४ वैशाख २०८१ मंगलबार
राजनीति

शिक्षक सरुवा गर्दा नगरपालिकामा तोडफोड, स्थानीय प्रशासन मौन, मेयरले भेटे गृहमन्त्री

मेयर सियाराम प्रसाद कुश्वाहा ।

काठमाडौं– शिक्षक सरुवाको विरोधमा नगरपालिका कार्यालय तोडफोड भएपछि न्याय माग्दै रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधि काठमाडौं आएका छन्। 

जिल्लामा प्रहरी र स्थानीय प्रशासनले वेवास्था गरेपछि दोषीलाई कारवाही तथा क्षतिपूर्तिको माग गर्दै कटहरियाका मेयर सियाराम प्रसाद कुश्वाहासहित जनप्रतिनिधिहरु काठमाडौं आएका हुन्। मेयर कुश्वाहाले शिक्षा ऐनमा टेकेर माध्यामिक विद्यालय भसडेवाको प्राधानाध्यापक भएर १५ वर्षदेखि काम गरिरहेका प्राथमिक शिक्षक राममंगलप्रसाद यादवलाई महिला प्रावि भसडेवामा प्रधानाध्यापक पदमै सरुवा गरेका थिए। उक्त विद्यालयको शैक्षिक गुणस्तर सुधार्न उनलाई सरुवा गरिएको मेयरको दाबी छ। 

शिक्षक यादवलाई सरुवा गरेपछि युवाहरुको समूहले नगरपालिकाभित्र पसेर तोडफोड गरेको थियो। छेउमै प्रहरी भए पनि सरकारी सम्पत्तिको रक्षा गर्नुको सट्टा उनीहरु भिडियो खिच्नमा व्यस्त थिए। त्यतिमात्रै होइन युवाहरुको समूहले प्रहरी चौकीमा समेत आक्रमण गरेका थिए। 

एउटा शिक्षक सरुवाको विरोधमा स्थिति नियन्त्रणबाहिर गएपछि मेयरको टोली न्याय माग्दै काठमाडौं आएको हो। मेयर कुश्वाहाको टोलीले बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनाबारे जानकारी गराएको छ। गृहमन्त्री थापाले घटनामा संलग्नलाई कारबाही गर्ने आश्वासन दिएका छन्। त्यसैगरी उनले संघीय मामला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितलाई पनि घटनाको भिडियोहरु देखाएर जानकारी गराएका थिए।

भिडियो हेरेपछि मन्त्री पण्डितले गृहसचिबलाई फोन गरे र फोन उठेन। त्यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारीले पनि फोन उठाएनन्। ‘यो कस्तो बिडम्बना स्थानीय निकाय नै सुरक्षित छैनन्। प्रहरीले पनि उजुरी लिन मानेन। हामी सुरक्षा माग्न काठमाडौं नै आउनुपर्यो’, बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेयर  कुश्वाहाले भने। घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नगरपालिकाका उपमेयरको नेतृत्वमा अर्काे टोली प्रदेश राजधानी जनकपुरमा सक्रिय रहेको छ।

यस्तो थियो घटना

घटना गत असोज १० गतेको हो। अघिल्लो दिन नगर शिक्षा समितिले एक जना शिक्षकको सरुवा गरेको थियो। भसडेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक राम मंगलप्रसाद यादवलाई नगर समितिले सरुवा गर्दा अर्काे दिन नगरपालिका पूरै तोडफोड भयो।

यादव ती शिक्षक हुन् जसको दरबन्दी प्राथमिक तहको छ। तर, उनी बिगत १५ वर्षदेखि माध्यमिक विद्यालयको प्रधानाध्यापक रहँदै आएका थिए। जनप्रतिनिधिहरु आएपछि अहिले सामुदायिक विद्यालयहरु पनि स्थानीय सरकारकै मातहतमा छन्। नगरपालिकाको शिक्षा समितिले यादवलाई त्यहीँ ठाउँको एउटा प्रावि स्कुलमा सरुवा गरेको थियो।

त्यस्तै नगर समितिले जनता मावि कटहरियाका अंग्रेजी शिक्षक सचिन्द्रप्रसाद यादवलाई पनि सरुवा गरेर भसडेवा पठाइदियो। सचिन्द्रप्रसाद पनि जनता माविबाट सरुवा हुन चाहेका थिएनन्। उनी त्यही विद्यालयको हेडसर हुन चाहन्थे। यद्यपि शिक्षा समितिले उनलाई भसडेवा माविकै प्रअको हैसियतमा सरुवा गरेको थियो। तर, घरपाई जागिर खाइआएका उनी त्यहाँ जान चाहेनन्।

सचिन्द्र र राममंगल आफन्त पनि हुन्। उनीहरु मिलेर विद्यालयका केही विद्यार्थी अनि अरु पनि मानिसहरुलाई लिएर असोज १० गते नगरपालिका तोडफोड गरिदिए।

नगरप्रमुख जनकपुरमा थिए। उता शिक्षकहरुले उठाएको त्यो भीडले नगरपालिका कार्यालय पूरै तोडफोड गरिसकेको थियो। बिहान ६ बजेदेखि नै नगरपालिका कार्यालय तोडफोड भइरहेको थियो। नगरपालिका कार्यालयदेखि ५ मिनेटको दूरीमा रहेको प्रहरीहरु पनि आइपुगे तर, उनीहरुले भीडलाई रोकेनन् बरु प्रहरी पनि तोडफोडको भिडियो र फोटोहरु खिच्नमै व्यस्त रह्यो।

तोडफोडबाट करिब ३० लाख ७८ हजार ५ सय ६० रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ।

घटनापछि नगरप्रमुख कुशवाहा नजिकैको प्रहरीमा उजुरी दिन पुगे तर, प्रहरीले आलटाल गरेर उजुरी लिनै मानेन। नगरप्रमुखले निकै जोड बल गरेपछि घटनामा संलग्न देखिएका ती दुई शिक्षकलाई प्रहरीले पक्राउ त गर्यो तर, २४ घण्टामै छोडिदियो। त्यो कुरा नगरप्रमुखलाई पनि जानकारी गराइएन। तोडफोड भइरहेको एउटा भिडियोमा ती शिक्षकहरु पनि देखिएका छन्। प्रहरीले भिडियो र फोटो खिचिरहेको दृश्य प्रस्ट देखिन्छ।

प्रकाशित: १६ आश्विन २०७६ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App