१ श्रावण २०७७ बिहीबार
राजनीति

नेपालको उत्तरी सीमा देखाउने १८५० को त्यो नक्सा

सन् १८५० मै नेपाली पक्षबाट लिम्पियाधुरादेखिको भूभाग समेटिएको नक्सा बेलायतमा प्रकाशित भएको थियो।

उत्तरी सीमारेखा देखाउने इलस्ट्रेटेड लन्डन न्युजमा प्रकाशित नक्सा ।

लामो समयसम्म नेपालले आफ्नो सबैभन्दा सुदूरपश्चिम भूभाग नक्सामा नराखेका कारण छिमेकीलाई त्यो अमूल्य भूभाग हडप्न सजिलो भएको हो। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत जाँदा सन् १८५० मै नेपाली पक्षबाट लिम्पियाधुरादेखिको भूभाग समेटिएको नक्सा बेलायतमा प्रकाशित भएको थियो।

भारतसँगै सम्पूर्ण नेपाल र तिब्बत प्रान्तको दक्षिणी भूभागसमेत समेटिने गरी बेलायतबाट प्रकाशित विभिन्न नक्सामा नेपालको पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मको सम्पूर्ण उत्तरी भूभागको ठूलो हिस्सा नेपाली सीमाबाहिर पारिँदै आएको थियो। यो कुनै त्रुटि नभएर स्पष्ट रुपमा नियोजित भएको नेपाल सरकारलाई पूर्ण जानकारी थियो।

तसर्थ, जंगबहादुरको बेलायत भ्रमण निश्चित हुनुअघिदेखि लेफ्टिनेन्ट लालसिंह खत्रीको नेतृत्वमा उत्तरी सीमा नापी सर्वेक्षण गर्न पठाइयो। यो सर्वेक्षण र पुराना सर्वेक्षण समेटेर नेपालको उत्तर सीमा रेखांकन गरिएको नक्सा तयारी गरिएको थियो।

सन् १८५० अप्रिल ७ मा कलकत्ताको हुग्ली नदीस्थित बन्दरगाहबाट जंगबहादुर र उनको टोली बेलायततर्फ प्रस्थान ग-यो।  भ्रमण दल २५ मेमा बेलायतको साउथाम्प्टन बन्दरगाह पुगेको थियो।  त्यसको भोलिपल्ट राति नेपाली टोली साउथाम्प्टनबाट दुई घण्टा रेल चढी लन्डन पुग्यो। उक्त भ्रमण दलमा उत्तरी सीमांकनमा संलग्न लेफ्टिनेन्ट खत्री पनि सम्मिलित थिए। लन्डन पुगेको केही दिनभित्रै अंग्रेजी लेख्न र बोल्न निपूर्ण खत्री नक्सासम्बन्धी त्रुटि सच्याउने कार्यमा जुटे।

लन्डनस्थित इस्ट इन्डिया कम्पनीको मुख्य कार्यालय ‘इन्डिया हाउस’ मा विशाल लाइब्रेरी थियो। त्यहाँ खत्रीले एकपछि अर्को गरी भारतका नक्सा टेबलमा  फैलाए।  प्रतिष्ठित नक्सा कम्पनीहरुले सबैभन्दापछि निकालेका नक्सामा पनि नेपालको उत्तरी सीमामा त्यही त्रुटि कायम भएको उनले देखे। केही प्रतिष्ठित नक्सा कम्पनीले निकालेका नक्सामा कालीदेखि नजिकका भूभाग नेपालमै पारिए पनि बाँकी उत्तरी भूभाग भने तिब्बततिर पारिएको थियो। कालीपारि कुमाउको आधिकारिक नक्सामा भने सन् १८१९ देखि नेपालको डोटीभन्दा माथिको भूभाग कुमाउ र तिब्बततिर पारिएको थियो।

भवितव्यले  ‘रोयल जियोग्राफिक सोसाइटी’ को त्यस वर्षको समापन बैठक जुन १० मा हुँदै थियो। बेलायतका सबैभन्दा आधिकारिक भूगोलबेत्ताहरू सोसाइटीका सदस्य थिए। त्यसै दिन उनीहरु सामु  खत्रीले तयार पारेको रिसर्च पेपर प्रस्तुत गरियो। पेपरको शीर्षक थियो– सम इन्फरमेसन अन दी नर्दन फ्रन्टियर अफ नेपाल (नेपालको उत्तरी सीमासम्बन्धी केही जानकारी)।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत जाँदा सन् १८५० मै नेपाली पक्षबाट लिम्पियाधुरादेखिको भूभाग समेटिएको नक्सा बेलायतमा प्रकाशित भएको थियो।

खत्रीको पेपर अनुसार नेपालको उत्तरी क्षेत्रको सीमा पर्खाल गलत तरिकाले नक्सामा उतारिएको छ र अझ उत्तरतिर सारिनुपर्छ, अहिलेको जुन रेखांकन छ त्यसले नक्सामा देखाइएको गोसाइस्थानको सिमाना छोड्नुपर्छ र उक्त क्षेत्रका हिउँ ढाकिएका मुख्य शृंखलाका दुवै साइडका भिरालो पाखाहरु नेपालको अभिन्न अंग हुन्। मुस्ताङसहित सिमाना त्यसपछि हिमालको उत्तरतिरको धुराहरुसँग समानान्तर गएको छ। मुस्ताङ धौलागिरिको फेदीबाट ३० मिल पर छ र धेरै संख्यामा तीर्थयात्री मेला लाग्ने स्थान हो।  मुस्ताङबाट सीमारेखा पश्चिमतिर निरन्तर गएको हुनुपर्छ। त्यसले हुम्ला उपत्यकालाई समेट्नु पर्छ। नेपालको पश्चिमी क्षेत्र भएर जाने घाग्राको मुहान यसमा समेटिनुपर्छ।

आफ्ना बुँदाबारे बुझाउन मुस्ताङलाई ‘प्वाइन्ट अफ रेफरेन्स’ को रुपमा लिएका थिए खत्रीले। कतिपय अंग्रेज अन्वेषकसमेत मुस्ताङसँग परिचित थिए। भवितव्यले टोली लन्डन पुग्दा एक अत्यन्त महŒवपूर्ण व्यक्ति त्यहीं थिए। ती व्यक्ति थिए– इस्ट इन्डिया कम्पनी सरकारको अफिसर क्याप्टेन रिचार्ड स्ट्राचे।  रिचार्ड स्ट्राचे मानसरोवरसम्म पुगेका थिए। उनले नेपालको सुदूर उत्तर पश्चिमी भूभाग सर्वेक्षण गरेका थिए। उनका दाइ हेनरी स्ट्राचेले सन् १८४६ मा कालीलाई कुती यान्क्दी नाम दिएका थिए, अनि लिपुलेकबाट आउने खोला कालीको स्रोत हो।  

बैठकमा रिचार्डपनि उपस्थित थिए। खत्रीले औंल्याएका तथ्यमाथि उनलेसमेत मन्तव्य दिएका थिए। हाम्रो नक्साहरुमा नेपाल सीमाक्षेत्रको प्रस्तावित परिवर्तन अत्यधिक रुपमा सही हुनेछ भन्नेमा उन (रिचार्ड स्ट्राचे) कुनै सन्देह  थिएन। उनले निरीक्षण गरेको हिमालयको भागबाट आंकलन गर्दा मिलम र निली जस्तै मुस्ताङ अवस्थित रहेको हुनुपर्ने भन्नेमा उनी निश्चित जस्तै थिए। दुवै (मिलम र निली) समीपमा रहेका ठूला हिमशृंखलाको हदैसम्म उत्तरतिर छन्।

हिमालय शृंखलाको जलाधार क्षेत्र जो तिब्बत र बेलायती हिमालय प्रान्तहरुको साँच्चिकै प्राकृतिक सिमाना हो। ठूलाठूला हिम शृंखलाको लाइनभन्दा २० अथवा ३० मिल अझ बढी छ र नेपालमा त्यही चिज सम्भवतः लागु हुन्छ।  

 रिचार्डले बैठकमा उपस्थितहरुलाई भारत–तिब्बती सीमाक्षेत्रमा आफूले सर्वेक्षणपछि गरेका परिवर्तनहरु नक्सामा देखाएका थिए। आफू नेपाल–तिब्बत सीमा क्षेत्रमा गएकोबारे भने उनले केही बताएनन्।

त्यस्तै बैठकमा शाम्पो नदी नेपालको सिमानाको नजिकै समानान्तार भएर बगेको प्रमाण पनि देखाइएको थियो। बैटकमा उपस्थितले ताली पिटी खत्रीलाई सम्मान गरेका थिए।

त्यो दिनको नेपाल विषयको कारबाही भाग ‘अन दी नर्थन फ्रन्टियर अफ नेपाल,’ शीर्षकमा ‘जर्नल अफ रोयल जियोग्राफिकल सोसायटी अफ लनडन’ मा प्रकाशित भएको थियो। त्यस्तै, जुलाई ४ को लन्डनबाट प्रकाशित हुने बेलायत साम्राज्यको सबैभन्दा प्रमुख  दैनिकी ‘दी टाइम्स’ मा पनि यस विषयको समाचार छापियो।

लन्डनबाट प्रकाशित हुने प्रसिद्ध साप्ताहिक ‘इलस्ट्रेटेड लन्डन न्युज’ को  जुलाई २४ संस्करणमा खत्रीको सम्पादकलाई चिठी यसरी प्रकाशित भएको थियो।  

बेलायतमा प्रकाशन भएका भारतको नक्साहरुमा नेपालको भूभाग कसरी उतारिएको छ मैले यो देशमा आएपछि हेर्ने मौका पाए। उनीहरुले जो नेपालको उत्तरी सीमारेखा देखाएका छन्, त्यो सरासर गलत छ। जसले म अत्यन्त आश्चर्यचकित  भएको छु। तपाईंको नक्साहरुले उतारेको भन्दा त्यसको लाइन उत्तरतिर धेरै अगाडि कोरिनुपर्छ। तपाईंको नक्सामा भएका गल्ती सच्याउन जो मैले चाहेको छु र यसका साथ संलग्न नक्सामा जुन मैले रेखांकन गरेको छु, तपाईंले तपाईंको अत्यन्त लोकप्रिय पत्रिकाको माध्यमबाट जानकारी दिलाउन सक्नुहुन्छ भने म अत्यन्त आभारी हुनेछु । हिमालयतिरको हाम्रो सिमानाको अन्तिम कुनासम्म अहिलेसम्म कुनै पनि अंग्रेज सरभेयर नपुगेको, र म आफू स्वयं हाम्रो नक्सा मापनका लागि सर्वेक्षण गर्न त्यहाँ बराबर गइरहेको हुनाले यो गल्ती सच्याउन म अत्यन्त चिन्तित छु।  

तपाईको,

लेफ्टिनेन्ट लालसिंह खत्री

नेपाल अफिसर

‘इलस्ट्रेटेड लन्डन न्युज’ मा खत्रीको चिठीसँगै नेपालको ‘स्केलेटल’ अथवा ‘बाहिरी ढाँचा’ रेखांकन गरिएको नक्सा पनि संलग्न थियो। नक्सामा बेलायतबाट प्रकाशित भएका सबैभन्दा सर्वोत्तम नक्साहरुमा रेखांकन गरिएका नेपालको उत्तरी सीमारेखा र खत्रीको सुझाव अनुसार त्यस सीमारेखालाई अझ धेरै पर उत्तरमा कोरेर बनाइएको अर्को सीमा चित्रण गरिएको थियो।  ( रेग्मीको प्रकाशोन्मुख पुस्तकमा आधारित)

प्रकाशित: २४ जेष्ठ २०७७ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App