१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सीमा संरक्षणमा स्थानीयको चासो

सीमा–स्तम्भको सुरक्षाप्रति चासो राखेका बाँके, नरैनापुरका स्थानीय। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज – भारतले नेपाली भूमि कालापानी तथा लिपुलेकक्षेत्र अतिक्रण गरेको सुनेपछि बाँके, नरैनापुरका रामचन्द्र मुराउ धेरै चिन्तित बने। त्यही चिन्ताले अचेल उनी आफ्नो क्षेत्रमा रहेका नेपाल–भारत सीमा–स्तम्भको नियमित निगरानी गर्छन्। नेपाल–भारत सीमानजिकै बसोबास गर्ने उनले अचेल सीमा–स्तम्भप्रति निकै चासो दिन थालेका छन्।

‘भारतले कालापानी लिपुलेकमा हाम्रो सीमा मिचेको सुनेपछि धेरै चिन्ता लाग्यो,’ मुराउले नागरिकसँग भने, ‘हामीले मतलब नगर्ने हो भने हाम्रो यहाँ पनि भारतले सीमा मिच्न सक्छ।’ आफ्नो क्षेत्रमा भारतलाई एक इन्च पनि जमिन मिच्न नदिने उल्लेख गर्दै मुराउले भने, ‘आफ्नो भूमिको रक्षाका निम्ति हामी भारतसँग लड्न पनि तयार छौं।’

बाँकेको सीमाक्षेत्रमा बसोबास गर्ने मुराउजस्ता थुप्रै स्थानीयले आफ्नो क्षेत्रका सीमा–स्तम्भबारे चासो दिएको पाइएको छ। आफ्नो भूमिको संरक्षण आफैं गर्ने उनीहरू बताउँछन्। सीमा–स्तम्भको संरक्षण तथा सुरक्षाका लागि नेपाल सरकारले पनि सीमाक्षेत्रका नागरिकलाई साथ र हौसला दिनुपर्ने स्थानीयको माग छ।

बाँकेको ६५ किलोमिटर सीमाक्षेत्र भारतसँग जोडिएको छ। खुला सीमाका कारण नेपाल–भारत दजगजा क्षेत्रमा स्थापना गरिएका स्तम्भ जोगाउन चुनौती छ। बाँकेस्थित नेपाल–भारत दसगजा क्षेत्रमा रहेका दर्जनौं सीमा–स्तम्भ कुनै हराएका छन् भने कुनै जीर्ण अवस्थामा पुगेका छन्।

सशस्त्र प्रहरी बल बागेश्वरी गण बाँकेका अनुसार जिल्लास्थित नेपाल–भारत दसगजा क्षेत्रमा ३२ वटा मुख्य सीमा–स्तम्भ छन्, जसमध्ये चारवटा हराइसकेका छन् भने एउटा पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छ। यस्तै दुई सय ७५ वटा सहायक सीमा–स्तम्भमध्ये पाँचवटा हराएको,२१ वटा मर्मत गर्नुपर्ने तथा तीनवटा पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छन्। सीमाक्षेत्रमा बसोबास गर्ने नागरिकलाई सीमा–स्तम्भको संरक्षणप्रति थप उत्तरदायी बनाउने प्रयास गरिएको छ।

सशस्त्र प्रहरी बलको बागेश्वरी गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दिपक अधिकारीलगायत सुरक्षा अधिकारी नरैनापुरमै पुगेर सीमाक्षेत्रमा बसोबास गर्ने नागरिकलाई सीमा–स्तम्भको सुरक्षाबारे थप उत्तरदायी बनाउने प्रयास गरेका हुन्। सो क्रममा एसपी अधिकारीले सीमा–स्तम्भ संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताए।

दुई देशको सीमा–स्तम्भको संवेदनशीलताबारे प्रकाश पार्दै उनले सीमा–स्तम्भ संरक्षणमा आम नागरिकको दायित्व भएको र कसैले पनि दसगजा क्षेत्र अतिक्रमण गर्न नपाउने प्रष्ट्याए। दसगजा क्षेत्रको जमिन कसैले पनि उपभोग गर्न नमिल्ने भन्दै उनले सचेत गराए। उनका अनुसार दुई देशको सीमाक्षेत्रमा बीच भागबाट दुवैतर्फ नौ दशमलव एक मिटर खाली राखी दसगजा निर्धारण गरिएको हुन्छ। दसगजा क्षेत्रको निश्चित दूरीमा ठुलो जंगे (मुख्य) स्तम्भ र सानो (सहायक) स्तम्भ राखिएको हुन्छ। जमिनमा स्पष्ट रूपमा भौतिक सीमांकन नहुनु, सीमा नक्सा तथा तथ्यांकको अभाव हुनु जस्ता कारकले सीमा अतिक्रमणको समस्या देखिएको हो।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आफ्नो भूमि रक्षा गर्न नरैनापुरबासीहरू सचेत र तयार रहेको बताए। ‘कालापानी लिपुलेकमा जस्तो हाम्रो यहाँ भारतले सीमा अतिक्रमण गर्न सक्ने सम्भावना छैन किनकि नरैनापुरबासी धेरै सचेत छन्,’ उनले भने, ‘आफ्नो भूमिको रक्षा गर्न हरदम तयार छन्।’

नेपाल सरकारले सीमा–स्तम्भको संरक्षण र सुरक्षाप्रति गम्भीरतापूर्वक चासो देखाउनुपर्ने गाउँपालिका अध्यक्ष शाहको सुझाव छ। ‘हाम्रो क्षेत्रमा केही सीमा–स्तम्भ गायब पारिएका छन्, डुडुवा गाउँपालिकादेखी नरैनापुर गाउँपालिका–५ को बीचमा धेरैवटा सीमा–स्तम्भ छैनन्,’ उनले भने, ‘नेपाल सरकारले समयमै चासो दिन जरुरी छ।’

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले सीमा–स्तम्भको सुरक्षामा नागरिकको पनि उत्तिकै दायित्व भएको बताए। नेपाल–भारत सीमाक्षेत्रमा हराएका सीमा–स्तम्भ यथास्थानमा गाड्ने काममा सहयोग गर्न पनि उनले आग्रह गरे।

प्रकाशित: २० मंसिर २०७६ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App