काठमाडौं – महिलामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएका पूर्व सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आइतबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। महराको पक्षमा ३२ जना कानुन व्यवसायीले वकालतनामा दिएका कारण बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो।
आइतबार चारजना सरकारी वकिलले बहस गरेका छन्। प्रतिवादीको तर्फबाट दुईजना कानुन व्यवसायीले बहस गरेका थिए। कानुन व्यवसायी लवप्रसाद मैनाली र भोजराज आचार्यले महराको पक्षबाट बहस गरेका थिए। सरकारको तर्फबाट सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, न्यायाधीवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल, सिर्जना ढकालले बहस गरेका थिए।
महराको तर्फबाट नाम चलेका वरिष्ठ कानुन व्यवसायीसमेतले वकालतनामा पेस गरेका छन्। प्रतिवादीको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, कानुन व्यवसायी कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, मुरारी सापकोटालगायत ३२ जनाले बहसका लागि वकालतनामा दिएका छन्।
मुद्दाको बहस नसकिएकाले सोमबार निरन्तर अदालती प्रक्रिया अघि बढ्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध ५ देखि साढे ७ वर्षसम्मको जेल सजाय, क्षतिपूर्ति माग गर्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
महराले सार्वजनिक पदको दुरुपयोग गर्दै महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको भन्दै थप सजायसहित माग दाबीसमेत गरिएको छ। संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले असोज १२ मा महराद्वारा यौन दूव्र्यवहार भएको आरोप लगाएकी थिइन्। थुनछेक बहसपछि महरालाई कि त थुनामा राख्ने, धरौटी मागेर पुर्पक्षमा छोड्ने, साधारण तारेखमा छोड्ने तीनवटा विकल्प छन्। आइतबार बहस सकिएमा थुनछेक आदेश हुनेछ।
प्रकाशित: १८ कार्तिक २०७६ ०२:१५ सोमबार