१६ चैत्र २०८० शुक्रबार
राजनीति

चिनियाँ विदेशमन्त्रीसँग देउवाले स्मरण गरे जियाङ जमिनको त्यो भ्रमण...

काठमाडौं– तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरे। वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र परराष्ट्र सल्लाहकार दिनेश भट्टराईसहित नक्सालस्थित होटल मेरिना पुगेका सभापति देउवाले चिनियाँ विदेशमन्त्री वाङसँग हात मिलाए। हालखबर तथा सञ्चो विसञ्चो अदानप्रदान भयो। विदेशमन्त्री छेउतिर चिनियाँ राजदूत होउ यान्छी पनि उपस्थित थिइन्। उनसँग पनि देउवाले साक्षात्कार गरे। 

त्यसपछि कांग्रेस र चिनियाँ प्रतिनिधिमण्डलबीच एजेण्डामा छलफल सुरु भयो। एजेण्डामा चिनियाँ विदेशमन्त्री वाङ प्रवेश गरे। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको उपयुक्त समयमा राजकीय भ्रमण हुने जानकारी गराए। उपयुक्त समयमा राष्ट्रपति सीको भ्रमण हुने भन्दै भ्रमणमा सहयोग गर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे। 

भेटमा सहभागी उपसभापति विमलेन्द्र निधिका अनुसार विदेशमन्त्री वाङले चीनले सीको भ्रमणका लागि विचार गरिरहेको र भ्रमण सफल पार्न कांग्रेसको सहयोग महत्वपूर्ण हुने बताएका थिए। 

जवाफमा सभापति देउवाले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताउँदै पूर्ण सहयोग गर्ने बचन दिए। देउवाले चीनसँगको सम्बन्धलाई कांग्रेसले महत्वका साथ लिएको भन्दै दुई देशको सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता जनाए।

देउवाले स्मरण गरे जियाङ जमिनको भ्रमण 

भेटमा देउवाले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिन नेपाल भ्रमण आएको स्मरण गरे। सन् १९९६ मा जमिन नेपाल भ्रमणमा आएका थिए। उनसँग प्रधानमन्त्री देउवा र राजा वीरेन्द्र शाहले भेटवार्ता गरेका थिए। चिनियाँ विदेशमन्त्रीसँग देउवाले उक्त क्षण सम्झिँदै आफूहरु चीनबाट उच्चस्तरीय भ्रमणको प्रतिक्षामा रहेको बताए। जमिनकाे पालामा राजा वीरेन्द्र र ज्ञानेन्द्रले चीनकाे राजकीय भ्रमण गरेका थिए।

भेटमा विदेशमन्त्री वाङले विपि कोइरालाको पालादेखि नै नेपाली कांग्रेसले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको बताउँदै सत्तामा रहे पनि नरहे पनि कांग्रेसले सधै चीनबारे लिएको अडान प्रशंसनीय रहेको बताए। चीनसँग कांग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाले नै मैत्री सन्धि गरेका थिए। 

उपसभापति निधिका अनुसार नेपाली कांग्रेस र चीनबीचको सम्बन्ध मजबुत बनाउने विषयमा समेत भेटमा कुराकानी भएको थियो।

चिनियाँ विदेशमन्त्री वाङले सभापति देउवालाई चीन भ्रमणको निम्तो समेत दिएकाे निधिले बताए। जवाफमा देउवाले उपयुक्त समयमा आफूले चीन भ्रमण गर्ने बताएकाे निधिले जानकारी दिए। 

भेटपछि देउवाले ट्वीटरमार्फत खुसी व्यक्त गरेका छन्। उनले नेपाल चीन सम्बन्धका लागि कांग्रेसले साथसहयाेग गर्ने उल्लेख गरेका छन्। 

यता चिनियाँ विदेशमन्त्रीले देउवा अगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए। तर, प्रचण्डको भन्दा देउवाको भेट व्यवस्थित देखिन्थ्यो। देउवाका पार्टीका पदाधिकारीसहित विदेशमन्त्रीलाई भेट्न गएका थिए। तर, पार्टीको प्रतिनिधित्व गर्दै भेट्न पुगेका प्रचण्डले भने पदाधिकारी लगेको देखिएन्। यसअर्थमा देउवाको भेट व्यवस्थित थियो। 

चिनियाँ विदेशमन्त्री भ्रमण पुरा गरी मंगलबारै स्वदेश फर्किएका छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App