१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘समाजलाई पछाडि धकेल्ने प्रयत्न अस्वीकार्य’–मुख्यमन्त्री पोखरेल

बुटवल– मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताएका छन्। उनले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताए।

संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन नसक्ने भएकाले राज्य बलियो बनाउने अभियानमा सामेल हुन सबैमा आग्रह गरे। 

उनले संविधानमा सबैका आकाङ्क्षालाई समेट्न नसकिए पनि मौलिक दृष्टिकोण र जनअधिकार सम्पन्नताका हिसाबले संविधानसभाबाट निर्माण भएको नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताए। 

सङ्घीयताकै कारण नेपाली जनता अधिकार सम्पन्न भएको तर समाजमा परिवर्तन नचाहनेले सङ्घीयता विषयमा गलत भ्रम सिर्जना गरेर जनतालाई निरास बनाउन खोजिरहेको बताउँदै उनले भने,‘नेपाली समाजलाई पछाडि धकेल्ने प्रयत्न स्वीकार्य छैन।’ 

संविधान दिवसका अवसरमा यसअघि बुटवलको राजमार्ग चौराहाबाट विभिन्न वेषभूषासहितका विभिन्न जातजाति समुदायका परम्परा संस्कृति झल्किने झाँकी र बाजागाजा सहितको र्याली बुटवल मण्डपमा पुगेर मूल समारोहमा परिणत भएको थियो।

झाँँकीमा सहभागिता रहेकामध्ये १० वटा समूहलाई पुरस्कृत भएका छन्। झाँकी समूहमध्ये रुपन्देहीको तिलोत्तमा नेवाः समूह बुटवल–३ प्रथम भई ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। 

यस्तै कालिका मानव ज्ञान माध्यमिक विद्यालय बुटवल र पद्यम चैत्य विहार बुटवल–१ द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। नेवा समाज प्रदेश ५ बुटवल, सैनामैना नगरपालिका रुपन्देहीको सांस्कृतिक समूह र जितगढी सरायँ नाच व्यवस्थापन समितिले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्।

त्यसैगरी थारु सांस्कृतिक मयुँर नाच मोतिपुर, खेमा तमु ह्युल छोज धी देवदह रुपन्देही, क्षेत्री समाज नेपाल रुपन्देही र राधेश्याम महिला भजन मण्डली बुटवलले सान्त्वना स्थान हासिल गरेका छन्। विजयी झाँकी समूहलाई प्रदेश प्रमुख उमाकान्त झा र मुख्यमन्त्री पोखरेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। रासस

प्रकाशित: ३ आश्विन २०७६ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App