अवस्था हैन। थापा करिब तीन दशकभन्दा लामो समययता मुटुको रोगबाट पीडित छन्।

उनको २२ वर्षअघि अमेरिकामा ओपन हार्ट शल्यक्रिया भएको थियो। केही समयपहिले नर्भिकमै कोरोनरी एन्जियोग्रामसमेत गरिएको थियो। उनी लामो समयदेखि नर्भिककै चिकित्सकको नियामित निगरानीमा छन्। उनलाई उच्च रक्तचापको समस्या पनि छ।
थापा साढे पाँच दशकदेखि राजनीतिमा सक्रिय छन्।

थापालाई स्वास्थ्यलाभको कामना गर्न पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, रामचन्द्र पौडेललगायत नेता अस्पताल पुगेका थिए।

कार्डियाक एरेस्ट र पेसमेकर

मुटु धड्कनका लागि मुटुमा विद्युतीय करेन्ट निस्कनुपर्ने हुन्छ। जुन साधारणतया साइनस नोडबाट निस्केको विद्युतीय करेन्ट अरिकल र भेन्ट्रिकलको बीचमा रहेको ए.भी नोड हुँदै भेन्ट्रिकलमा प्रवेश गर्छ र मुटु धड्कन्छ। कार्डियाक एरेस्ट हुँदा मुटु धडि्कन छाड्छ र थरर काँपेजस्तो हुन्छ। पेसमेकर धातुको सानो यन्त्र हो जसमा ब्याट्री र विद्युतीय सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निकाली मुटुको कोठासम्म पुर्‍याउन सम्भव बनाइएको हुन्छ। यो धातुको यन्त्र सानो कम्प्युटरजस्तो हुन्छ जसले मुटुको धड्कन पहिचान र निगरानी गरेको हुन्छ। मुटुको धड्कन कम हुँदा पेसमेकरले तुरुन्त थाहा पाउँछ र पूर्व निर्धारित गतिमा विद्युतीय करेन्ट निकाल्छ। मुटु सोहीअनुरुप धड्कन्छ। आफ्नै मुटुको धड्कन ठिक भएको अवस्थामा पेसमेकर चुप लागेर बस्छ।

प्रकाशित: २७ जेष्ठ २०६९ २१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App