१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदीय विशेष समितिको म्याद थपेको थप्यै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपा नेपालले सर्लाहीका कुमार पौडेलको हत्याको विषयमा संसदीय समिति गठन गर्न माग गर्दै निरन्तर संसद् अवरोध गरेपछि २०७६ साउन २० गते गठन भएको संसदीय विशेष समितिको म्याद थपेको थप्यै गरिएको छ ।  

३० दिनको म्याद दिएर गठित विशेष समितिका दुई÷तीनवटा मात्रै बैठक बसेका छन् । ‘सार्थक वार्ता तथा संवादमार्फत संसद्को वर्तमान गतिरोध अन्त्य गरी संसद्लाई प्रभावकारी बनाउने, फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नेबारे संविधान नियम र स्थापित परम्पराको अध्ययन गरी सुझाव दिन संसदीय समिति गठन गरिएको हो । 

नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा गठित समितिमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल गौतम, कांग्रेस सांसद मीनेन्द्र रिजाल, राजपाका सांसद लक्ष्मणलाल कर्ण, नेकपा सांसद बिन्दा पाण्डे र समाजवादीका उमाशंकर अरगरिया सदस्य छन् । बुधबारको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विशेष समितिको म्याद बर्खे  अधिवेशन (छैठौं अधिवेशन) सम्म रहने बताए । उनले भने, ‘सुवासचन्द्र नेम्वाङ नेतृत्वको अध्ययन तथा सुझाव संसदीय विशेष समितिको कार्यावधि संघीय संसद्को छैटौं अधिवेशनसम्मका लागि थप गरिएको छ ।’

बैठकमा सभामुख सापकोटाले गरेको कार्यावधि थपसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको गत असार ५ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो ।  

प्रकाशित: १४ जेष्ठ २०७७ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App