१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'बाँकी तीन वर्ष मेरै सरकार'

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई सहज बनाउन चाँडै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएका छन्। ‘बेस्सरी काम गर्न सजिलो होस् भनेर फेरि मिर्गौला राख्न लागेको छु,’ प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘छिट्टै प्रत्यारोपण गर्छु।’

सरकारका कामकारबाहीसम्बन्धी सम्पादकहरूका टिप्पणी र जिज्ञासाको जवाफ दिने क्रममा सत्तारुढ नेकपाको अध्यक्षमेत रहेका ओलीले अबको तीन वर्ष आफूले सरकार सञ्चालन गर्ने दृढता व्यक्त गरे। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण हुँदा अर्का पार्टी अध्यक्ष दाहालसँग सरकारमा ‘आलोपालो’ गर्ने सहमति भए पनि अहिले उनैले पूरा समय सरकार चलाउन मार्ग प्रशस्त गरिदिएको समेत ओलीले उल्लेख गरे। 

‘त्यो बेला प्रचण्डजीसँग आलोपालो गरौंला भनेको थिएँ,’ ओलीले भने, ‘उहाँले नै त्यो हटाइदिन्छु सरकारलाई निरन्तरता दिनुहोस् भन्नुभयो।’ अध्यक्ष दाहालले सरकारलाई अस्थिर भएको नदेखाउन आलोपालोको प्रसंग हटाइदिएको ओलीले जानकारी दिए। आफ्नो दलमा ५०औं वर्ष राजनीति गरेर खली खाएका, आफूभन्दा अगाडि दलको अध्यक्ष र प्रधानमन्त्री रहिसकेका नेता भएकाले आफूले यसो गर्नू भन्न नसक्ने उल्लेख गर्दै ओलीले थपे, ‘सबैको मानभाउ पु-याएर काम गर्नुपर्ने हुन्छ।’

ओलीले हिजो एमाले र माओवादी कहाँ थिए भन्ने प्रश्न गर्दै दुवैले एकअर्काबीच आक्रमण र प्रत्याक्रमण गरिरहेको स्थितिबाट अहिले एक ठाउँमा आइपुग्नु त्यतिकै नभएको बताए। यसका लागि ‘सचेत प्रयास’ गरिएको उनले उल्लेख गरे।

आफ्नै दलभित्र विवाद उत्पन्न भए पनि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) अन्तर्गतको ५० करोड अमेरिकी डलर (करिब ५५ अर्ब रुपैयाँ) को सम्झौता कार्यान्वयन हुनेमा प्रधानमन्त्री ढुक्क देखिए।

आफ्नै दलभित्र विवाद उत्पन्न भए पनि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) अन्तर्गतको ५० करोड अमेरिकी डलर (करिब ५५ अर्ब रुपैयाँ) को सम्झौता कार्यान्वयन हुनेमा प्रधानमन्त्री ओली ढुक्क देखिए। ‘अमेरिका आफैंले यो रकम सैन्य प्रयोजनका निम्ति खर्च नहुने भनेको छ,’ उनले भने, ‘यो अनुमोदन हुन्छ।’

भर्खरै सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीनसदस्यीय समितिले यसबारे अध्ययन गरी १० दिनभित्र प्रतिवेदन दिने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्का नेता भीम रावल रहेको अध्ययन समिति गठनको तेस्रो दिन ओलीले एमसिसी निर्धारित समयमा सुरु भई तोकिएकै समयमा पूरा हुने दृढतासमेत व्यक्त गरे।

यस्तो विषय सम्झौताअघि नै प्रस्ट हुनुपर्नेमा अहिले कार्यान्वयनको बेलामा आएर छलफल भइरहेको टिप्पणी उनको थियो। आफूलाई हटाएर बनेको कांग्रेस नेतृत्वको सरकारले यो सम्झौता गरेको भए पनि यो उपयुक्त लागेकाले निरन्तरता दिएको समेत ओलीले बताए।

प्रधानमन्त्री ओलीले ललितानिवास जग्गा हिनामिना प्रकरणको छानबिन अन्तिम चरणमा पुगी मुद्दा दायर गर्न लागेको जानकारी दिए। त्यसैगरी यती होल्डिङ्सलाई विगत सरकारले सञ्चालन अनुमति दिएको भन्दै त्यसलाई थप काम गराउन अहिले अनुमति दिएको भन्दै बचाउ गरे। ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्न सरकार सजग छ,’ उनले भने, ‘ललितानिवासको मुद्दा छिट्टै अदालत जान्छ।’

विगतमा लोकतन्त्रका निम्ति संघर्ष गरेका प्रधानमन्त्री ओलीको कार्यकालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध आएका विधेयकका विषयमा समेत सम्पादकहरूले चासो व्यक्त गरेका थिए। ओलीले मुलुकको हितमा आफू र प्रेसबीच सुशासन र विकासको समान उद्देश्य रहेको समेत बताए। ‘तपाईंहरू पनि अलिअलि बढी भएकै हो,’ ओलीले भने, ‘अलिअलि जवाफ त हामीले पनि दिनुपर्छ। ब्याटिङ गरेपछि अलिअलि बलिङ गर्नै प-यो।’ प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विषयलाई आफूले बुझ्ने बताउँदै ओलीले भने, ‘मेरो कुराले बिझाएको भए क्षमाप्रार्थी छु।’

प्रकाशित: २२ माघ २०७६ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App