९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

फागुनसम्म कोरोना नियन्त्रणमा आउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले आगामी फागुनसम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताएका छन्।  राष्ट्रियसभाको विहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले फागुन सम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताए। उनले श्रावण महिनाको अन्त्य तिर कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्ने र त्यसपछि आरोलो लाग्ने बताए। उनले दशै तिहार र छठ जस्ता चाडले संक्रमण बढाउने खतरा रहेकाले मंसिर महिना पछि फेरी संक्रमणको दर बढ्ने भएकाले पूर्ण नियन्त्रणमा आउन फागुनसम्म लाग्ने बताए।  

उनले भने “श्रावणको अन्त्यसम्ममा यसको पिक हुन सक्ने अनुमान गर्न सक्छौ। अथवा भदौको सुरु तिर। यो त्यसपछि आरालो लाग्छ। र हामी यसलाई क्रमश नियन्त्रण गर्न सक्छौ। अर्को कुरा हाम्रा आनीबानी, हाम्रा संस्कार पनि बुझ्नुपर्यो। दशै तिहार र छठ जस्ता चाडले फेरी संक्रमण बढाउँछन् भन्ने पनि अवस्था छ। त्यसकारण यो खतराबाट हामी कति जोगिन सक्छौ ? भोली यो खतराले फेरी हाम्रो ग्राफ बढाईदियो भने मंसिरमा फेरी अलिकति मास्तिर जान सक्छ। र मंसिरको अन्त्य तिरबाट हामीले फेरी त्यस ग्राफलाई तल लान सक्छौ। र पुस माघ सम्ममा हामी यसलाई नियन्त्रण गर्न सक्छौ । फागुनको महिना संभवत नियन्त्रणको महिना हुन्छ। ”

कोरोनाको आतंकले मान्छेलाई डिप्रेशनमा लैजान सक्ने भएकाले आतंकित नभई सर्तक हुन पनि उनले आग्रह गरे। उनले लकडाउनको समयमा आत्महत्याका घटना बढ्नुमा कोरोनाको योगदान रहेको टिप्पणी गरे।

उनले भने “कोरोनाले छोयो भन्ने वित्तिकै मर्छु। अब गएँ म भन्ने हो भने त बाँच्छ भन्न गाह्रो हुन्छ।  कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो। लागिहाल्यो भने हाछ्यु साछ्यु गर्नुपर्छ। तातोपानी खानुपर्छ। उडाईदिनुपर्छ। त्यो हिसाबले सोच्नुपर्छ। उच्च मनोबल राख्नुपर्छ। त्यो भयो भने कारोनाले लान सक्दैन लागिहाल्यो भने पनि। ”

उहाँले उपचार विधि र प्रतिरोध क्षमता आदिको कारणले कोरोनाका कारण निधन हुनेको संख्या निकै कम भएको र संक्रमणको दर पनि अन्य  देशको तुलनामा नेपालको स्थिति राम्रो रहेको बताए। उनले नेपालमा प्रति १० लाखमा ० दशमलब ७ प्रतिशत संक्रमित रहको बताए। उनले संक्रमितहरु बढ्दै गएको देखिए पनि समुदायमा संक्रमण कमी नै रहेको बताए।  

विदेशमा रहेका नेपालीलाई ल्याउन सजिलो नभएको भन्दै उनले हल्लाका पछाडि नलाग्न आग्रह गरे।  

 

प्रकाशित: ४ असार २०७७ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App