९ आश्विन २०७७ शुक्रबार
राजनीति

पार्टी विघटनको खतरामा : प्रचण्ड

वीरेन्द्रनगर- पार्टीभित्र आइपरेका खतरा रोक्न ढिला गरे पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै पनि पार्टी विघटनतिर जाने खतरा रहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टी विघटन भए प्रतिक्रियावादीहरूको सपना साकार हुने भन्दै उनले पार्टी विघटन गराउन कसरत धेरैले गरेको बताए। ‘पार्टी कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘पार्टीका बारेमा भ्रम सिर्जना भइरहेका छन्।’ नेता–कार्यकता र जनताबीच केही तत्वले भ्रम सिर्जना गरेको भन्दै उनले भने, ‘यस्तो भ्रमलाई चिर्न सबै लाग्नुपर्छ।’

अहिले सबैतिर कम्युनिस्ट अस्ताएको र नेपालमा पनि दुई ठूला कम्युनिस्ट मिलेकाले प्रतिक्रियावादीहरू सल्बलाई रहेको उनको भनाइ छ। कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्ति बदलेको भन्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए। पार्टी विधि र प्रक्रियाबाट चलाउने भन्दै उनले अब पार्टी र पार्टीका जनवर्गीय संगठनको नियमित बैठक बस्ने जनाए।

‘बैठक टार्ने हिसाबले बैठक बस्दैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘सबैको विचार सुन्ने गरी बैठक बस्छ।’ यहाँ बैठक टार्ने र झमेला लाग्ने गरी बैठक बस्ने गरेको भन्दै उनले त्यो बैठक नभइ गुटको गलत कार्यशैली भएको बताए।

‘समस्या पर्‍यो भने बैठक बस्नुपर्छ,’ उनले भने, ‘विचार र भावना सही छ भने स्वीकार गर्ने र स्वीकार्न सकिन्न भने कन्भेन्स गरेर विचार सुन्छौं।’ साथै उनले आट्यो भने सबै प्रदेशमा नेकपाको सरकार हुने भन्दै यसको महिमा र गरिमालाई आत्मसाथ गर्नुपर्ने बताए।

 

प्रकाशित: ६ फाल्गुन २०७६ १९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App