१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मदन–आश्रित मृत्यु प्रकरण, अनुसन्धान गर्ने नेकपाको औपचारिकता मात्रै

गत वर्ष गृहमन्त्री थापाले हत्यारालाई कानुनी दायरामा ल्याउने बताएपछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको थियो ।

तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सडक दुर्घटनामा परी निधन भएको २६ वर्ष पूरा भएको छ । महासचिव भण्डारी तथा संगठन विभाग प्रमुख आश्रितको सडक दुर्घटनामा नभई नियोजित रूपमा हत्या भएको, नेकपाका (तत्कालीन एमाले) नेताहरू बताउँदै आएका छन् । तर उनीहरूको निधन भएको २६ वर्ष पुग्दासमेत सो घटना हत्या हो वा दुर्घटना भन्ने खुल्न सकेको छैन । 

शनिबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त विज्ञप्तिमा अझै पनि यसको रहस्य पत्ता लगाउने र अन्वेषण गर्ने बताएका छन् । 

‘उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन । तर आमनेपाली जनता त्यस घटनालाई सामान्य सडक–दुर्घटना मान्न तयार छैनन्, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन्,’विज्ञप्तिमा भनिएको छ, ‘२७ औं मदन–आश्रितस्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थ गहिरो अन्वेषण गर्दै सत्य–तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।’

दुर्घटना भएको २६ वर्षमा तत्कालीन एमाले पाँच पटक सरकारमा पुगिसकेको छ भने नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्रसँग मिलेर मात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वको सरकारमा समेत सहभागी भएको छ । तत्कालीन एमालेले पटकपटक उक्त घटना छानबिन गरी यथार्थ बाहिर ल्याउने बताउँदै आएको पनि २६ वर्ष बितिसकेको छ । शुक्रबार भण्डारी तथा आश्रितको २७ औं स्मृति दिवसमा अध्यक्षद्वयले भण्डारीका विचार र आदर्शलाई अबलम्वन गर्ने बताए । 

गत वर्ष यही समयमा गृहमन्त्रीसमेत रहेका एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापाले मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या भएको बताउँदै हत्यारालाई कानुनी दायरामा ल्याउने बताएका थिए । तर यसपटक उनी चुपचाप बसेका छन् । अन्य नेताहरूले पनि सामाजिक सञ्चालनको भित्ता रंग्याएर सम्झना गर्नेबाहेक अन्य केही गरेको देखिएन । रक्षामन्त्रीसमेत रहेका पार्टीका ससचिवालय सदस्य इश्वर पोखरेलले मदननगर बल्खु पुगेर भण्डारी र आश्रितको शालिकमा माल्र्यापण गर्ने काम गरे । 

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा दुई नेताको मृत्यु भएपछि त्यसलाई हत्या भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी रहेको आन्दोलनमा उत्रिएको थियो । भण्डारी चढेको जिप दुर्घटना हुँदा चालक अमर लामा भने बाँचेका थिए । उनको पनि २०६० सालमा अज्ञात समूहद्वारा हत्या गरियो । प्रहरीले लामाकै हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । प्रहरीले लामाको हत्या तत्कालीन माओवादीले गरेको भन्दै पन्छिने गरेको छ । हालका गृहमन्त्री थापा तत्कालीन माओवादीका वरिष्ठ नेता र पार्टी एकीकरणपछिका सचिवालय सदस्य हुन् । उनले नै गत वर्ष भण्डारी र आश्रितको हत्याबारे अनुसन्धान गर्ने र हत्यारा पत्ता लगाउने बताएका थिए । तर चालक लामाको हत्याबारे भने उनी मौन छन् । 

तत्कालीन एमालेका नेताहरूले अमर लामाले कसको षडयन्त्रमा परेर जिप दुर्घटना गराए भन्दै आन्दोलनमा भएका बेला सरकारले लामालाई जेल चलान गरेपछि छानबिन तथा अनुसन्धानको पाटो टुंगियो । यद्यपि तत्कालीन सरकारले पूर्वन्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग बनायो । सो आयोगको प्रतिवेदनमा एमाले सन्तुष्ट हुन सकेन बरु आन्दोलनलाई चर्काउन पुग्यो । पछि तत्कालीन बहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा नेतृत्वयको आयोग गठन भयो । तर सो आयोगले पनि जिप दुर्घटना हो वा हत्याकाण्ड हो खुलाउन नसकेपछि एमालेले त्यसबारे छानबिन गर्न तत्कालीन स्थायी समिति सदस्य हालका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा छानबिन समिति गठन भयो । पद्मरत्न तुलाधरको संयोजनमा पनि अर्को समिति बन्यो ।

ओली तथा तुलाधर दुवै समितिले घटनालाई षड्यन्त्रमूलक हत्या भएको ठहर ग¥यो तर दुवै आयोगले षडयन्त्र कसले गरेको हो र हत्या कसले गराएको हो भन्ने यकिन खुलाएनन् । ओलीले षडयन्त्रकारीले हत्या गरेको आरोप लगाए तर उनी दुई पटक प्रधानमन्त्री, एक पटक गृहमन्त्री र एक पटक परराष्ट्र मन्त्री हुँदा त्यसबारेमा अनुसन्धान गर्न एक पटक आयोग समेत बनाएका छैनन । विज्ञप्ति निकालेर औपचारिकतामा सीमित गरिरहेका छन् । 

तत्कालीन न्यायधीश राणा आयोगको प्रतिवेदनबारे तत्कालीन एमालेका नेताहरूले खासै अध्ययन गर्न मानेनन् । ओली र तुलाधर आयोगको प्रतिवेदन कहाँ छ भन्ने समेत जानकारी नभएका पछिल्लो अवस्थामा गत वर्ष गृहमन्त्री थापाले हत्यारालाई कानुनी दायरामा ल्याउने बताएपछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न गराएको थियो । तर एक वर्षसम्म त्यसका लागि कुनै प्रक्रिया अघि बढेन ।

भण्डारी–आश्रितको निधनपछि भएको मध्यावधि निर्वाचनमा एमालेले ठूलो दलका रूपमा उदायो । २०५१ सालमा पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए । एमाले एक्लैले बनाएको सो सरकारले त्यस विषयमा अनुसन्धान गर्ने चासो दिएन । त्यसपछि पनि एमाले पटकपटक सरकारमा गयो । २०५४ मा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको एमाले २०५७ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि सामेल भयो । २०६३ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि एमाले सरकारमै थियो ।

२०६५ सालमा तत्कालीन माओवादी केन्द्रले बहुमत ल्याएपछि पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि एमाले सरकारमै थियो । २०६६ सालमा एमालेकै माधव नेपाल प्रधानमन्त्री भए भने २०६८ मा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भए । उनीहरू दुवै जना भण्डारी र आश्रितका सहकर्मी थिए । भण्डारीको मृत्युपछि नेपाल नै तत्कालीन एमालेको महासचिव भए । नेपालले १५ वर्षसम्म पार्टी सञ्चालन गरे । २०७० मा नेपाली कांगेसका सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारमा पनि एमाले सहभागी भयो । २०७२ सालमा भण्डारी र आश्रितकै सहयात्री केपी शर्मा ओली प्रधानमन्त्री भए । भण्डारी पत्नी विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भइसकेकी छिन् भने आश्रित पत्नी माया ज्ञावली सांसद छिन् । तर जति पटक सरकारमा गए पनि तत्कालीन एमाले नेतृत्वले मदन–आश्रित दुर्घटना अनुसन्धान प्रक्रिया अघि बढाउन सकेन । 

अहिले एकीकृत पार्टी नेकपाका अध्यक्ष रहेका ओली सरकारको नेतृत्वमा छन् । उनकै नेतृत्वमा रहेका गृहमन्त्री रामबहादुर थापाले गत वर्ष मदन भण्डारी र जीवराज आश्रितको हत्यारालाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु गरेको बताए । तर त्यो प्रक्रिया कहाँ पुगेको छ ? भनेर अहिले गृहमन्त्री जवाफ दिने अवस्थामा छैनन् । २६ औं मदन–आश्रितस्मृति दिवसमा गत वर्ष कोटेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन मदन–आश्रितको हत्या गराइएको बताएका थिए । हत्यारा अझै पत्ता नलागेकाले वर्तमान सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको दाबी गर्दै कानुनी दायरामा ल्याउने उनको भनाइ थियो । 

शनिबार बिहान पार्टीका दुई अध्यक्षले २७ औ मदनआश्रित स्मृतिमा जारी गरेका विज्ञप्ति पनि एउटा औपचारिकतामात्रै देखिएको छ । ओली र दाहालले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्युको यथार्थ गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि अब त्यसको प्रक्रिया के हो र सरकारले कुन माध्यमबाट अन्वेषण गर्छ भन्ने छुटाएका छन् ।

‘यी दुई लोकप्रिय नेताहरूकोे रहस्यमय दासढुंगा जिप दुर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ । 

उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन, तर आमनेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन्, २७औं मदन–आश्रितस्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थ, गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ,’उनीहरूद्वारा जारी विज्ञप्तिमा विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूका विचार र आदर्शलाई अनवरत अवलम्बन गरिरहने दृढ संकल्प गर्दछ ।’

प्रकाशित: ३ जेष्ठ २०७७ २२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App