१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विभिन्न क्षेत्रमा मतदान सुरु, डाेटी र कास्कीमा बम बिस्फाेट(अपडेट)

काठमाडौं - प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह उपनिर्वाचनअन्तर्गत रिक्त स्थानमा मतदान सुरु भएको छ।। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ (प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्ष) सिटका लागि मतदान मतदान सुरु भएको हो।

कास्कीको निर्वाचन क्षेत्र नम्बर दुईमा मतदान सुरु भएको छ। प्रतिनिधि सभाका लागि भैरहेको निर्वाचनमा नेकपाबाट उम्मेद्वार बनेकी विद्या भट्टराइले बिहानै मतदान गरेकी छन्। यस्तै साझा पार्टीको तर्फबाट उम्मेद्वार बनेकी रजनि केसीले पनि मतदान गरेकी छन्।

कास्कीकै सरस्वति टिका मावि भरतपोखरी मतदान स्थलभन्दा २ सय मिटर तल बम बिस्फोट भएको छ। बिस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको। सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीकाे भनाइ छ।

डोटीमा दुई ठाउँमा बम फेला परेका छन्। ईलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार आदर्श गाउँपालिका २ कुचेडा गाउँमा बम फेला परेका हुन्। शुक्रबार राति करिब साढे दुईबजेतिर पहिलो बम फेला परेको थियो। जसलाई राति नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोजल गरेको छ।

यस्तै शनिबार बिहान करिब आठबजेतिर एक किरोमिटर टाढा अर्को बम फेला परेको प्रहरीले जनाएको छ। जस्लाई डिस्पोजल गर्न अर्को टोली परीचालन गरिएको छ। आदर्श गाउँपालिका - २ मा वडाध्यक्षका लागि शनिवार मतदान भइरहेको छ।

एक मात्रै मतदान केन्द्र रहेको काभ्रेमा पनि मतदान सुरु भएको छ। धुलिखेल वडा नम्बर २ मा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको हो।  सेतीदेवी मावीमा रहेको मतदान केन्द्रमा १ हजार ८ सय ७७ मतदाता रहेका छन्। वडाध्यक्ष पदका लागि ४ जना उम्मेदवार प्रतिस्प्रधामा छन्।

यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर ३(ख)मा पनि मतदान सुरु भएको छ। बिहानै देखि मतदाताहरु मतदानका लागि लाइनमा लागेका छन्। प्रदेश सभा उप निर्वाचनका लागि यो क्षेत्रमा १४ जना  उम्मेद्वार चुनावी मैदानमा छन्। यो क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता छन्।

डोटीको आदर्श गाउँपालिका–२ मतदान शुरू भएको छ। वडाका तीनवटै मतदान केन्द्रमा मतदान शुरू भइसकेको मुख्य निर्विचन अधिकृतको कार्यालयले जनाएको छ। यसाँ शारदा माध्यामिक विद्यालय मौवा नगरदह, नमादेव आधारभूत विद्यालय साउँदकाँडा र कालभैरव आधारभूत विद्यालय कोटाञ्जरमा मतदान केन्द्र छन यहाँ वडाध्यक्ष पदका लागि निर्वाचन हुदैछ।

जसमा चारजनाबीचमा प्रतिस्पर्धा भइरहेको छ। नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसका तर्फबाट महादेव साउँद, राप्रपाका कासिराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिँह खड्काका बीचमा प्रतिस्पर्धा भइरहेको छ। यसअघि तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा मृत्यू भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन भईरहेको छ। यहाँ महिला एक हजार चार सय १६ र पुरूष एक हजार ४३ गरी दुई हजार चार सय ५९ जना मतदाता छन।

रिक्त रहेको मेयर र वडा नं ७ को वडाअध्यक्ष पदको लागि धरान उपमहानगरपालिकामा मतदान शुरु भएको छ। बिहान ७ बजेदेखि धरानको विभिन्न मतदात केन्द्रहरुमा मतदान शुरु भएको हो। झण्डै एक बर्षदेखि रिक्त रहेको मेयर पदमा नयाँ नेतृत्व छान्नको लागि धरानका मतदाताहरु बिहानै मतदान केन्द्रमा पुगेका थिए। धरानमा ११ स्वतन्त्रसहित २३ जना मेयरका प्रत्यासी छन्। यस्तै, वडा नं ७ मा ४ जना अध्यक्षका प्रत्यासी छन्।

धरानको वडा नं १८, कार्मेल हाइस्कुलस्थित मतदान केन्द्रमा पुगेर आज बिहानै नेकपाका उम्मेदवार प्रकाश राईले मतदान गरेका थिए। नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको पनि मतदान केन्द्र त्यही नै पर्छ। तर, उनी दिउँसो मात्र मतदान गर्न आउने भएका छन्। सोही मतदान केन्द्रमा अर्का स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पनि मतदान गरेका थिए।

धरानमा २८ मतदानस्थलमा ९९ मतदान केन्द्र रहेको छ। निर्वाचन कार्यालयका अनुसार कुल ९२ हजार ८ सय ५३ मतदाता छन्। यो अघिल्लो स्थानीयतह निर्वाचन २०७४ को भन्दा १३ हजार ५ सय ७१ बढी हो। २०७४ मा धरानको मतदाता संख्या ७९ हजार २ सय ८२ थियो। धरानका मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक बर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो।

मतदानको सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार ७ सय ५० भन्दा बढी जनपद, ५ सय बढी सशस्त्र प्रहरी परिचालन भएको छ भने नेपाली सेनाको गस्ती टोली पनि परिचालन गरिएको छ। मतदानको लागि अशक्त, वृद्धवृद्धाहरुलाई बिशेष प्राथमिकता दिइएको मुख्य निर्वाचन अधिकृतले जनाएको छ।

खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा मतदान सुरु भएको छ। रिक्त वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचन अन्तरगत शनिबार बिहान ७.१४ बजेदेखि मतदात सुरु भएको हो। बिहान ७ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदाता केही ढिला आएको मतदानस्थलमा रहेका डिएसपी बामदेव गौतमले बताए।

खिदिमाका तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि उपनिर्वाचनमार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको हो। मतदानका लागि स्थानीय सिद्धेश्वरी माबिमा ‘क’ र ‘ख’ मतदान केन्द्र तोकिएका छन्। खिदिमामा शान्तिपूर्ण वाताबरणमा मतदान सञ्चालन भइरहेको छ। मतदान बेलुका ५ बजेसम्म रहने मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख एबं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले बताए।

वडाध्यक्षका लागि नेकपाकातर्फबाट शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्का चुनावी मैदानमा छन्। शिवकला स्वर्गीय मणीकुमारका श्रीमती हुन्। जिल्ला निर्वाचन अधिकारी कोपिला राईका अनुशार उपनिर्वाचनमा खिदिमाका १ हजार ३०३ मतदाताले मताधिकार उपयोग गर्दैछन्।

रौतहटको गढिमाइ नगरपालिका २ मा मतदान सुरु भएको छ। दुई वटा मतदान केन्द्रमा मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रौतहट का प्रमुख छोटेलाल दासले बताए। मतदान वरिपरि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

उपनिर्वाचनमा ३७ जिल्लाका चार लाख ५४ हजार एक सय १४ मतदाता छन्। मतदान बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।

जिल्ला संवाददाताकाे सहयाेगमा

प्रकाशित: १४ मंसिर २०७६ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App