१६ चैत्र २०८० शुक्रबार
राजनीति

रुकुमको चौरजहारी घटना लज्जाजनक

रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट दलित युवाको मृत्यु भएको घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले रुकुमको चौरजहारी घटना लज्जाजनक भएको जनाएका छन्।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भेरी नदीमा हामफाल्नुपर्ने अवस्था कसरी आयो यसबारे छानबिन गर्नुपर्ने बताए। उनले यो घटनालाई अमानवीय अपराध भएको बताए। जातीय विभेद हुनु आफैंमा मानवअधिकारको हनन कार्य भएको उल्लेख गर्दै उनले भने, ‘यो अपराधलाई ढाकछोप गर्ने काम नहोस्। यो निकै गम्भीर प्रकृतिको घटना भएकाले संसदीय छानबिन हुनुपर्छ।’

कांग्रेस सांसद् मीन विश्वकर्माले अन्तर्जातीय विवाह गर्न खोज्दा दलित भएका कारण ज्यान गुमाउनुपरेको अवस्था रहेकाले सरकारले दोषीलाई कडा कारबाहीको माग गरे। जातीय भेदभाव कसुर र सजाय ऐन २०६८ पनि जारी गरिएको बताउँदै उनले यस्ता अपराधमा कानुनबमोजिम कारबाही गर्नुपर्न बताए। उनले पनि यसबारे संसदीय छानबिन गर्न माग गरे। उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरे।

कांग्रेस सांसद मीनेन्द्र रिजालले भने, ‘यो अत्यन्तै घृणित र निन्दनीय घटना हो, यसले हाम्रो समाजमा आज पनि अत्यन्तै नराम्रो रोग विद्यमान रहेको देखाउँछ, जसले घृणाको अपराध फैलाएको छ।’  

‘दलितहरूलाई मानव मानिँदैन भन्ने कुरामा संसद् एउटा बलियो ठाउँमा उभिन सकेन भने के सन्देश जान्छ सभामुख महोदय ? तपाईको पनि जिम्मा हो,’ उनले भने ‘संसद्ले सन्देश दिन आवश्यक छ कि नेपालले अब यो सहँदैन भनेर।’

नेकपाका सांसद खगराज अधिकारीले मानव सभ्यतालाई गम्भीर चुनौती दिने आपराधिक घटना भएको बताए। यस्ता अपराध कुनै पनि हालतमा दोहोरिन नदिन सरकारको प्रतिबद्धता हुनुपर्ने उल्लेख गर्दै उनले कुनै पनि राजनीतिक आग्रहबाट घटना ढाकछोप गर्न नहुने बताए। ‘गृहमन्त्रीलाई निवेदन गर्न चाहन्छु अपराध ढाकछोप गर्ने काम नगरियोस्।’

कांग्रेस सांसद् प्रकाश रसाइलीले भने यो घटनामात्रै नभएर अपराध पनि भएकाले रुकुम र जाजरकोटका संघीय संसद्को सहभागितामा संसदीय छानबिन समिति गठन गर्नुपर्छ। उनले भने ‘स्थानीय वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा घटना घटेको छ तर त्यहाँको प्रहरीले किटानी आएको छैन भनिरहेको छ। तर हामीलाई सूचना प्राप्त भएको छ कि घर–परिवारका मान्छेलाई प्रेसर गरेर मुद्दा नचलाउनू भनिएको छ।’  

कांग्रेस सांसद अमरेशकुमार सिंहले यस घटनाले दलित समुदायको अपमान भएकाले संसदीय छानबिन गर्न माग गरे। नेकपा सांसद बिन्दा पाण्डेले सत्यतथ्य छानबिन गर्नुपर्ने र बालिकामाथि पनि कुनै घटना नहोस् भनेर त्यसतर्फ पनि ध्यानदिनुपर्ने बताइन्।  

नेकपा सांसद पार्वती विसुन्खेले दलित भएकै कारण यसरी मृत्युवरण गर्नुपर्ने अवस्था आएकाले कति दलितले मर्नुपर्ने हो भन्दै दोषीलाई कारबाही गर्न माग गरिन्। उनले उच्च स्तरीय न्यायिक समिति गठनको मागसमेत गरिन्। सांसद विमला नेपालीले पनि दोषीलाई कडा कारबाही गर्न माग गरिन्।

पाँच सदस्यीय छानबिन समिति

गृहमन्त्री रामबहादुर थापाले घटनाको छानबिन गर्न गृहमन्त्रालयको सहसचिवको संयोजकत्वमा पाँच सदस्यी छानबिन समिति गठन गरेको बताए। छानबिन समितिलाई दुई हप्ताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको उनले बताए। गृहमन्त्री रामबहादुर थापाले रुकुमको जातीय हिंसामा संलग्न भनिएका वडाध्यक्षलगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पारेका छन्।  

यस घटनामा युवतीसहित उनका बुबाआमा, वडाध्यक्ष डम्बरबहादुर मल्ल, घटनामा प्रत्यक्ष संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुनमगर, रमेश मल्लसहित १२ जनालाई प्रारम्भिक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। उनले घटनाको छानबिनमा राज्यको तर्फबाट कुनै राजनीतिकरण नहुने प्रतिबद्धता पनि जनाए।

संसद्मा हंगामा

सत्तारुढ दल नेकपा सांसद जनार्दन शर्माले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई राजनीतीकरण गर्न नहुने भन्न थालेपछि कांग्रेस सांसदले आआफ्नो स्थानबाट उठेर केहीबेर सदन अवरुद्ध गरेका थिए। रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता भएको घटना विषयमा अन्य सांसदले बोलिसकेपछि गृहमन्त्रीले जवाफ दिन तयार भइरहेका बेला नेकपाका सांसद शर्माले समय मागेर बोल्न थालेका थिए।

उनले लकडाउनका बेला १८÷१९ जनाको समूह अर्को गाउँमा गएको विषयलाई पनि उल्लेख गरेका थिए। उनले घटनालाई राजनीतीकरण नगरी सत्यतथ्य छानबिन गर्नुपर्ने बताइरहेका थिए। उनले घटनासँग जोडिएका वडाध्यक्ष डम्बरबहादुर मल्लले नै प्रहरीलाई बोलाएर खबर गरेको बताएका थिए।

यसैबीच, उनको भनाइप्रति आपत्ति जनाउँदै कांग्रेसका सांसदले होहल्ला गर्न थालेका थिए। त्यसपछि नेकपाका सांसद शर्माले भने, ‘मैले मन्त्रीको जवाफ दिइरहेको छैन। मैले कुरा राख्न पाउँदिन ? म त्यहाँको जनप्रतिनिधि हुँ, म त्यस क्षेत्रका दलितको पनि प्रतिनिधि हुँ, सबैको जनप्रतिनिधि हुँ, मैले बोल्न नपाउने ? त्यहाँको सांसद भएको नाताले मैले मेरा कुरा राख्नु मेरो अधिकार हो।’  

रुकुमको चौरजहारी नगरपालिका–८ मा प्रेमिकासँग बिहे गर्न गएका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित १९ जनालाई जेठ १० गते राति गाउँलेले कुटपिट गर्दै लखेटेका थिए। सोही क्रममा मृत्यु भएका तीन जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता छन्।

प्रकाशित: १४ जेष्ठ २०७७ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App