१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मालपोत अधिकृतको भ्रष्टाचार कर्तुत: साली र जेठानका नाममा समेत अवैध सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड २७ लाख रुपैयाँ भन्दा बढी गैह्रकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकाल विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।  

खरिदारबाट निजामति सेवा प्रवेश गरेका ढकालले हालसम्म आर्जन गरेको १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध मुद्धा दायर गरिएको हो। अख्तियारले उनीसँगै श्रीमती सिर्जना अर्याल ढकाल, सम्पत्ति लुकाउन सहयोग गर्ने जेठान नाताका नवराज अर्याल समेतलाई प्रतिवादी कायम गरि मुद्धा दायर गरेको छ।  

निजामति सेवा प्रवेशपछिको अधिकांश कार्यकाल मालपोत कार्यालयहरुमा विताएका ढकालले भ्रष्टाचार गरेर आफ्ना टाढाका तानेदारका नाउँमा समेत अकुत सम्पत्ति लुकाएको भेटिएको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनले आफु र आफ्ना परिवारका सदस्यहरुको नाममा विभिन्न बैंकमा सन्चालित खाताहरुमा खासै कारोवार गरेको नदेखाई नातेदारको नाउँमा बैंक खाता सन्चालन गरेको, गाडी खरिद गरेको पाइएको हो।  

‘सार्वजनिक सेवामा प्रवेश गरेपछि आफु र परिवारका सदस्यका नाउँमा सन्चालित बैंक खाताहरुमा खासै कारोबार नदेखाएपनि साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको पाइयो,’ अख्तियारका प्रवक्ता कोइरालाले भने ‘अवैध कारोवारलाई लुकाउने उदेश्यले उनले हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालयका नाममा जनता बैंकमा नयाँ खाता खोली रकम जम्मा गरेको भेटिएको छ।’ अख्तियारका अनुसार ढकालले जेठानको नाममा खाता खोलेकै दिन खाता सन्चालकबाट सन्चालनको अनुमति लिई आफु अनुकुलका व्यक्तिहरुबाट समेत पैसा सम्मा गराएका थिए। उनले खातामा मौज्दात रकमबाट आफुले खरिद गरेका जग्गाको कारोबारसँग सम्वन्धित व्यक्तिहरुलाई भुक्तानी तथा खर्च लगानी गर्न उक्त खाताबाट ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ विभिन्न शीर्षकहरुमा खर्च समेत गरेका थिए।  

अख्तियारका अनुसार २०५५ सालमा खरिदार पदमा निजामति सेवा प्रवेश गरेका ढकाल नायव सुव्वा, हाल शाखा अधिकृत हुँदासम्म तनहुँ, कास्की, पर्सा, काठमाडौं, ललितपुर लगायतका जिल्लाहरुमा मालपोत कार्यालयमा कार्यरत थिए। उनले सोही अवधीमा विभिन्न अनियमितता गरि सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ।  

ढकालले तनहुँ जिल्ला स्थित मालपोत कार्यालयमा रहँदा आयश्रोत बढाउन सोही जिल्लावासी डेकबहादुर गुरुङलाई प्रभावमा पारेर उनी र उनको श्रीमती समेतको नाममा दर्ता कायम रहेका जग्गाहरु खरिद विक्रि कारोबारनै नगरी न्युनत्तम मूल्य तिरेर आफ्नो नाममा ल्याउने र महँगो मूल्यमा बेचेको देखाएका थिए। जसअनुसार उनले १ लाख ९७ हजार रुपैयाँ लगानी गरेको र १ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको देखाएका थिए।  

सेवा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको अवधीमा ढकाल र उनकी श्रीमती सिर्जना अर्याल ढकालले घरजग्गा खरिदमा ४ करोड ५४ लाख १७ हजार २ सय ४४ रुपैयाँ, घर निर्माण र फर्निचर लगायत उपकरणमा १ करोड १ लाख ५३ हजार ८१ रुपैयाँ, पूँजिगत लाभ तथा आयकर ७ लाख ९० हजार १ सय ३० रुपैयाँ, बैंक तथा वित्तिय संस्थाको साधारण तथा संस्थापक शेयर खरिदमा १ करोड ११ लाख ४६ हजार ७ सय १ रुपैयाँ, सन्ततीको अध्ययनमा १ लाख ६० हजार रुपैयाँ, जीवन विमा प्रिमियम शुल्कमा ९ लाख २४ हजार ६ सय ४० रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ। त्यसैगरि बैंक तथा वित्तिय संस्थाहरुमा कर्जा चुक्तामा ६४ लाख ६३ हजार ५ सय ११ रुपैयाँ, सवारी साधन खरिदमा २८ लाख २२ हजार ७ सय रुपैयाँ, सुन खरिदमा १७ हजार ३ सय रुपैयाँ, सरसापट व्यवहारमा २० लाख रुपैयाँ र जेठान नाता पर्ने नवराज अर्यालयको नाममा बैंक खाता खोली खाता प्रयोग गर्ने अधिकार आफुले लिई स्रोत नखुलेको मौज्दात रकमबाट ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ, साथमा रहेको नगद समेत २ करोड २४ लाख २६ हजार ६ सय ८९ रुपैयाँ विदेश भ्रमणमा ९२ हजार ३ सय रुपैयाँ, बैंकमा जम्मा रकम २ लाख ६८ हजार ९ सय ८ रुपैयाँ गरि जाँचअवधीमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा उनले १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ।  

सोही अवधीमा ढकालले पारिश्रमिक तलव एवं विभिन्न अतिरिक्त भत्ता लगायतका बचतआयबाट ४९ लाख ४४ हजार १ सय ६० रुपैयाँ, श्रीमती सिर्जना अर्याल ढकालको पारिश्रमीक बचत आय ७७ हजार ३ सय ६७, बैदेशिक बचत आय १ लाख रुपैयाँ, कर्मचारी सन्चय कोषबाट लिएको कर्जा ६८ लाख ९१ हजार ७ सय ५१ रुपैयाँ, घर विक्रिबाट १ करोड १५ लाख रुपैयाँ, जग्गा विक्रिबाट १ करोड ८ लाख ६७ हजार २ सय रुपैयाँ, शेयर विक्रिबाट ६ लाख ९९ हजार २ सय ३० रुपैयाँ, सवारी साधन विक्रिबाट १२ लाख ९६ हजार रुपैयाँ र कृषी आयमा १ लाख २ सय ७४ रुपैयाँ गरि चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ आय आर्जन गरिएको देखिएको छ।  

अख्तियारका प्रवक्ता कोइरालाले उक्त अवधीमा स्रोत पुष्टी हुने आय चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ र सम्पत्ति १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँ देखिएको हुँदा स्रोत नखुलेको १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ भ्रष्टाचार गरि आर्जन गरेको पाइएको बताए। अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरि आर्जन गरिएको गैह्रकानूनी सम्पत्ति जफत र हदैसम्मको सजायँको माग समेत गरेको छ।

 

 

प्रकाशित: २० जेष्ठ २०७७ १३:०१ मंगलबार

भ्रष्टाचार मालपोत