१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरिता गिरीलाई कारबाही गर्ने निष्कर्षमा पूर्वसमाजवादी

तत्कालीन समाजवादी पार्टीका नेताहरू सरिता गिरीलाई कारबाही गर्ने निष्कर्षमा पुगेका छन् । पार्टीको नीतिविपरीत संविधान संशोधनमा संशोधन प्रस्ताव दर्ता गरेपछि पूर्वसमाजवादीका नेताहरू गिरीसँग आक्रोशित भएका हुन् ।

७२ घण्टाभित्र गिरीले संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने निष्कर्षमा पार्टी पुगेको तत्कालीन समाजवादीका महासचिव तथा जनता समाजवादी पार्टीका नेता रामशाह यादवले बताए । उनले भने, ‘हामी ७२ घण्टा पर्खन्छौं । ७२ घण्टाभित्र प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने निष्कर्षमा हामी पुगेका छौं ।’

बुधबार नै संशोधन प्रस्ताव फिर्ता गराउन तत्कालीन समाजवादीका अध्यक्ष उपेन्द्र यादवले गिरीलाई सम्पर्क गर्ने प्रयास गरेका थिए । तर गिरी बुधबार दिनभर यादवसँग सम्पर्कमा आइनन् । गिरी सम्पर्कमा नआएपछि यादवले पार्टीका पूर्वमहासचिव रामसहाय यादव, प्रमुख सचेतक उमाशंकर अरगरैया तथा प्रदीप यादवलाई गिरीको निवासमा पठाएका थिए ।  

गिरीलाई तत्काल कारबाही गर्न तत्कालीन समाजवादीका नेताहरूले मात्र नभई तत्कालीन राजपाका नेताहरूले समेत दबाब दिइरहेका छन् ।

बुधबार साँझ रामसहाय, प्रदीप तथा अरगरैया गिरीको निवासमा पुगी उनलाई पार्टीको पत्र बुझाएका थिए । पत्रमा संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्न पार्टी बाध्य हुने ब्यहोरा लेखिएको छ । ‘हामी आफैं उहाँ (गिरी) को निवासमा गई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं,’ अरगरैयाले भने, ‘फिर्ता नलिए कारबाही गर्ने व्यहोरासहितको चिठी पनि बुझाएका छौ ।’  

गिरीको निवासमा पुगेका एक नेता भन्छन्, ‘तत्कालीन पार्टीका महासचिव आफैं घरमा गई प्रस्ताव फिर्ता लिन आग्रह गर्दासमेत उहाँ (गिरी) ले प्रस्ताव फिर्ता नलिने कुरा गर्नुभयो ।’

गिरीले उल्टै पार्टीका नेताहरूसँग संसदीय दलको बैठक बोलाउन आग्रह गरेको उल्लेख गर्दै ती नेताले भने, ‘उहाँले म प्रस्ताव फिर्ता लिन्नँ । मैले जे भन्नुपर्ने हो संसदीय दलको बैठकमा भन्छु भन्नुभयो ।’

तत्कालीन समाजवादीको संसदीय दलले संविधान संशोधन प्रस्तावमा मतदान गर्नुअघि आफ्ना सांसदहरूलाई पार्टीको हिप जारी गर्न दलको बैठक बोलाउने भएको छ । ‘७२ घण्टासम्म पनि प्रस्ताव फिर्ता नलिएमा दलको बैठकअघि नै कारबाही गर्ने या दलको बैठकमा कुरा राख्न दिने भन्ने बारेमा छलफल गरी टुंगो लगाउछौं,’ रामसहायले भने । गिरीले संशोधन प्रस्ताव दर्ता गरेपछि बुधबार दिउँसो पार्टी अध्यक्ष यादवले तत्कालीन समाजवादीका पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएका थिए । 

यादवले बाबुराम भट्टराई तथा रेणु यादवसँग पनि सम्पर्क गरेका थिए । अनौपचारिक बैठकमा सहभागी सबै नेताहरूले गिरीलाई कारबाही गर्न सुझाव दिएको स्रोतको भनाइ छ । पार्टीका नेताहरूको सुझावपछि यादवले गिरीलाई टेलिफोन गरेका थिए तर गिरी यादवसँग फोन सम्पर्कमा आइनन् ।

गिरीसँग सम्पर्क गरेका पार्टीका अर्का एक नेता भन्छन, ‘अहिलेसम्म उहाँ (गिरी) संशोधन प्रस्ताव फिर्ता लिन मुडमा देखिनुभएको छैन । मलाई पहिले नै किन नभनेको भनी उल्टै पार्टीका नेताहरूलाई प्रश्न गर्नुहुन्छ ।’

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी निर्माण भए पनि दुवै पार्टीका संसदीय दल अलग–अलग छन् । स्रोत भन्छ, ‘गिरीलाई तत्काल कारबाही गर्न तत्कालीन समाजवादीका नेताहरूले मात्र नभई तत्कालीन राजपाका नेताहरूले समेत यादव तथा भट्टराईलाई दबाब दिइरहेका छन् ।’

प्रकाशित: ३० जेष्ठ २०७७ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App