१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'देशले अझै चाहेजति गति लिएको छैन'

गोरखाको काहुलेभंगारमा आयोजित प्रथम सहिद लखन थापा स्मृतिसभामा बोल्दै नेकपा अध्यक्ष दाहाल। तस्बिर: नरहरि/नागरिक

गोरखा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशले चाहेजति गति अझै लिन नसकेको बताएका छन्। प्रथम सहिद लखन थापाको १४३औं स्मृति दिवसका अवसरमा सहिद लखन गाउँपालिका–७ मा शुक्रबार आयोजित कार्यक्रममा संविधान निर्माण र संघीयता कार्यान्वयनबारे चर्चा गर्दै उनले भने, ‘पहिले हिँडिरहेको बाटो जाँदा सजिलो हुन्छ तर नयाँ लिकमा हिँड्न कहिलेकाहीँ असजिलो हुँदो रहेछ।’ उनले संविधानअनुसार नयाँ ऐन, कानुन, नियम बनाउनुपर्ने, सोहीबमोजिम संरचना बनाउनुपर्ने, कर्मचारी खटाउनुपर्ने भएका कारण देशले अझै चाहेजस्तो गति नलिएको बताए। ‘छिमेकी देश र अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाइसकेका छौं, थुप्रै पूर्वाधार र विकाससँग सम्बन्धित काम सकिएको छ,’ अध्यक्ष दाहालले भने, ‘अब विकास र समृद्धितर्फ देशलाई दु्रत गतिमा अघि बढाउनुपर्नेछ।’ उनले अब कृषि, जलस्रोत, पर्यटन, जडीबुटी र विकासका निम्ति नयाँ युग आउनेगरी देश अघि बढ्ने विश्वास व्यक्त गरे।

गोरखाको विकासका लागि १२ सय मेगावाटको बूढीगण्डकी परियोजना अत्यावश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘मुआब्जाको अन्योल टुंगिएको छ, छिट्टै पुनर्वास र पुनःस्थापनाको काम अघि बढ्छ।’ बहुआयामिक आयोजना भएकाले बूढीगण्डकी निर्माणले देशकै अर्थतन्त्रमा गुणात्मक भूमिका खेल्ने दाबी अध्यक्ष दाहालले गरे। जुन गतिमा बूढीगण्डकी अघि बढ्नुपथ्र्यो, त्यस्तो हुन नसकेको प्रति उनले चिन्ता जनाए। गोरखा हुँदै तिब्बत जोड्ने सडक नेपाली सेनाले निर्माण गरिरहेको र उक्त सडक गोरखाको ‘राइटलाइन’का रूपमा विकास हुने उनले बताए।

लखन थापाले राणा शासनविरुद्ध गरेको योगदानबारे चर्चा गर्दै अध्यक्ष दाहालले जनयुद्धको अन्तिम तयारी चलेका बेला २०५१ सालमा आफूले पनि उनको विद्रोहको महत्वबारे अध्ययन गरेको बताए। उनले लखन थापा नेपालको प्रथम सहिद घोषणा भएकोमा गर्वको महसुस भएको उल्लेख गरे। अध्यक्ष दाहालले लखन थापालाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गर्ने विषयमा सकारात्मक र रचनात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले फागुन २ गते लखनको स्मृतिसभालाई केन्द्रीय रूप दिन आफूले सहयोग गर्ने आश्वासन दिए।

सहिद लखन गाउँपालिकाले हरेक वर्ष स्मृति दिवसका असवरमा पालिकाभित्र सार्वजनिक बिदा दिँदै आएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले बताए। लखनसँगै मारिएका उनका सहयोगी जैयसिं चुमी राना मगरलाई सहिद घोषण गर्नुपर्ने, लखनको स्मृति दिवसको दिन सरकारले देशव्यापी बिदा दिनुपर्ने माग सरोकारवालाहरूले पटकपटक राख्दै आएका छन्। थापाले सहादत प्राप्त गरेको बुङ्कोटको काउलेभंगारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने, त्यहाँसम्म पुग्ने मुख्य सडकलाई लखन थापा मार्ग नामकारण गर्नुपर्ने माग पनि स्थानीयले राख्दै आएको वडा ७ का अध्यक्ष शरण श्रेष्ठले बताए। कार्यक्रम सुरु हुनुअघि जातीय वेशभूषा झल्कने झाँकी, ¥याली र बाजागाजासहित कार्यक्रमस्थल पुगेका थिए। नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण आले, कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, सांसद हरिराज अधिकारीलगायतले धारणा राखेका थिए।

१९३३ साल फागुन २ गते राणा शासनकालमा झुन्ड्याएर हत्या गरिएको थियो। लखन थापालाई सरकारले २०७२ असोज ३ गते प्रथम सहिद घोषणा गरेको थियो। स्मृति दिवसको अवसरमा पालिकास्तरमा विभिन्न खेलकुद कार्यक्रमसमेत भएको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए।

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App