१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा दैलेखमा विवादः जिल्लादेखि नगर, वडासम्म दुइटा कमिटी

दैलेख– हप्तादिन अघि नेकपा दैलेखमा पूर्वएमाले र पूर्वमाओवादीका केही असन्तुष्ट नेताले कमिटीमा एकलौटी गरेको भन्दै जिल्लादेखि प्रदेश, निर्वाचन क्षेत्र र वडासम्म समानान्तर कमिटी घोषणा गरे। घोषणासंगै उनीहरुले सबै तहमा पुगेर सपथ खुवाउने कार्ययोजना समेत बनाए। अहिले तिनै तहमा आ–आफ्नो कमिटी बैधानिक भएको भन्दै वडासम्म पुगेका छन्। पार्टी एकता प्रक्रियामा एकलौटी गरेको भन्दै पूर्वएमालेबाट नेपाल समूह र एमाओवादीका नेताहरुले असुन्तुष्ट हुँदै समान्तर कमिटी घोषणा गरेका हुन्।

आफ्नो निर्णयलाई कार्यान्वन गर्न आठविस नगरपालिकामा कमिटीका सदस्यलाई सपथ खुवाउन पुगेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा लगायतका नेताहरुलाई विपक्षमा रहेका नेकपाका नेपाल समूह र माओवादीका नेताहरुले रोके। सहमतिमै कमिटी बनाउनका लागि असन्तुष्ट पक्षहरुले दिनभर वार्ता छलफल गरेर ज्ञापन पत्र बुझाए। त्यसको सुनुवाई नगरेर आफ्नो अडानमै नेतृत्व देखियो। हलभित्रै सपथ खुवाउने क्रम चलेसंगै रोक्नका लागि नाराबाजी भयो। होहल्ला र नाराबाजीबीच नै आठविस नगरपालिकामा सपथ खुवाइयो। ८१ जना सदस्यमध्ये भेलामा आएको आधा जसो सदस्यहरु थिए। ती सदस्य पनि दुइतिर बाँडिए। चर्को नाराबाजीबीच सपथ कार्यक्रम गरिएको थियो। दुवै पक्ष अडिक हुँदा सपथ कार्यक्रम र समान्तर कमिटी बनेका छन्। 

पार्टी एकीकरणपछि अहिले नेकपा दैलेखमा तनाव उत्पन्न भएको छ। ‘आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी तथा ११ वटै स्थानीय तहका कमिटी घोषणा गरेका छौँ’, नेकपा कर्णाली प्रदेश कमिटी सदस्य अम्मरबहादुर थापाले भने, ‘जिल्ला नेतृत्वबाट पार्टी केन्द्रीय कमिटीको निर्देशन विपरित काम भयो, पुराना नेताको योगदान र संघर्षको कुनै कदर भएन् त्यसैले बाध्य भएर आफूहरुले आधिकारिक कमिटी घोषणा गरेका हौं।’ जिल्लादेखि वडासम्म कमिटी गठनमा व्यक्तिगत रुपमा मनोमानी गरेको थापाको आरोप छ।

आठविसमा पार्टी नेतृत्वलाई सपथ रोक्नका लागि ज्ञापन पत्र दिएको भए पनि राती सपथ खुवाउन थालेपछि आफूहरुले नाराबाजी गरि विरोध गर्नुपरेको नेकपामा नेता हरि शाहीले बताए। ‘एउटै हलमा नारावाजी र सपथ सँगसँगै भयो’, नेता शाहीले भने, यसरी दुई धुव्रमा कमिटी सदस्यहरु विभाजन भएपछि पार्टी गतिविधि कसरी सफल हुन सक्छ।’ पार्टीको नीति र निर्देशन विपरीत जिल्ला अध्यक्ष र सचिवले एकता प्रक्रिया एकलौटी गरेकाले विरोध गर्नुपरेको प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले आरोप लगाइन्। 

तर, पार्टी नेतृत्वले पार्टी एकतामा खलल पुराउने काम भइरहेकाले तत्काल सच्चिएर एक प्रकृयामा आउन आग्रह गरेका छन्। पार्टीको निर्देशन र मापदण्ड अनुसार बमोजिम कमिटी विस्तार गरिएको पार्टी अध्यक्ष रविन्द्रराज शर्माले प्रतिक्रिया दिए।

प्रकाशित: १८ कार्तिक २०७६ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App