१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छः अर्थमन्त्री

फाइल तस्बिर

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा छैन।’ अर्थमन्त्री डा. खतिवडाले बजेट विनियोजनमा तराई–मधेसलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र एक अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको बताए।

उनले दक्षिण एसियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिए । उनले भने, ‘दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ।’ अर्थमन्त्री डा खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रूत विकासमा खर्च गरिने बताए। अर्थमन्त्री डा. खतिवडाको जवाफमाथि सांसद डिला सङ्ग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाए। 

सांसद प्रेम सुवालले ‘वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो’ भन्ने प्रश्न गरे। अर्थमन्त्री डा. खतिवडाले आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने हो, जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य भएको बताए। उनले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा क्षेत्रमा बजेटको बढी चाप रहेको बताउँदै विप्रेषणको रकम उपयोग भइराखेको जानकारी दिए। रासस

प्रकाशित: ८ असार २०७६ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App