८ आश्विन २०७७ बिहीबार
राजनीति

विप्लव समूहका काभ्रे सेक्रेटरी पक्राउ

काभ्रेपलाञ्चोक - प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ। थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए।

“विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गर्‍यौँ, उनले भने। ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ। यसअघि प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च अपरेसन’का क्रममा काभ्रेपलाञ्चोकबाट २०७५ चैत ९ गते बिहान विप्लव समूहका मध्य क्षेत्र कमाण्डर सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ नेता कार्यकर्तालाई काभे र ललितपुरको सिमानामा पर्ने खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकैबाट गाडीमा काठमाडौँतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ‘विप्लव’ समूहका मध्य कमाण्डर ओली, धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शंकर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की, लोकेन्द्र खड्का थिए।

 यस्तै, चैत ६ गते पनि काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको टोलीले विप्लव समूहका कार्यकर्ता मेची नगरपालिका ३ का ३३ वर्षका शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षकै विशाल तामाङलाई पनि पक्राउ गरेको थियो। रासस

प्रकाशित: ७ कार्तिक २०७६ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App