९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध कांग्रेस सडकमा उत्रने

क्याप्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा उत्रिने भएको छ। कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल भएको निष्कर्ष निकाल्दै कांग्रेसले सडकबाटै सरकारलाई खबरदारी गर्न लागेको हो।

सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, असक्षमताले देशभरि संक्रमण फैलिएको निष्कर्ष निकाल्दै कांग्रेसले पार्टीका सबै तह र निकायबाट विशेष ज्ञापनपत्र बुझाउन लागेको हो। मुलुक रोग र भोकबाट फसिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको ठहर कांग्रेसले गरेको छ। सामाजिक दूरी कायम राख्दै कांग्रेसले मंगलबार केन्द्र, प्रदेश, जिल्ला र विदेशमा रहेका जनसम्पर्क समितिमार्फत कोरोना रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउन लागेको हो।

मुलुकमा कोरोना फैलिरहेको सन्दर्भमा सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचारविरुद्ध स्वदेश र विदेशबाट मंगलबार एकसाथ सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र विशेष ज्ञापनपत्र बुझाउने भएको हो। ‘कोरोना नियन्त्रण गर्न सरकार असफल भयो। हामीले यो महामारीको विषयलाई सदनभित्र र बाहिर गम्भीर रूपमा उठाउँछौं,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘सरकार विगतका गल्ती सच्याएर अघि बढोस् भन्ने हाम्रो चाहना छ। सुध्रिएन भने थप कार्यक्रम बनाएर अघि बढ्छौं।’

कुशासन, गैरजिम्मेवार र भ्रष्टाचारमा लिप्त सरकारलाई जिम्मवार र जवाफदेही बनाउन कांग्रेस लागिपरेको जनाउँदै उनले भने, ‘आवश्यकताअनुसार सडकदेखि सदनसम्म आन्दोलन गर्नेछौं।’ प्रतिपक्षीका रूपमा कांग्रेसको भूमिका प्रभावकारी नभएको भन्दै सर्वत्र आलोचना भइरहेको छ। सरकारलाई खबरदारी गर्न सडकमा आएका युवाको आवाजलाई सम्बोधन गर्नुको साटो दमनको नीति लिएको जनाउँदै कांग्रेसले नागरिकको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग नगर्न भनेको छ।

अहिले पनि आरडिटी बन्द गरी आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पिसिआर परीक्षणलाई व्यापक रूपमा विस्तार गर्न माग गर्दै असुरक्षित क्वारेन्टाइन बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको व्यवस्था गर्न माग गरेको छ। ‘खाद्यान्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका आमश्रमिक, दैनिक ज्यालादारीमा निर्भर श्रमिक, सहर केन्द्रीत स्थानहरूमा डेरा गरी बसेका विद्यार्थी, एकल महिला, अपांगता र अशक्त नागरिक, बालबालिका तथा ज्येष्ठ नागरिक तथा आमनागरिकको न्यूनतम आवश्यकता पूर्ति गर्न जीवन निर्वाह गर्ने आर्थिक प्याकेजको व्यवस्था गरियोस्,’ कांग्रेसले भनेको छ।

प्रकाशित: २ असार २०७७ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App