४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुबै पक्ष आ–आफ्नै अडानमा

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थायी कमिटी बैठक बोलाउन अस्वीकार गरेका छन्। सरकार कोराना संक्रमण फैलिन नदिन लागिपरेको र मुलुक लकडाउनमा रहेको कारण देखाउँदै ओलीले तत्काल स्थायी कमिटी बैठक बोलाउन अस्वीकार गरेका हुन्। 

नेकपा सचिवालयको बुधबार साँझ बसेको  बैठकमा नेताहरुले तत्काल स्थायी कमिटी बैठक डाक्नुपर्ने धारणा राखेका थिए। बैठकमा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहले  आआफ्ना दाबी प्रस्तुत गरेका थिए। दुवै पक्षले अडान नछाडेको स्रोतको दाबी छ। 

दाहाल पक्षले विधानतः पार्टी सञ्चालन हुन नसकेकोे र नेतृत्वकै कारण सरकार बदनाम भएकाले प्रधानमन्त्री ओलीले नै निकास दिनुपर्ने बताएको थियो। कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीकै  कारण समस्या आएकाले उनले नै निकास दिनुपर्ने, स्थायी कमिटी बैठक तत्काल डाक्नुपर्ने र प्रधानमन्त्रीले सांसदलाई बालुवाटार बोलाएर शक्ति प्रदर्शन गर्ने काम रोक्नुपर्ने बताएका थिए। ‘प्रधानमन्त्रीकै कारण पार्टी बदनाम भइरहने, जिम्मेवारीचाहिँ पार्टीले लिनुपर्ने, अब व्यक्तिका कारण पार्टी बद्नाम हुनु हँुदैन, निकास चाहिन्छ’, वरिष्ठ नेता नेपाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो। 

तत्काल स्थायी कमिटी बैठक बोलाउन ओली अनिच्छुक, सचिवालय बैठक शनिबार पुनः बस्ने 

अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रका समस्यामा गम्भीर छलफल भएको बताए। ‘सायद अर्को बैठकले निष्कर्ष निकाल्नेछ’, खनालले भने, ‘बाहिर आएका र अहिले भएका सबै विषयमा हाम्रो छलफल भयो। अब अर्को बैठकले स्थायी कमिटी बैठक मिति तय गर्नेछ।’ 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीभित्र पछिल्लो समयमा विकसित घटनाक्रम समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्नेबारे छलफल भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए। सचिवालय बैठक २० गते पुनः बस्नेछ। पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउनेलगायत विषयमा छलफल भएको उनले बताए। उनले बैठकमा सामान्य विवाद भएको संकेत गर्दै २० गते पुनः सचिवालय बैठक बोलाइएको बताए। ‘आज (बुधबार) सबै विषयमा छलफल भएको छ। अर्को बैठकले अहिले उठेका विवादका विषयको समाधान खोज्ने र स्थायी कमिटी बैठक पनि टुंगो लगाउनेछ’, प्रवक्ता श्रेष्ठले भने। 

बैठक स्रोतका अनुसार ओली र दाहाल  आआफ्नै अडानमा रहेकाले बुधबारको बैठकले कुनै निर्णय लिन सकेन। ‘खासगरी बालुवाटारको हठका कारण कुनै निष्कर्ष निस्कन सकेन’, बैठक स्रोतले भन्यो। बैठकमा सरकारले अध्यादेश जारी गरेपछि अपहरण शैलीमा सांसदलाई काठमाडौं ल्याउनेलाई कारबाही गर्नुपर्ने विषयले पनि प्राथमिकता पाएको थियो। बैठकमा दाहाल, नेपाल, खनाल, वामदेव गौतम र श्रेष्ठले प्रधानमन्त्री ओलीले समस्याको निकास दिन सहजीकरण गर्नुपर्ने प्रस्ताव राखेका थिए।

उनीहरुले तत्काल स्थायी कमिटी बैठक डाक्नुपर्ने र त्यसले गर्ने निर्णय अनुसार अघि बढ्नुपर्ने पनि बताएका थिए। ओलीले भने तत्कालै बैठक बोलाउने विषयमा जवाफ दिएनन्। नेताहरुले बालुवाटारमा सांसद भेला गर्न सक्ने तर स्थायी कमिटी बैठक किन राख्न नसक्ने भन्ने प्रश्नसमेत ओलीसँग गरेका थिए। बैठकमा सांसदलाई हस्ताक्षर गर्न लगाएर शक्ति प्रदर्शन गर्न खोजेको भन्दै आरोपप्रत्यारोपसमेत चलेको थियो। 

बहुमतको खेल 
पार्टीभित्र उत्पन्न विवाद सुल्झाउन दोस्रो तहका केही नेता लागिपरे पनि दुवै पक्ष  संसदीय दलमा बहुमत पु¥याउने खेलमा लागेका छन्। हाल प्रतिनिधिसभामा नेकपाका १ सय ७४ सांसद छन्। जसमध्ये  पूर्वएमाले खेमाका १ सय २१ र पूर्वमाओवादी समूहका ५३ सांसद छन्। संसदीय दलमा बहुमत पु¥याउन ८८ सांसदको समर्थन चाहिन्छ। प्रधाननमन्त्री ओली पक्षमा करिब ७० भन्दा बढी सांसद रहेको बताइन्छ। तर ओली समूहले बुधबारसम्म यो संख्या ९६ पुगेको दाबी गरेको छ। वरिष्ठ नेता नेपाल (झलनाथ खनाल र वामदेव गौतमसहित) समूहमा ४६ सांसद भएको दाबी गरिएको छ।

दाहाल समूहमा ५० सांसद रहेको दाबी भए पनि उनी पक्षका केही सांसद ओलीले चोरेको बताइएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली दलभित्रको समीकरणमा अल्पमतमा परे पनि संसदीय दलमा बहुमत देखाएर दुवै पद नछाड्ने अडानमा छन्। 
संसदीय दलमा आफ्नो समूहको बहुमत पु¥याउन दाहाल र नेपाल समूहले बुधबार आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। कोटेश्वरमा भएको छलफलमा दाहाल र नेपाल दुवै सहभागी भएको स्रोतले जनाएको छ। 

थापाको मध्यमार्गी बाटो 
सचिवालय बैठक बस्नुअघि गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले दुवै अध्यक्षसँग भेट गरेका थिए। उनले पार्टीभित्र देखापरेको विवाद सुल्झाउने विषयमा दुवै अध्यक्षसँग कुराकानी गरेको उनी निकट एक सदस्यले बताए। उनले अहिले पार्टी अध्यक्ष वा प्रधानमन्त्री फेर्ने कुरा प्राथमिकतामा राख्न नहुने तर कमजोरीका विषयमा गम्भीर ढंगले छलफल गरी पार्टीलाई थप मजबुत बनाउन दुवै अध्यक्षसँग आग्रह गरेका थिए। अहिलेको प्राथमिकता पार्टी अध्यक्ष वा प्रधानमन्त्री  हटाउनेभन्दा पनि कमजोरी केलाएर सरकार र पार्टी दुवैलाई बलियो बनाएर अघि बढ्नुपर्ने प्रस्ताव थापाले राखेको उनी निकट स्रोतले बतायोे। थापाले यसअघिको सचिवालय बैठकमा ओलीलाई साथ दिएका थिए। 

शक्ति प्रदर्शनमा ओली
नेकपाभित्र अन्तरसंघर्ष चर्किदै गएपछि ओलीले सचिवालय बैठकअघि बालुवाटारमा आफू निकट सांसदलाई बोलाएर शक्ति प्रदर्शन गरेका थिए। लगातार तेस्रो दिन ओलीले आफू पक्षका सांसदलाई बोलाएर छलफल गरेका थिए। छलफलका क्रममा सांसदहरुले ओलीलाई दृढतासाथ अघि बढ्न सुझाएका थिए। छलफलमा सहभागी सांसद नवीना लामाले यो सरकारको विकल्प खोज्न नहुने र बरु कमीकमजोरी भए सुधार गरेर जानुपर्ने सुझाव आएको बताइन्। उनले प्रधानमन्त्री ओलीको पक्षमा सांसदले हस्ताक्षर नगरेको दाबी पनि गरिन्।  ‘प्रधानमन्त्रीलाई हाम्रो साथ छ, तपाई ढुक्कसँग अघि बढ्नुस् भनेर हात उठाएर समर्थन जनाएका हौं,’ लामाले भनिन। उनका अनुसार प्रधानमन्त्री ओलीले पाँच बर्षसम्म सरकारको नेतृत्व परिवर्तन गर्न नहुने बताएका थिए। ‘उहाँले जनभावना अनुसार सरकार बनेकाले नेतृत्व परिवर्तन गर्न खोज्नु शोभनीय नभएको बताउनुभयो। हामीले साथ दिन्छौं भन्यौं’, उनले भनिन्। 

दाहाल र नेपाल पक्षले पनि आफू पक्षका सांसदलाई तयारी अवस्थामा राखेका छन्। ओलीले निरन्तर बालुवाटारमा आफू निकट सांसदलाई बोलाएर भेटघाट गरेपछि दाहाल र नेपालले पनि तयारी पूरा गरेको बताइएको छ। दाहाल र नेपालले पनि काठमाडौ बाहिर रहेका आफू समर्थक सांसदलाई काठमाडौं बोलाएका छन्। केही सांसदले भने दुवैतिर सहभागी भएका छैनन्। 

भुसालका तीन सुझाव 
कृषिमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुुसालले  नहडबडाईकन संवाद गरेर संस्थागत प्रणालीभित्रै समाधान खोज्न नेतृत्वलाई सुझाव दिएका छन्। ‘पहिलो, नहडबडाउँ, दोस्रो संवाद गरौं र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौं,’ उनले भनेका छन्। 

‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो, २०६४ र ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिका साथ अगाडि आयो। आज नेकपा असाधारण शक्ति र प्रभावका साथ उपस्थित छ। र, यसमा समस्या थपिँदै गएका छन्,’ उनले भनेका छन्। अनुपयुक्त र गलत प्रयासले समस्या बढाउने भएकाले उपयुक्त बाटो खोज्न उनले सुझाएका छन्।

 

प्रकाशित: १८ वैशाख २०७७ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App