१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोरोना असर : सबैभन्दा बढी युएईमा नेपालीले रोजगारी गुमाउँदै

कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ।  युवालाई वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययनअनुसार कोरोनाको सबभन्दा बढी असर युएईमा रहेका नेपालीमा पर्ने देखिएको हो।  

युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने सम्भावना रहेको संघले जनाएको छ। ‘कोरोनाले युएईका होटल, पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, ‘जसले गर्दा होटल, पर्यटन क्षेत्रमा काम गर्नेसहित धेरै सुरक्षा गार्डले रोजगारी गुमाएका/गुमाउँदै छन्।’  

श्रम स्वीकृति जारी भएको संख्याका आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसियामा रहेका नेपाली भने तुलनात्मक रूपमा कम प्रभावित हुने वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ।

वैदेशिक रोजगार विभागका अनुसार हाल दुबईलगायत युएईका विभिन्न सहरमा करिब ४ लाख नेपाली कार्यरत छन्। कोरोना भाइरसले महामारीको रूप लिनु अघिसम्म दुबई, आवुधावीलगायतका विमानस्थलमा ठूलो संख्यामा नेपाली, सुरक्षा गार्डका रूपमा काम गर्थे।  

युएईपछि कतार र साउदी अरेबियामा रहेका धेरै नेपाली रोजगारी गुमाएर घर फर्कने देखिएको छ। संघका अनुसार ती दुई गन्तव्य मुलुकमा रहेका करिब २०/२० प्रतिशत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किंदैछन्। कोरोना भाइरसका कारण अधिकतर मुलुकमा रहेका नेपाली रोजगारी गुमाएर फर्किने देखिएपछि आन्तरिक रोजगारी सुदृढ गर्नुपर्ने माग उठेको छ।  

खाडी मुलुकले गरिरहेको तेलको व्यापार पनि कोरोना महामारीपछि घटेकाले आफूहरूको रोजगारी प्रभावित हुने त्यहाँ रहेका नेपालीले बताएका छन्। विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर रोजगारीमा गएकामध्ये करिब २५ लाख नेपाली खाडी मुलुक र मलेसियामा छन्।  

श्रम स्वीकृति जारी भएको संख्याका आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसियामा रहेका नेपाली भने तुलनात्मक रूपमा कम प्रभावित हुने संघले जनाएको छ। ‘मलेसियामा स्वास्थ्य उपचारमा प्रयोग हुने यन्त्र, उपकरण, मास्क, पन्जा बन्ने भएकाले तुलनात्मक रूपमा कम नेपालीले रोजगारी गुमाउने देखिएको छ,’ संघले भनेको छ।  

हाल मलेसियामा करिब ५ लाख नेपाली रोजगारीमा रहेको अनुमान छ। ओमान, बहराइन, कुबेतमा रहेका करिब १० प्रतिशत नेपालीले रोजगारी गुमाउने अध्ययनबाट देखिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भने विदेशमा रहेका करिब १० लाख नेपाली रोजगारी गुमाएर फर्किने सक्ने यसअघि नै जानकारी दिइसकेको छ।  

तर सरकारी निकायसँग अझै पनि विदेशको रोजगारी गुमाएर फर्किनेको नेपालीको यकिन विवरण छैन। विदेशमा रोजगारी गुमाएका तथा आममाफी पाएका व्यक्तिले तुरुन्त घर फर्किन पाउनुपर्ने माग गरिरहेका छन्। कुबेत सरकारले २ साताअघि नै ३ हजार ५ सय नेपालीलाई आममाफी दिइसकेको छ। स्वदेश फर्किन नपाउँदा आममाफी पाएकाहरू शिविरमा बसिरहेका छन्। त्यस्तै मलेसिया, साउदीलगायत मुलुकले समेत आममाफीको योजना सार्वजनिक गरेका छन्।  

‘आफ्ना नागरिकको संरक्षण आफैं गर्नुपर्छ’

सत्तारूढ दल नेकपाका प्रवास समन्वय समिति सह–इन्चार्ज लक्ष्मण पन्तले विदेशमा नेपालीको जीवन संकटपूर्ण रहेको उल्लेख गर्दै तत्काल उद्धार गर्न माग गरेका छन्।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर आफ्ना नागरिकरको संरक्षण गर्न आग्रह गरेका हुन्। ‘सन्तानको रेखेदेख जन्म दिने आमाबुवाले नै गर्नुपर्छ,’ उनले भने, ‘जसरी आफूले जन्माएका सन्तानलाई छिमेकीले हेरिदिएन भनेर गुनासो गर्न पाइँदैन, त्यसरी नै सरकारले पनि प्रवासमा रहेका नेपालीप्रति बेवास्ता गर्न मिल्दैन।’  

उनका अनुसार भारतमा रहेका नेपाली सर्वाधिक समस्यामा छन्। ‘भारतमा रहेका कतिपय नेपालीले ह्युमपाइपमा रात कटाइरहेका छन्। कतिपय महिला हिँड्दाहिँड्दै सुत्केरी भएका छन्,’ उनले भने। निकै जोखिममा रहेका करिब १ लाख नेपालीको तुरुन्त उद्धार गर्नुपर्ने देखिएको उनले बताए।  

 

 

 

 

 

प्रकाशित: ८ जेष्ठ २०७७ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App