७ वैशाख २०८१ शुक्रबार
राजनीति

बजेट कार्यान्वयनमा जोड दिन आग्रह

राष्ट्रियसभाको आजको बैठकमा सांसदले कोभिड–१९ को संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा परेका सन्दर्भमा आर्थिक वर्ष २०७७/०७८ को बजेट समय सान्दर्भिक भएको र यसको कार्यान्वयनको पाटोमा जोड दिन आग्रह गरेका छन्    ।

बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवेन्द्र दाहालले कोभिड–१९ का कारण स्वास्थ्य संकटबाट उत्पादन, व्यापार र लगानीसम्मको शृंखला प्रभावित भई विश्व अर्थतन्त्रमै संकुचन आउनेतर्फ बजेटले सबैलाई सचेत गराएको टिप्पणी गरे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते र १४ खर्ब ७४ अर्ब ६४ करोडबराबरको आव २०७७/०७८ को बजेट प्रस्तुत गरेका थिए । सभामा बजेटमाथि आइतबारदेखि दलीय आधारमा सामान्य छलफल भइरहेको छ । अर्थमन्त्री डा. खतिवडाले आजै बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै दिएका छन् ।

नेकपाका सुमनराज प्याकुरेलले कोभिड–१९ रोकथाम, वृद्धाभत्तालाई निरन्तरता, उद्योग सञ्चालन, सहकारी खेतीलगायतमा जोड दिइएकाले  बजेट उत्कृष्ट रहेको बताए । उनले भने, ‘सरकारले प्रस्तुत गरेको बजेटले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगारीका लागि सहयोग पुर्‍याएको छ । त्यसैगरी तराई–मधेसलाई पनि बजेटले राम्रोसँग सम्बोधन गरेको छ, यी सकारात्मक पक्षका लागि सरकारप्रति हामी आभारी छौं ।’  

नेपाली कांग्रेसका रमेशजंग रायमाझीले गत वर्षको बजेट फ्रिज भएकाले बजेट कार्यान्वयन गर्ने निकायलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

 उनले भने, ‘नेपाली जनताको आशा र भरोसाअनुसार बजेट आउन सकेको छैन । सरकारले कोभिड–१९ को समयमा  ८० करोड बराबरको राहत वितरण गरेको छ भनिएको छ, यो राहत कसले पायो ?’   

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App