१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्तारुढ सांसद्कै आरोप : 'सरकार भ्रष्टाचारमा चुर्लुम्मै'

विराटनगर- संघीय तथा प्रदेश सरकारहरुले 'भ्रष्टाचारमा शुन्य सहनशीलता' अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्। 

नेकपा सांसद उपेन्द्रप्रसाद घिमिरेले मंगलबारको प्रदेशसभा बैठकमा नेकपा नेतृत्वकै पालामा भ्रष्टाचार तल्लो तहसम्म पुगेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। नेकपाको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै यसबारे सरकारको धारणा पनि मागेका छन्। 

'प्रदेशका मन्त्रीका पिएहरुले कमिसन लिएर कर्मचारीको सरुवाबढुवा गरेको कुरा सञ्चारमाध्यममा आइरहेका छन्, सामाजिक सञ्जालमा आइरहेका छन्', बैठकको शुन्य समयमा बोल्दै सांसद घिमिरेले भने 'के यस्तै कामका लागि जनताले हामीलाई चुनेर पठाएका हुन्?' यसबारे मन्त्रीहरुले सदनमा जानकारी गराउन उनले माग गरे।  'मन्त्रीका पिएहरु भ्रष्टाचारमा मुछिएको कुरा बाहिर आइरहेका बेला सदनलाई यसबारे सत्यतथ्य जानकारी दिनुपर्छ', उनले भने 'अहिले तल्लो तहसम्म भ्रष्टाचार व्याप्त छ, मलाई सांसद्को लोगो लगाएर हिँड्न पनि लज्जाबोध भइरहेको छ। नेकपालाई जनताले गरेको विश्वासको परिणाम यही हो?' कुन मन्त्रीका कुन पिएले यस्तो काम गरेका हुन् भन्ने चाहिँ उनले खुलाएनन्। 

सांसद घिमिरेले सदनमा सानंसदले राखेका विषयलाई प्रदेश सरकारले वेवास्ता गर्दै आएको भन्दै आपत्ति पनि प्रकट गरेका छन्। 'प्रदेश सरकारले गर्छु भनेको काम पनि गरेको छैन, काम गर्न भनेर हामी दिनहुँ सदनमा भन्छौं तर सरकार सुन्दैन', उनले भने 'सांसदले बोलेको कुरा सरकारले ख्यालख्याल ठानेको हो?' सांसद कराइरहने तर सरकार मौन बसिरहने अवस्था अन्त्य गर्न उनले माग गरे। 

मंगलबारको संसद् बैठकले प्रदेश लोकसेवा विधेयक बहुमतले पारित गरेको छ। संघीय समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसदहरुले भने आयोग पाँच सदस्यीय बनाउनु पर्ने संशोधन हालेका थिए। उनीहरुको माग सम्बोधन नभएको भन्दै दुवै दलका सांसदले तीन सदस्सीय आयोग बनाउने बुँदामा असहमति व्यक्त गरेका छन्। 

प्रकाशित: १० भाद्र २०७६ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App