१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मंसिरभित्र कांग्रेस अन्तरिम संरचना

काठमाडौं – नेपाली कांग्रेसले मंसिर मसान्ताभित्र पार्टीको अन्तरिम संरचना गठन गर्ने निर्णय गरेको छ।  केन्द्रीय समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो।

अन्तरिम संरचना कुन विधि र प्रक्रियाबाट गठन गर्ने भन्नेमा नेताहरुबीच सहमति भने जुट्न सकेको छैन।  यसका लागि २२ गते बस्ने केन्द्रीय समिति बैठकमा निर्देशिका बनाएर पेस गर्ने सहमति भएको छ।  अन्तरिम संगठन निर्माण विधि र प्रक्रियासहितको निर्देशिका बनाएर अघि बढ्ने सहमति भएको जानकारी केन्द्रीय सदस्य रामकृष्ण यादवले दिए।

पार्टी नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पेस नगरी केन्द्रीय समिति बैठक अघि बढ्न नसक्ने अडान राखेपछि बुधबारको बैठकले उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कालाई अन्तरिम संरचना गठन र १४औं महाधिवेशनबारे प्रस्ताव ल्याउन जिम्मेवारी दिएको थियो।  तर, शुक्रबारको बैठकले मंसिरभित्र अन्तरिम संरचना गठन गर्ने र त्यसपछि बस्ने केन्द्रीय समिति बैठकबाट १४औं महाधिवेशनको मिति र कार्यतालिका तोक्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसहितका अन्य दलसँग भएको एकीकरण र त्यसपछिका कार्यप्रगतिका विषयमा बैठकलाई जानकारी गराएका थिए।  त्यस्तै बैठकमा उपसभापति निधिले आफ्नो नेतृत्वको नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति पेस गरेका छन्। 

महामन्त्री खड्काले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान र केन्द्रीय सदस्य बालकृष्ण खाँणले संसद्को गतिविधिका विषयमा बैठकलाई जानकारी गराएका छन्।  बैठक साउन २२ गते फेरि बस्नेछ।

प्रकाशित: १८ श्रावण २०७६ ०१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App