२७ श्रावण २०७७ मंगलबार
राजनीति

सरकारविरुद्ध गाउँगाउँबाट आन्दोलन चर्काउने कांग्रेसको चेतावनी

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ। नेपाली काँग्रेसले बुधबार पार्टी केन्द्रिय कार्य समितिले गरेको १७ बूँदे निर्णय सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो।

पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले दुई तिहाईको बलमा लोकतान्त्रिक तथा  संवैधानिक व्यवस्था र जनसरोकारको विषयमा गम्भिर गल्ती गरेको दावी गर्दै तत्काल नसच्चिए सदन र सडक दुवैतर्फबाट आन्दोलनमा जान बाध्य हुने निर्णय लिइएको स्पष्ट पारे। 

काँग्रेसले सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन आगामी भाद्र २४ गतेदेखि १५ दिने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान पनि संचालन गर्ने निर्णय गरेको छ। दोस्रो चरणको राष्ट्रिय जागरण अभियान गाउँगाउँमा सञ्चालन गरेर सरकारविरुद्धको पार्टीको आन्दोलनलाई सशक्त बनाउने कार्यक्रम रहेको पनि सहमहामन्त्री डा. महतले बताए।

नेपाली काँग्रेसले संविधानको मर्म र भावना विपरित एउटै दलको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल हटाउन पनि सरकारसँग माग गरेको छ। त्यसैगरी लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनियतासँग जोडिएको मन्त्री परिषद बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट गरेको दावी गर्दै त्यसप्रति पनि आपत्ति जनाउँदै त्यस्ता अबाञ्छित कार्य आगामी नदिन नदोहो¥याउन पनि सरकारलाई सचेत गराइएको सहमहामन्त्री महतले बताए।

नेपाली काँग्रेसले वर्तमान सरकारको कार्यकालमा भएका वाईडबडी विमान काण्ड, चिनी काण्ड, सुन काण्ड, मेलम्ची काण्ड, एनसेल कर काण्डको छानवीन कार्यलाई उच्च प्राथमिकतामा दिई दोषी उपर कडा कार्वाही हुने गरी छानवीन गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायको गम्भिर ध्यानाकर्षण पनि गराएको छ। सहमहामन्त्री महतले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम कानुन सम्मत ढंगले अघि बढाउन नसकेकोमा पनि आपत्ति जनाए।

प्रकाशित: १८ भाद्र २०७६ १८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App