९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

विप्लव नेकपामाथिको प्रतिबन्धले देश संकटमा फस्ने चिन्ता

बुटवल - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्धले देश गम्भीर खतरामा फस्ने चिन्ता एक कार्यक्रमका सहभागीले गरेका छन्। जनपत्रकार संगठन नेपालले शनिबार बुटवलमा आयोजना गरेको ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता एवम वर्तमान राजनीतिक अवस्था' विषयक कार्यक्रमका सहभागीले प्रतिबन्धले देश खतरामा फस्नेभन्दै जिम्मेवार बन्न सरकारलाई सुझाव दिएका हुन्।

कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक विचारसँग असहमति राख्दैमा कुनै शक्तिलाई प्रतिबन्ध लगाउन नहुनेमा समेत जोड दिए। अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता तथा पुर्वमन्त्री अमर पुनले पछिल्लो समय नेपालमा मानवअधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको टिप्पणी गरे।

‘एउटा कम्युनिस्ट पार्टीको सरकार छ। अर्को कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईएको छ। यो कस्तो कम्युनिस्ट शासन हो ?’ उनले प्रश्न गरे। नेता पुनले आफू रोल्पाको बासिन्दा भएकोले तत्कालिन माओवादी जनयुद्ध अनुभूती गरेकोभन्दै अहिले पनि युद्ध जारी रहेको जस्तो लागेको जिकिर गरे। युद्धकालमा सरकार र तत्कालिन विद्रोहीबीच भिडन्त, हत्या बम विस्पोटका समाचारहरु दिनहुँ सुनिएको स्मरण गर्दै अहिले पनि त्यस्तै अवस्था आउन थालेको टिप्पणी गरे।

‘एकातिर सविधान दिवसको दिपावली छ अर्कोतिर संविधान जलाएको देखिन्छ,कतै हर्ष उल्लास छ भने कतै आक्रोस छ। यो कस्तो अवस्था हो?’ सरकारलाई प्रश्न गर्दै उनले भने। 'विकास र समृद्धिको बहस चलाउने सरकार भष्ट्रचार र अनियमितता बारे मौन रहेको छ, सरकारी तहबाट भष्ट्रचार मौलाएको छ यो कस्तो सुशासन हो'? उनको तर्क थियोे।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश ५ का सांसद भोजप्रसाद श्रेष्ठले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनले विप्लव नेकपासँग सरकारले राजनीतिक व्यवहार गर्न समेत सरकारलाई अनुरोध गरे। ‘गणतन्त्र आइसकेको छ,विप्लव जीका असहमति हरु के के हुन? छलफल गर्न सरकार गम्भीर हुनुपर्छ' उनले भने।

नेकपा क्रान्तिकारी माओवादीका विपिएम तथा प्रदेश ५ का ईन्चार्ज प्रेम सुवेदीले सरकारले न्युनतम कम्युनिस्ट आचारण भुलेको भन्दै सरकारको रबैयाले पञ्चायतकालको झल्को दिएको टिप्पणी गरे।

'एउटा कम्युनिस्ट पार्टीलाई राजनीतिक प्रतिबन्ध लगाइएको छ। उनले प्रश्न गर्दै भने, 'गरिबी,भोकमरी बढेको छ,महँगीको मारमा जनता छन् ,अनावश्यक कर थोपारिएको छ। राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा छ,यो कस्तो गणतन्त्र'?

जनअधिकार अभियान नेपालका अध्यक्ष तथा बरिस्ठ अधिवक्ता एकराज भण्डारीले मानवअधिकार विधेयकले सरकारले निरङकुसताको अभ्यास गरेको भन्दै यसको विषयमा सचेत रहन आग्रह गरे।

अन्तरक्रियामा वरिष्ठ अधिवक्ता दिल साहानी,जनअधिकार अभियान नेपालका उपाध्यक्ष देव बहादुर पौडेल,नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रमेश बिष्ट,मानवअधिकार तथा शान्ति समाजका बरिस्ठ उपाध्यक्ष गोविन्द खनाल,नेपाल पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जिसी,बरिस्ठ पत्रकार बालकृष्ण चापागाईं,बाम लेखक बिन बहादुर कुवर,नागरिक समाजका प्रतिनिधि पदम कार्की लगायत पत्रकारहरु,कानुन व्यवसायी,नागरिक समाजका अगुवा,प्रध्यापकहरु लगायतको उपस्थिति थियो।

संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन महासचिव हिम बिष्टले गरेका थिए। पछिल्लो समय मानवअधिकार र प्रेस स्वतन्त्रता कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै संगठनले देशभर अभियान चलाएको थियो। संगठनले यस अघि मेचीदेखि महाकाली सम्म ३८ जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरेको थियोे।

प्रकाशित: ४ आश्विन २०७६ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App