१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘वाह ! कर्णाली भन्ने दिन आउन लाग्याे’

कर्णाली प्रदेशसभामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई स्वागत गर्दै सभामुख राजबहादुर शाहीलगायत। नगेन्द्र/नागरिक

सुर्खेत- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्णालीको समृद्धि र विकासका लागि चार ‘ज’लाई प्रयोगमा ल्याइनुपर्ने बताएका छन्। उनले जल, जंगल, जमिन र जडिबुटी देशको आत्मनिर्भर अर्थतन्त्रको आधार रहेको बताउँदै यसको प्रयोगमा ध्यान दिन आग्रह गरे।

‘कर्णालीमा स्याउ, च्याउ र झ्याउसँगै कर्णालीको एउटै नदीले १५ हजार मेगावाट विद्युत उत्पादन दिन्छ’ सोमबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने, ‘कर्णाली सिंगो देशको आत्मनिर्भर अर्थतन्त्रको आधार हो।’ उनले संघीय संरचना अनुसार तीन तहका सरकार क्रियाशिल रहेको बताउँदै नजिकका स्थानीय र प्रदेश सरकार मिलेर कर्णालीका संभावनाहरुलाई खोतल्न आवश्यक रहेको बताए।

अध्यक्ष तिमिल्सेनाले यार्सा, पाँचऔलेलगायतका बहुमूल्य जडिबुटीको चर्चा नगर्दासम्म कर्णालीको सन्दर्भ अधुरै रहने बताउँदै यिनको संरक्षण र व्यवसायिक प्रवद्र्धनमा केन्द्रीत हुन प्रदेश सरकारसँग आग्रह गरे। उनले यार्सा जन्माउने पाटनको पर्यावरणीय प्रभावप्रति सचेत हुँदै अत्याधिक दोहन नरोके यो आफैमा किंवदन्ती हुने बताए।

‘जलवायू परिवर्तनका नकारात्मक प्रभावहरुको न्यूनिकरण गर्दै पाटन क्षेत्रको पर्यावरणीय प्रभावप्रति अहिलेदेखिनै सचेत हुन आवश्यक छ’ उनले भने, ‘अहिलेदेखिनै यसतर्फ ध्यान नपु-याए कर्णालीको पहिचान समाप्त नहरन सक्छ।’

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनाले कर्णालीमा भइराखेको शिक्षा, स्वास्थ्य, सञ्चार र सडक सञ्जालको विस्तारले ‘वाह ! कर्णाली’ भन्ने दिन आउन लागेको बताए। ‘कर्णालीमा फेरि एक पटक भोटसँगको कनेक्टिभिटी सुरु हुँदैछ, सुर्खेत–हिल्सा, नाग्म–गमगढी–नाक्चेलाग्ना सडक यसका आधारस्तम्भ हुन्’ राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनाले भने, ‘यसले कर्णाली मात्रै होइन्, समग्र देशको समृद्धिमा टेवा पु-याउँछ।’

उनले भौगोलिक विकटताका कारण कर्णालीमा विकासका पूर्वाधार निर्माण चुनौतिपूर्ण रहेको बताउँदै असारको अन्तिममा विकास खर्च गर्ने परम्पराको अन्त्य गर्नुपर्नेमा जोड दिए। ‘विकासको काम भदौबाटै सुरु गरौं, पुँजीगत खर्च कति भयो भन्दा पनि उपलब्धी के–कति भयो भन्नेतर्फ लेखाजोखा गरौं’ उनले भने, ‘सार्वजनिक कोषबाट हुने कुनैपनि निर्माणको गुणस्तरबारे पब्लिक अडिटको परिपाटी बसालौं।’

अध्यक्ष शाहीले कर्णालीमा जातीय तथा वर्गीय विभेद व्याप्त रहेको बताउँदै यसको अन्त्यका लागि ठोस् कदम चाल्ने बेला आएको बताए। ‘दलितका नाममा, बोक्सी, धामी–झाँक्री, छाउपडीलगायतका सामाजिक कुसंस्कार यहाँ ब्याप्त छ’ उनले भने, ‘यसको अन्त्य गर्दै आम नागरिकमा गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवाको पहुँच स्थापनामा सरकारले प्रभावकारी कदम चाल्नुपर्छ।’

उनले नेपालका लागि संघीय प्रर्णाली धेरै हदसम्म नौलो र मौलिक भएकाले यसको स्थायित्वका लागि सबै लाग्नुपर्ने बताए। उनले योजना निर्माणदेखि कार्यान्वयनसम्म जनताको पहुँच स्थापित गर्नुनै संघीयताको मूल मर्म भएकाले तीनवटै तहले सोही अनुसार कार्यहरु अघि बढाउनुपर्ने बताए। उनले संविधानले तीन तहका सरकार र अन्य राजकीय संरचनाहरुबीच सहयोग, समन्वय र सहकार्यको अपेक्षा गरेको उल्लेख गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनाले भने, ‘संविधानको यो सुरुवाती चरण हामीले गर्ने प्रत्येक अभ्यास र राजनीतिक संस्कारलेनै संघीयता र राजनीतिक प्रर्णालीको गरिमा निर्धारण गर्छ।’

प्रकाशित: २ भाद्र २०७६ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App