तनहुँको दमौली निवासी ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउदुरे नाच्दै आएका छन्। व्यास नगरपालिकास्थित तमु सुधार समाजमा आबद्ध उनीहरू लामो समयदेखि पाउदुरे नाच संरक्षण अभियानमा जुटेका हुन्। समाजमा युवा नभएपछि बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै आएका हुन्।
पाउदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निर्वाह गर्दै आएका छन्। त्यस्तै हिरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निर्वाह गर्छन्।
युवाहरू शिक्षा, रोजगारीको सिलसिलामा गाउँ बाहिर रहेकाले बुढापाकाले सांस्कृतिक पहिचान बोकेको नाच संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नाच्दै आएका समाजका अध्यक्ष मनबहादुर गुरुङले बताए।
उनले भने, “पाउदुरे नाच लोप हुन नदिन युवा नभए पनि बुढापाका यसको संरक्षण अभियानमा जुटेका छौं।”
पाउदुरे गुरुङ जातिको लोपोन्मुख नृत्य भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर आफूहरू लागिपरेको गुरुङको भनाइ छ।
पछिल्लो पुस्तालाई पाउदुरे नाच सिकाएर यसको संरक्षण र सम्वर्द्धन अभियानमा सहभागी गराउने योजना रहेको ओमबहादुर गुरुङले बताए।
उनले भने, “पाउदुरे नाच गुरुङ जातिको प्रसिद्ध नाच भएकाले यसको संरक्षणमा हामी जुटेका छौं। गाउँमा भएका युवालाई नाच सिकाएर पुस्ता हस्तान्तरण गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छौं।”
तमु विद्यार्थी छोंज धिंको शनिबारदेखि दमौलीमा सुरु भएको बाह्रौ महाधिवेशन उद्घाटन समारोहमा उनीहरूको समूहले पाउदुरे नाच प्रस्तुत गरेको थियो। कार्यक्रममा सहभागीले नाच आकर्षित रहेको प्रतिक्रिया दिएका थिए।
ओमबहादुरका अनुसार पाउदुरे नाचमा बिजबारे, मारुनी, मादले, गुरुलगायत व्यक्ति आवश्यक पर्दछ। “यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिला जस्तै बनेर नाच्ने प्रचलन छ। छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भनिन्छ”, उनले भने।
नाचका क्रममा बिजबारेको भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्ने गुरुङ समुदायका अगुवा बताउँछन्। गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भनिन्छ। गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायत अन्यले पनि गीतलाई छोप्दै लय मिलाउने गर्दछन्। पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन रहेको ओमबहादुरले जानकारी दिए।
प्रकाशित: २५ कार्तिक २०८१ १३:११ आइतबार