२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सूचना टाँस गरी स्थगित भयाे प्रतिनिधिसभा बैठक

फाइल तस्बिर ।

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ।

संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँस गरेर  स्थगित गरिएको हो।

संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो। सर्वदलीय छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालयले सूचना टाँसेर ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्न नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाएको छ।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेता मीनेन्द्र रिजाल, राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो।

नेत्रविक्रम चन्द्र विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन्।

पौडेलले लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै आएको हो। त्यसै गरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अवैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमीतकुमार रायको मृत्यु भएपछि भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो।

बाढी पहिरोसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नका लागि साउन ८ गतेको बैठक भने सुचारु गरिएको थियो।

प्रकाशित: १६ श्रावण २०७६ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App