५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपा–समाजवादी मिलाउने अध्यादेश

लहान - मध्यरातमा भएको समाजवादी–राजपाएकीकरणले धेरैलाई आश्चर्यमा पारेको हुन सक्छ। करिब तीन वर्षदेखि सम्भव हुन नसकेको प्रयास रातारात सम्भव हुन पुगेपछि कारण खोज्दै घोत्लिनु स्वाभाविकै हो। 

बिहीबार राजपा अध्यक्ष मण्डलका अध्यक्ष शरत्सिंह भण्डारीले भने,‘दल विभाजनसम्बन्धीअध्यादेश ल्याइदिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद। यो विधेयक नआएको भए समाजवादी पार्टी फुट्ने तयारी हुँदैनथ्यो। र, समाजवादी एकीकरणका लागि लचक भएर हतारिँदैनथ्यो।उहाँले फुटाउने उद्देश्यका साथ ल्याउनुभएको अध्यादेशले हामीलाई मिलाइदियो।’ यी दुई दलबीच एकीकरणको प्रयास प्रतिनिधिसभा चुनावको परिणाम आएदेखिनै सुरु भएको हो तर मूर्तरुप लिन सकिरहेको थिएन। 

पछिल्लो पटक भदौ १२ मा यी दुई पार्टीले पहिलो औपचारिक बैठकमा एकीकरणको प्रस्ताव पेस गरेका थिए। यो प्रस्तावमा समाजवादी पार्टीले राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई चौथो वरीयतामा राखेको थियो।बाबुराम भट्टराई र उपेन्द्र यादवपछि महतोलाई तेस्रो वरीयतामा राख्नुपर्ने र महन्थ ठाकुरलाई मानार्थ अध्यक्षको सम्मान दिनुपर्ने राजपाको प्रस्ताव थियो। तर समाजवादी पार्टीले महतोलाई अशोक राईपछिको वरीयतामा राखेर प्रस्ताव गरेपछि एकिकरणको प्रयास मत्थर भएको थियो।

ठाकुरलाई वरीयताको पहिलो नम्बरमा राख्नेगरी एकीकरण हुनुपर्ने राजपाभित्र सहमति थियो। समाजवादी त्यो प्रस्ताव मान्न तयार भएको थिएन। परिस्थितिले समाजवादीलाई राजपाकै प्रस्तावमा फर्किन बाध्य बनाइदियो। 

समाजवादी पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा रहेको बेला दल विभाजनसम्बन्धीअध्यादेश आयो। यसले समाजवादीभित्रका असन्तुष्टलाई एकत्रित भएर पार्टी विभाजन गर्न बल पुग्यो। असन्तुष्ट समूह एकजुट भएर छलफलमा जुटेपछि समाजवादी फोरमको नेतृत्व अत्तालियो। उनीहरुलाई रोक्न गरेको अनेक प्रयास सफल हुन नसकेपछि नेतृत्वले अन्तिम कार्ड प्रयोग ग¥यो– राजपासँग एकीकरण।

‘अस्तिसम्म म जे भन्छु त्यही हुनुपर्छ भन्ने उपेन्द्रजीले अचानक तपाईंहरु जसरी चाहनुहुन्छ त्यसरी नै एकीकरण हुन्छ तर आजै हुनुपर्छ भनेपछि आश्चर्य लाग्यो’, राजपाका एक नेताले भने। उपेन्द्रको प्रस्ताव आएपछि राजपाको अध्यक्ष मण्डल अबेर राति सहमतिमा पुगेको हो।

‘एकीकरणका लागि हामी पहिलादेखि नै समाजवादीसँग छलफलमाथियौं’, महतोले भने, ‘कुरा नमिलेर ढिलाइ भइरहेको थियो। अहिले कुरा मिल्यो, हामी एक भयौं।’ मधेस मामिलाका एक जानकार भन्छन्,‘पार्टी विभाजनको जोखिम नभईदिएको भए राजपा–समाजवादी एकीकरण तत्काल सम्भव थिएन।’

 

प्रकाशित: १२ वैशाख २०७७ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App