१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

म जनयुद्धमा हाम फाल्दैछु भन्ने कुरा कर्मचार्यलाई थाहा थियोः दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा एकता(केन्द्र)मा एकै ठाउँमा भएको बेला आफूले नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको घरमै बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको छौटौं स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

‘मैले नरबहादुर कर्मचार्यकै घरमा बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको हुँ’, उनले भने ‘म युद्धमा हाम फाल्दैछु भन्नेकुरा उनलाई थाहा थियो।’ कर्मचार्य पार्टी, आन्दोलन, राष्ट्र र वर्गप्रति समर्पित र निरन्तर आन्दोलनमा लाग्ने व्यक्तित्व भएको उनको भनाई थियो। उनले कर्मचार्य कम्युनिस्ट आन्दोलन र पार्टी एकताको पक्षमा रहेको र त्यसैलाई निरन्तरता दिन आफूहरु एकताको प्रक्रियामा अगाडि बढेको दाबी गरे।


सामाजिक न्यायसहितको समृद्धि आफूहरुले चाहेको समृद्धि भएको बताएका छन्। उनले भने ‘सामाजिक न्याय बिना केही मान्छेहरु मात्र धनी हुने र बहुसंख्यक मान्छे गरीब हुने ‘सिस्टम’ले मानव जातिको कल्याण गर्नै सक्दैन। सबैले उपभोग गर्ने समृद्धिको मोडेल नेपालबाट दिन सक्नुपर्दछ।’

दाहालले साउन महिनाभित्र नै पार्टीको सचिवालय र स्थायी कमिटी बैठक बसेर देशैभर अभियान सञ्चालन गर्ने घोषणा गरे। सरकारका कामलाई प्रभावकारी पार्दै पार्टीलाई आम नागरिकका समस्या समाधानमा केन्द्रित गर्ने उद्देश्यले देशैभर अभियान सञ्चालन गर्ने दाहालको भनाई थियाे। उनले भने, ‘त्यसका लागि साउन महिनाभित्रै पार्टीको सचिवालय र स्थायी समिति बैठक बस्छ।’

पार्टी एकतालाई अन्तिम रुप दिने र सरकारलाई प्रभावकारी पार्नेगरी अहिले पार्टीमा छलफल चलिरहेको उनको भनाई थियो।

प्रकाशित: ९ श्रावण २०७६ १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App