१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विकासका लागि तीनैको सहकार्य आवश्यकः मुख्यमन्त्री पौडेल

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणलाई गति दिन तीनै तहका सरकारविच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । प्रदेश राजधानी हेटौंडामा बुधबार हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभा बैठकको उद्घाटन गरेपछि उनले जनताले देखिनेगरी विकास गर्न सवै सरकार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।

‘प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा जनतालाई विकासको पूर्वाधारबाट दीगो लाभ पुग्ने योजना तर्जूमा गर्ने वातावरण तयार गर्नुपर्दछ,’ उनले भने, ‘विकास निर्माणमा सहकार्य गरी काम गर्न स्थानीय तहहरुलाई आग्रह गर्दछु ।’

कोरोना भाइरस(कोभिड–१९)का कारण ठुलो चुनौती देशभित्रै रोजगारी घट्ने र विदेशबाट युवा फर्किने अवस्था भएकाले स्थानीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ । ‘वैदेशिक रोजगारीबाट फर्किएका युवालाई रोजगारीका लागि वैकल्पिक आयआर्जनको कार्यक्रम ल्याउन सबै जनप्रतिनिधिलाई आग्रह गर्दछु,’ उनले भने ।

हेटौंडा उपमहानगरपालिका जस्तै स्थानीय सरकारहरुले पाएको अधिकार र अवसरलाई कार्यान्वयन चरणमा लैजानुपर्ने भन्दै उनले नीति तथा कार्यक्रम राम्रा भएपनि कार्यान्वयन महत्वपुर्ण भएकोमा जोड दिए । ‘हेटौंडा अस्पतालको स्तरोन्नतीको लागि प्रदेश सरकार र उपमहानगरपालिकाको सहकार्य अति आवश्यक रहेको छ,’ उनले भने ।

हेटौंडाले कोरोनाबाट मृत्यु भएमा ३ लाख दिने

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)बाट मृत्यु भएका परिवारलाई ३ लाख रुपैंया राहत दिईने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभा बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर मीना लामाले कोरोना पीडित परिवारलाई राहतसहितको बजेट ल्याएको बताईन् ।

त्यस्तै, कोरोना उपचार कोषका लागि २ करोड ५० लाख रुपैंया विनियोजित बजेटमा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरणका लागि १ करोड ३ लाख रुपैंया विनियोजन भएको छ ।

बैठकले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंयाको बजेट पारित गरेको छ । कोरोना कहरका कारण वागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको बजेट चालु आर्थिक वर्षको भन्दा केही घटेर ल्याईएको छ । कोरोना भाइरस र लकडाउनका कारण उपमहानगरपालिकाको आन्तरिक आयमा कमी आएकाले बजेट घटाउनु परेको मेयर हरिबहादुर महतले बताए ।

‘बजेटमा पुर्वाधार विकासतर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार विनियोजित छ,’ उपमेयर लामाले भनिन्, ‘त्यस्तै, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ ३ करोड ५४ लाख विनियोजन गरिएको छ ।’

उपमहानगरले आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैंया, राजश्व बाँडफाँडबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभई बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैंयाबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ ।

बजेटमा खेल मैदान निर्माणका लागि २ करोड ५० लाख, विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २ करोड ३५ लाख, , शहरी स्वास्थ्य केन्द्रका लागि १ करोड ८५ लाख रुपैंया विनियोजन भएको छ ।

प्रकाशित: १० असार २०७७ १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App